न्यूजिल्यान्डका डेविड एलर्डाइस नेपालमा र्याफ्टिङ गाइड थिए। त्यतिखेर भोटेकोशी र्याफ्टिङका लागि 'मोस्ट डेन्जरस' मानिन्थ्यो। तर, साहसिक खेलहरुमा रुची राख्ने उनी खोलाको माथिल्लो भेगदेखि नै र्याफ्टिङ र कायाकिङ गर्थे। कायाकिङकै क्रममा उनले मार्मिङस्थित गुफाजस्तो त्यो खोंच देखेका हुन्। खोलाबाट हेर्दाको दृश्य- दुई किनारबाट एकअर्कालाई छुन खोजेझै लाग्ने चट्टानहरु। ठाउँ ठाउँका ढुङ्गाबाट रसाएको मुल, झरना बनेर बग्दो। हेर्दै एड्भेन्चर स्पोट।
डर लाग्दो देखिने त्यो प्रयोगविहीन भिर डेविडका लागि भने सम्भावनाको ठाउँ बन्यो। अनि साहसिक खेल बन्जीको अवधारणा बनाए। उनको योजनामा साथ दिने भए विष्णु न्यौपानेले।
बस्ती पातलो थियो, दुई चार घर मात्र। जमिन खेती योग्य नहुनुले पाखो बारी पनि बाँझै रहन्थे। स्थानीयहरुसँग खाली राखिएको जग्गा खरिद गरे र सुरु भयो पुल निर्माण कार्य। निजी व्यवसायका लागि झोलुङ्गे पुल निर्माण हुने भयो। खोलाले छुट्याएको दुई गाँउका बासिन्दालाई जति रौनक कसैलाई आएन। स्थानीय नै काममा खटिए।
वारी लिस्टी पारी मार्मिङ। हाल भोटेकोशी गाउँपालिकाका यी दुई गाउँ यसरी जोडिएको धेरै भएको छैन। सन् १९९९ मा झोलुङ्गे पुल बनेपछि खोला वारिपारीको बस्तीमा सहज आवत् जावत् सुरु भएको हो। यी गाउँ जोडिनु र नेपालमा बन्जीको जन्म सँगसँगै भयो।
स्विट्जरल्याण्डका डिजाइनरले पुल डिजाइन गरे। नक्सा पास गर्नु पर्ने नियम थिएन। त्यसैले कागजमा नक्सा नकोरी पुल बन्यो। पुलको लागत करिव पाँच करोड भएको बताउँछन् द लास्ट रिसोर्टका जेनेरल म्यानेजर भुवन शर्मा।
दुई वर्षपछि निर्माण कार्य पूरा भयो। लगत्तै बन्जी थालिएको हो। पुलमा बन्जी मात्र सुरु भएन लिस्टीका मानिसलाई सडक जोडिएको मार्मिङ आएर बाह्रबिसे, पाँचखाल, धुलिखेल, काठमाडौं आउन सहज भयो। तातोपानी खास्सा जान सहज भयो। नत्र सडकसम्म पुग्न घण्टौ हिड्नु पर्थ्यो, दैनिक उपभोग्य सरसामान र खाद्यान्न ओसार पसारका लागि पनि कठिन।
कम्पनीले सर्वसाधरणलाई पुल प्रयोगका लागि समय तोकिदिएको थियो। त्यस बाहेक अन्य समय बन्जीको तयारी र बन्जी हुन्थ्यो।
वरपरको अन्य डाँडाजस्तै देखिने त्यो खोंच कसैको आँखामा परेको थिएन। खोंचको बनोटले डेविड एलर्डाइसलाई आकर्षित गर्यो। डेविडको योजनाले आम मानिसलाई। पुलमा बन्जी भइरहँदा गाडी रोकी रोकी हेर्ने मानिसहरुको भिड लाग्यो। पुल प्रयोग गर्नेहरु बढे। पर्यटकका लागि पनि गज्जवको ठाउँ बन्यो द लास्ट रिसोर्ट। विशेषत: र्याफ्टिङ गर्नेहरुका लागि। बन्जी गर्नेहरु पनि बढ्दै थिए।
'क्लाइन्टहरु आउँथे। केही फर्कन्थे केही भने पुल पारी आएर कम्पनीको खाली जग्गामा टेन्ट गाढेर बस्थे,' रिसोर्ट स्थापनाको कथा सुनाउँछन् शर्मा, 'मान्छेहरु यसरी बस्न रुचाउने रहेछन् भन्ने थाहा भयो। त्यसपछि रिसोर्टको योजना बनेको हो।'
कम्पनीले २१ रोपनी जग्गा किनेको थियो, स्थानीय लखन प्रधान लगायतसँग। जग्गामा मात्र कुल लगानी पन्ध्र लाख। बाँझो अनि उराठलाग्दो देखिने पाखोभरी रुख, बोट, बिरुवा लगाइयो। स्थानीयले त्यसै छोडेको त्यो ठाउँ बिस्तारै हराभरा देखनि थाल्यो।
बन्जी बाहेक खाली जग्गाको पनि सही उपयोग हुने भयो। सन् २००१ मा तीन चारवटा टेन्ट राखेर ओभर नाइट प्याकेजको सुरुवात कम्पनीले नै गर्यो। त्यसअघि बिहान आएर बेलुका जाने प्याकेज मात्र थियो। काठमाडौंबाट पुग्ने, जम्प गराउने, लामासाङुमा खाना खुवाउने र फर्कने।
चारवटा सफारी टेन्ट राखेर सुरु गर्नुले कम्पनी र कम्पनीसँग जोडिएका सम्पूर्णमा उर्जा थपिदियो। सिन्धुपाल्चोकमा रिसोर्ट, काठमाडौंमा सेल्स अफिस। ‘भोलिपल्ट आउने ग्राहक बारे जानकारी लिन ५ बजे छुट्ने गाडी चढेर धुलिखेल धाउनु पर्थ्यो। सेल्स अफिसबाट फोनमार्फत् कतिजना भेज कति ननभेज जानकारी दिइन्थ्यो,’ भुवन सुनाउँछन्, ’अहिलेजस्तो सहज कहाँ थियो र?’
सन् २००६ पछि ग्राहक थपिदै गए। टेन्ट थपिदै गए। रुखहरु हुर्किए। जङ्गलको बीचमा अस्थायी बस्तीजस्तो देखिन थाल्यो रिसोर्ट, जसलाई कंक्रिटको संरचना दिने सुझावहरु पनि आए। ती सुझाव कम्पनीले स्वीकारेन।
‘किनकि हामी हाम्रो गेस्टलाई लग्जरीभन्दा बढी एक्पेरियन्स दिन चाहन्थ्यौं। चाहन्छौं। जुन एक्सपेरियन्स सधैं बस्दै आएको घर वा सेवा सुविधामा पाइन्न,’ उनले भने।
हुन पनि २००१ मा रिसोर्ट सुरु गरेदेखिको २००८ सम्ममा त्यहाँ बत्ती थिएन। सबैतिर लालटिनको प्रयोग हुन्थ्यो। सेवाग्राही पनि त्यसैमा रमाउँथे। अभावमा पनि रमाउन सक्नु बन्जी, र्याफ्टिङ जस्तै अर्को एड्भेन्चर बन्यो।
वार्षिक जम्पका लागि मात्र आठदेखि दश हजार मानिस आउन थाले। सिन्धुपाल्चोकको त्यो सुनसान खोंचमा चहलपहल सुरु भयो। अनि वरपरका गाउँबाट बसाइसराइ गर्नेहरु बढे। पसल, साना होटलहरु खुले। लास्ट रिसोर्ट क्षेत्र बाहिर लखन प्रधानको मात्र घर थियो। हाल उनीसँगै जग्गा किनेर घर बनाउनेहरु धेरै छन्। पाङलाङ गाउँ बाक्लो देखिन्छ, करिव तीसवटा घर बनेका छन्। रोचक त के छ भने बस्तीका प्राय घरका सदस्य रिसोर्टमा कार्यरत् छन्। लखन प्रधानका छोरा पनि रिसोर्टका हेड कुक हुन्।
कम्पनीले थप १७ रोपनी जग्गा लिजमा लियो। जुन क्षेत्रफल साउना, मसाज सेवा, हाइ रोप्स, ज्याकब्स ल्याडर लगायत खेल तथा थप टेन्ट राख्नका लागि प्रयोग भयो। देश विदेशका ग्राहक बढ्नुले सेवा सुविधा थप गराउन उक्साएको थियो।
‘तर कुनैपनि ब्रेकपछि स्पिड उस्तै नरहँदो रहेछ,’ भुवन सुनाउँछन्, ’भूकम्पपछि सबै कुरा उस्तै रहेन।‘
सन् २०१५ मा झण्डै एक वर्ष बन्द रह्यो द लास्ट रिसोर्ट। कारण पूरा क्षेत्रसहित संरचनाहरुमा परेको असर। रिसोर्टको अवस्था पनि दयनीय बन्यो। रिसेप्सन, कार्यालय, भान्सा, बार लगायतमा गरिएको कंक्रिट भत्कियो। त्यहाँ बस्नु पनि भयावह लाग्थ्यो। छिनछिनको परकम्प अनि रातभर खस्ने पहिरोको आवाजले निदाउन गाह्रो। काठमाडौंबाट पुनर्निमाणका लागि कोही पुग्न बाटोको अवस्था ठीक थिएन। भुवन सम्झन्छन्, ‘कहिले काहीँ हामी बाह्रबिसेम्म पुग्थ्यौं। त्यहाँबाट करिव ६ घण्टा हिडेर रिसोर्ट पुग्थ्यौं। बाटोमा पहिरो छल्दै।‘
त्यो अवस्थामा पनि कर्मचारीहरुले रिसोर्ट छाडेनन्। कम्पनीले उनीहरुको मासिक तलव रोकेन। केही महिनापछि केहीले सामान ओसारे, केहीले मसला घोले, केहीले गाह्रो उठाए। आफूआफू मिलेर रिसोर्टलाई पुन: उठाए। पुनर्निमाणपछि युकेको एक युनिभर्सिटीका विद्यार्थीहरु आएर भौगोलिक अवस्थाबारे अध्ययन गरे। उनीहरुले लिजमा लिएको जग्गाको भेग चुनौतीपूर्ण भएको जनाए। प्रयोग नगर्न सुझाव समेत दिए। त्यसयता उक्त भागका खेल, साउना लगायत सेवासहितको टेन्टहरु ठप्प छन्।
चराको आवाज सुन्दै उठ्ने र खोलाको आवाज सुन्दै निदाउने वातावरणको संरक्षणमा जोड दिएको छ टिमले। न धुँवा न धुलो। गाडीहरुको आवाज र बाक्लो बस्तीबाट हुने हल्लाबाट टाढा रहेको यो रिसोर्ट जङ्गलजस्तो लाग्छ। फोनको नेटवर्क कमजोर छ, इन्टरनेट सुविधा छैन। ‘अहिले मान्छेलाई चाहिएको नै यही त हो नि। यहाँ आउन्, आफ्नै लागि समय दिउन्, दिनभर बसेर पढुन् अनि तनावमुक्त भएर फर्किउन्।’
भूकम्पपछि एक वर्ष ठप्प रहेको रिसोर्ट बिउँतिदै छ। तर, भूकम्पका कारण विश्वमा नेपालको अवस्थाबारे प्रवाह भएको सन्देशले निकै असर गरेको बताउँछन् व्यवस्थापक। ‘देशकै प्रचार सकारात्मक भएन। त्यसमाथि रिसोर्ट आउने बाटो नै धराप। असर त निकै गर्यो,‘ उनले भने।
प्राकृतिक वातावरणको बसाई र एडभेन्चर स्पोर्टससहित पुन: प्रचार प्रसारमा छ कम्पनी। रिसोर्टलाई प्राकृतिक र सफारी टेन्टबाट आधुनिक र भवनहरुमा रुपान्तरण गर्नुले व्यवसायिक प्रतिस्पर्धामा पछाडि पर्ने रिस्क मोल्न चाहदैनन्। प्रकृतिप्रतिको प्रेम यही हो।
‘ग्राहक किन द लास्ट रिसोर्ट आउने? भन्ने प्रश्न हामीले आफैलाई धेरै सोध्यौं। आखिर प्राकृतिक वातावरण नै यहाँको विशेषता हो। यही बिस्थापित गरेर कसरी ग्राहक आकर्षित गर्नु,’ उनले भने।