PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

'हामी पनि नाच्नुपर्छ बीच बीचमा ...!'



स्वेच्छा राउत

'हामी पनि नाच्नुपर्छ बीच बीचमा ...!'

'दिदी बहिनीमात्र नाच्छन् जैले पनि तीजमा,

हामी पनि नाँच्नु पर्छ बीच बीचमा...'

टिकटकदेखि फेसबुक र ट्विटरसम्मै यो गीत नसुन्ने कमै होलान्। तीजको गीतमा पूरै पुरुषको स्वर धेरैका लागि अनौठो पनि भयो।

तीजका गीतहरुमा श्रीमान् श्रीमती, बाबु, छोरी वा दाजु भाइ दिदी बहिनीबीचको संवादका रुपमा पुरुषहरु नअटाएका होइनन्। तर, दुर्गेशले त महिलाबिना नै तीज गीत उतारे।

'गाउँमा तीज विशेष कार्यक्रम हुन्थे। गीत बज्थ्यो। रमाइलो हुन्थ्यो तर, हामी नाँच्न पाउँथेनौं। किनकि, तीजमा महिलाले नाच्ने हो भन्ने बुझाइ थियो,' दुर्गेशले यो गीतको रचनागर्भलाई व्याख्या गरे, 'त्यही बुझाइ भत्काउने प्रयास यो गीतमार्फत् गरेको हुँ।'

बाग्लुङमा जन्मेका थापामा सानैदेखि नाच्ने गाउने सोख थियो। अरु कार्यक्रममा मादल बजाउँथे, गाउँथे, नाच्थे। तर, तीजमा त्यसो गर्न छुट थिएन। गरिहाले पनि कुरा काटिने डर। उनी आफैंलाई पनि लाज लाग्थ्यो।

'अब त तीजमा महिला दिदी बहिनी पो नाच्छन् त भनेर कसैले भने भने मेरै गीतको उदहारण दिन्छन् नि - हामी पनि नाच्नुपर्छ बीच बीचमा,' ठट्यौली पारामा हाँस्दै उनले सुनाए।

यो गीतका शब्दहरु उनले स्टुडियोमा बसेर आधा घण्टामा तयार पारेका हुन्। तीजका लागि मौलिक शब्द र आधुनिक संगीतको फ्युजन गर्ने पूर्व तयारी गरेका थिए उनले। त्यसैले आधुनिक धुनहरु रेकर्ड गराएर राखेका थिए। तर, शब्द बुनेका थिएनन्।

'अचानक बाल्यकालमा आफू साइडमा बसेर आमा दिदीहरु रातो साडी लगाएर नाचेको याद आयो। कहिलेकाहीँ बीच बीचमा छिरेर नाचेको पनि सम्झिएँ र बन्यो यो गीतको कन्सेप्ट,' दुर्गेशले सुनाए।

गीत लेख्दा आफ्नो अनुभव मिसाए। हेरेको, सुनेको कुरा शब्दमा उतारे।

तीजको बेलामा दिदी घर आएको सम्झिए। भिनाजुले पठाएको सामान दङ्ग पर्दै प्रयोग गरेको अनुभव नै गीतको लाइन बन्यो। उनकी बहिनी अनु थापा अहिले पनि जापानमा छिन्। उनलाई सम्झिएर लेखे :

'जापानबाट बहिनी आइ मागी मलाई वाटर,

नबुझेर दिएँ मैले काँचो कटर...'

त्यस्तै साइँला काकाले दिदीहरुलाई दर खुवाउन कुखुरा काटेकोदेखि दर पकाएर ख्वाएको सम्झिए। अनि सम्झिए, रातभर जागा बसेको घटनाहरु। यीनै सम्झानाका पोकाहरुलाई खोले उनले गीतका शब्दमा।

यथार्थलाई लयमा ढाल्न सक्नु नै उनको सांगीतिक विशेषता हो।

यसअघिका गीतहरु 'मुद्दा हाल्दिन्छु', 'रातो रातो खुर्सानी पिरो छ', 'दुर्गेश थापा हो' लगायत गीत पनि भिन्न र युवापुस्ताको रोजाइमा परेका थिए। युवापुस्ता रिझाउन सके गीत चल्छ भन्ने लाग्छ उनलाई। त्यसैले तीज गीतलाई टिकटकमा प्रयोग गर्न सकिने बनाउन सुरुमै मेहनत गरेको बताए। भने, 'दिदीबहिनीमात्र नाच्छन् जैले पनि तीजमा, हामी पनि नाँच्नु पर्छ बीच बीचमा - यो लाइन त मैले टिकटककै लागि बनाएको हो।'

बाल्यकालदेखिको गीत संगीत मोहले अहिले सन्तुष्टि दिएकोमा उनलाई एकप्रकारको सन्तुष्टि पनि छ। 

देशमा गीत हिट हुँदा दुर्गेश चाहिँ भारतमा

यतिखेर दुर्गेश भारतमा छन्, कार्यक्रमका लागि। साथी बनु बिसीका भिनाजुको दुवै मृर्गौला फेल भएपछि उपचारका लागि रकम संकलन गर्ने अभियान जोडिएको छ उनको भारत यात्रा। अहमदावाद, गान्धीधाम र राजकोटमा तीनवटा कार्यक्रम तय भएको छ। सहयोगका लागि खटिएका उनलाई गीत हिट भएको भने पत्तो समेत रहेनछ। भने, 'आफू यतै व्यस्त छु। गीतले पूरै सामाजिक सञ्जाल तताइसकेछ।'

भारतीय सैनिकदेखि चर्चित गायकसम्म

सन्दर्भ २०६२ सालको हो। देशमा हिंसात्मक जनयुद्ध पूर्ण रुपले साम्य भइसकेको थिएन। भारतीय सेनामै भविष्य देखे उनका बुबा आमाले। भारतीय सेनामा रहेका बुबा हेमबहादुर थापाले उनलाई पनि आर्मीमा भर्ती गरिदिए। वाराणसीमा थियो उनको पोस्टिङ। अभिनय र गीतको हुटहुटी बोकेर हिँडेका उनले माइकको सट्टा बन्दुक समाउनु मनखाने कुरा थिएन। त्यसैले एकदिन सदर बजारमा सामान लिन जाँदा उनी टोलीको बीचबाट निस्किए र भागे। अनि आए काठमाडौं।

काठमाडौंमा दाजु वसन्त थापा संगीत क्षेत्रमै संघर्ष गर्दै थिए। उनी पनि दाजुसँगै लागे। डान्स बारमा काम गरे। कोरस बनेर नाचे। करिब ६ वर्ष घर फर्केनन्। न त घरका मानिससँग नै सम्पर्कमा रहे। आर्मीबाट भागेरै गल्ती गरेँ भन्ने परेको रहेछ उनको मनमा।

'तर, जेमा रमाइन्छ त्यसमा जति पनि संघर्ष गर्न सकिँदो रहेछ। मलाई यो संगीत क्षेत्र त्यस्तै भयो,' उनले सुनाए।

पहिलोपटक वसन्त थापाको गीत 'हाम्ले माया गरेको जुनले मात्रै देख्छ' भन्ने गीतमा लिड मोडलको रुपमा ब्रेक पाएका थिए उनले। त्यसपछि म्युजिक भिडियोहरुको अफरै अफर। सकेसम्म कुनै पनि अफर नकारेनन्।

'एउटा विन्दुमा पुगेपछि आफैं केही गर्नुपर्छ भन्ने भयो। किनकि मोडलिङ जति नै रहर गाउनमा पनि थियो,' उनले सुनाए।

अनि, 'मुद्दा हाल्दिन्छु...' निकाले। गीत हिट। पहिलो गीत सफल हुनुले उनलाई हौस्यायो र एकपछि अर्को गीत हिट हुँदै गयो। त्यसो त उनी केही आलोचित नभएका होइनन्, तर सँगै तारिफ पनि पाइरहे। काम गर्दा आलोचना भएन भने त काम गर्नको जाँगर कसरी जोगाउने? उनले आलोचनालाई पचाए तारिफलाई सम्झेर। अनि बढ्यो उनको व्यस्तता स्टेज कार्यक्रममा। पहिले कुनै काम नछाड्ने थापा व्यस्तता बढेसँगै बिस्तारै 'चुजी' भए। अफरहरु सजिलै स्वीकारेनन्।

'आलोचना त जसको पनि हुन्छ। तर, म खुशी छु। आर्मीबाट भागेपछि रिसाएका आमाबुबा त खुशी हुनुन्छ। मेरो कामप्रति गर्व गर्नुहुन्छ। यस्तोमा मैले केही आलोचन स्वीकार्नु पर्छ,' दुर्गेशले भने।

यसपालाको तीजमा नेपाल फर्किएपछि यही गीतकै कारण स्टेज कार्यक्रममा भ्याइनभ्याइ हुनेमा ढुक्क छन् उनी। यसै वर्ष रामचन्द्र काफ्लेको तीज गीतमा मोडलको रुपमा प्रस्तुत पनि हुँदैछन्। उक्त गीत पनि 'प्लस पोइन्ट' हुनसक्ने उनको अनुमान छ।

विशेष गरी 'दर पार्टी'हरुमा उनको यो गीत घन्किनेमा आशावादी छन्। भन्छन्, 'तीज गीत भन्दैमा दु:खका वेदनाका शब्द चाहिँदैन नि। रमाइलो गीत निकालेको छु। यसपाली महिला दिदी बहिनी सबै खुशी भएर नाच्नुहुनेछ। साथै दाजुभाइलाई पनि नाच्नको लागि मेरो गीतले ढोका खोल्दिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell