PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

जर्मनी गएका तीन कलाकारको चटक! भागेर पोर्चुगल पुग्दासम्म अध्यक्षले चाल नपाउँदा तनावमा थिएटर



स्वेच्छा राउत

जर्मनी गएका तीन कलाकारको चटक! भागेर पोर्चुगल पुग्दासम्म अध्यक्षले चाल नपाउँदा तनावमा थिएटर

जुलाई ३ तारिख। पोखराको युथ क्रिएसन थिएटरका अध्यक्ष कपिल शर्माले फेसबुकमार्फत सामुहिक फोटो सार्वजनिक गरे। क्याप्सनमा लेखिएको थियो- 'युथ क्रिएसन थिएटर "घेरो" लिएर जर्मन हिन्यो।'

टोलीमा थिए १२ जना। उद्देश्य जर्मनीका विभिन्न शहरमा हुन लागेको लोक सांगीतिक महोत्सवमा नाटक मञ्चन। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नाटक मञ्चनबारे अरु कुनै खबर आउनुअघि नै एउटा हल्ला फैलियो, 'नाटक देखाउन गएका चार नेपाली कलाकार जर्मनीबाट टाप।'

नाटक 'घेरा' मञ्चन जुलाई ४ र ५ तारिखका लागि तय भएको थियो। अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्दै थियो युथ क्रिएसनको टिमले। नाटकले परम्परावादी सोच र रुढिवादी विरुद्धको कथा भजनमार्फत प्रस्तुत गर्छ।

नाटकको पहिलो दिनको मञ्चन सफल रह्यो। सफल यस मानेमा कि नेपालसँगै अन्य सहभागी मुलुकका समूहबाट वाहवाही पायो, प्रशंसा बटुल्यो। कलाकारहरुले स्याबासी पाए। दोस्रो दिनको लागि थप उर्जा मिल्यो। थिएटरका अध्यक्षदेखि कलाकार सबै खुशी थिए।

दोस्रो दिन, अर्थात् जुलाई ५। पहिलो दिन झैं सफल रह्यो, प्रस्तुतिको हिसाबले।

घेरो मञ्चन दुई दिनमात्र तोकिएको भएपनि जुलाई ११ तारिखसम्म विविध कार्यक्रममा सहभागिता जनाएको थियो नेपाली टोलीले। तेस्रो दिन सांस्कृतिक प्रस्तुतिका लागि अर्को शहरमा जाने तयारी चल्दै गर्दा टोलीका तीन सदस्य बिरामी परे। खानेकुरा र मौसम नमिलेकाले आफूहरुलाई गाह्रो भएको बताए। त्यसपछि तीनजनालाई आराम गर्न होटलमै छोडेर हिँड्यो टोली। आयोजकले उपलब्ध गराएको स्वयंसेवी पनि उनीहरुसँगै गए। बीचबीचमा होटलमा सम्पर्क भयो। कार्यक्रम हुनुअघिसम्म तीनजना कलाकारको स्वास्थ्यस्थिति केही ठीक भएको बताइएको थियो।

टोली कार्यक्रम सकेर सामान्य रुपमा होटल फर्कियो। तर, होटलमा फर्कँदा अवस्था सामान्य रहेन। होटलमा बसेकाहरु त्यहाँ थिएनन्। उनीहरुको लुगा र अन्य कागजात होटलमै थिए। त्यसैले कतै डुल्न निस्किएको र फर्कन आशा थियो सबैमा। तर उनीहरु फर्किएनन्। होटल छोड्नेहरुले आवश्यक पैसा र पासपोर्टमात्र बोकेर गएका थिए।

थिएटरका अध्यक्ष कपिल शर्माले तत्काल आयोजकलाई उक्त जानकारी दिए। आयोजकको नियन्त्रणमा केही थिएन। किनकि भागेका कलाकारहरु मधुसुदन पौडेल, अञ्जना पौडेल र शर्मिला बस्नेतले बोकेको पासपोर्टमा भिजा थियो। भिजाको म्याद नसक्किएसम्म उनीहरु जर्मनी डुल्न स्वतन्त्र थिए।

'हामीले सबैसँग सहमति गरेका थियौं, कोही पनि नलुक्ने। कार्यक्रम सकेर फर्कने', थिएटरका अध्यक्ष कपिल भन्छन्, 'तर, विश्वासका पात्रहरुबाट धोका भयो। संस्थाको बदनाम भयो।'

'घेरो' लिएरै सेप्टेम्बरमा क्यानडा जाने तयारीमा थियो थिएटर। जसका मुख्य कलाकार थिए मधुसुदन, अञ्जना र शर्मिला। भजन शैलीमा कथावाचन सो नाटकको विशेषता हो। जसका लागि लामो मिहेनत र अभ्यास आवश्यक छ। उनीहरुले मिहेनत गरेका पनि थिए, समय दिएका पनि हुन्। कपिलले सोचेका थिएनन् त्यसरी भाग्छन् भन्ने। भागेर आफू पोर्चुगल पुगेको खबर मधुसुदनले फेसबुक पोस्टको कमेन्टमा दिएका थिए। लेखेका थिए- ‘म अहिले पोर्चुगलमा छु। मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन। आफ्नै राजीखुशीले आएको हुँ।’

उनको दुई लाइनको स्पष्टीकरणले घटना कहाँ साम्य हुन्थ्यो र? दोषको भारी त नाटक लिएर जाने संस्था युथ क्रिएसन थिएटरले बोक्नु पर्‍यो। उसलाई आरोप लाग्यो मानव तस्करीको। पोखराकै केही अनलाइनहरुमा अध्यक्षले पैसा खाएर मान्छे भगाएको भन्दै समाचार लेखे। अझ गाह्रो त त्यतिबेला पर्‍यो जब नाटकका लेखक केदार पौडेलकी श्रीमतीको नाम नै भाग्नेको हुलमा मुछियो। उनी पनि फरार भएको भन्ने अपुष्ट खबर सार्वजनिक भएको थियो।

तर, सम्झना नेपाल फर्किइन्। 'चार कलाकार टाप' भन्ने खबर गलत भयो। सम्झना फर्किए लगत्तै थिएटरले पोखरामा पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्मेलनमा सम्झना २१ घण्टा लामो ट्रान्जिटमा रहेका कारण अन्य कलाकारभन्दा एकदिन ढिला फर्किएको बताइयो। सम्मेलनमा बोल्दै सम्झनाले आफूमाथि आरोप लगाउने र मानहानी गर्ने अनलाइनविरुद्ध जाहेरी दिने बताएकी थिइन्। 'पछि सम्बन्धित पत्रकारहरुले माफी माग्‍नु भयो। कानुनी उपचारको बाटो खोजिएन', अध्यक्ष कपिलले भने।

होटलबाटै हराएका अन्य तीन कलाकार भने भिजा अवधि सकिँदा पनि फर्किएनन्। सर्वाधिक लामो भिजा सम्झनाकै थियो, एघार दिन। अरुको ६ देखि १० दिनसम्म। सबैको भिजाको मिति सकिएपछि पुन: जर्मनको राजदूतावासमा खबर गरियो। तर, जर्मनी छाडेर अन्य देश पुगेकालाई केही गर्न नसकिने जवाफ फर्कायो दूतावासले।

हालसम्म भागेकामध्ये मधुसुदन पौडेल मात्र सम्पर्कमा छन्। 'भागेर गल्ती गरें। संस्थाकोसँगै आफ्नै पनि बदनाम भयो। अब त केही वर्ष बसेर मात्र फर्कन्छु- भन्दै मेसेज गरेका छन्', कपिलले पौडेलले गरेको कुरा सुनाए।

थिएटरका सचिव सौगात पोख्रेलका अनुसार मधुसुदनको कुरालाई आधार मान्ने हो भने अन्य दुई अञ्जना पौडेल र शर्मिला बस्नेत पनि पोर्चुगलमै छन्। शर्मिला थिएटर स्थापनादेखि नै टिममा छिन्।

उनले करिब ५ वटा नाटक खेलिसकेकी थिइन्। तीनै कलाकारको परिवारसँग विस्तृत कुराकानी भएको छैन। सौगातले मधुसुदनको दाइलाई भेटेका थिए। 'दाइ यसरी भाग्नु भयो भनेर सुनाउँदा सामान्य रुपमा लिनु भयो', सौगातले सुनाए। त्यस्तै कपिलले अञ्जनाको भाइसँग भेटेका थिए। उनले आफ्नी दिदी पोर्चुगलमै रहेको जानकारी दिए। नाट्य टोलीले कसैसँग प्रत्यक्ष सम्पर्क भने गरेका छैनन्। भागेर पोर्चुगल पुगेका तीनैजना सामाजिक सञ्जालमा भने सक्रिय छन्।

कपिल भन्छन्, 'उहाँहरु योजनाबद्ध रुपमा फरार हुनु भएको रहेछ। हामीलाई दुई सय युरोमात्र साटेको देखाए पनि ब्ल्याकमा धेरै रकम साट्नु भएको रहेछ। अहिले बल्ल एकपछि अर्को रहस्य खुल्दैछ।'

पोखरामा सार्वजनिक नाटकघर स्थापनाको लागि परेका कपिल, सौगातलगायत टोली अहिले अविश्वासको घेरामा परेका छन्। अप्रत्याशित प्रश्नहरु र आरोपको मारमा परेका छन्। कलाकार भागेकै कारण नाटकघरका लागि सहयोग आह्वान गर्न असहज त भयो नै, साथमा क्यानडाका लागि तय भएको कार्यक्रमको तयारीमा पनि वाधा परेको छ। नयाँ कलाकार खोजेर पुन: रिहर्सल सुरु गर्नुको विकल्प छैन। विकल्प अपनाउन भौतिक, आर्थिक समस्या त छ नै, समय र कलाकार जुटाउनु अर्को चुनौती।

'मलाई जस्तो पीडा कसलाई छ होला र? एक त मानव तस्करीको आरोप त्यसमाथि बल्लबल्ल तङ्ग्रदै गरेका पोख्रेली नाटककर्मीलाई निरुस्साहित गर्ने यस्तो घटना', उनी दिक्दार सुनिन्छन्।  भन्छन्, 'संस्थाको हित विपरित काम भयो। कारबाहीको लागि ढिला भयो।'

उनले भागेकाहरुले लाज पचाए पनि आफू पोखरामा नाटक, नाटकघर, नाट्य संस्कृति, दर्शक र कलाकारको हितको लागि अथक प्रयास गरिरहने बताएका छन्।

लोक संस्कृतिका लागि चिनिन्छ पोखरा। यहाँ नाटक ब्युँत्याउनकै लागि २०६९ सालमा युथ क्रिएसनको स्थापना भएको थियो। त्यसपछि २०७४ सालदेखि पोखरामा पहिलो ब्ल्याक बक्स थिएटर 'गन्धर्व नाटकघर' पनि सञ्चालनमा आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell