PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सिंगापुर प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी ९ टन हात्तीदाँत समात्यो



सिंगापुर प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी ९ टन हात्तीदाँत समात्यो
सिंगापुरले बरामद गरेको हात्तीदाँत। तस्बिरः नेसनल पार्क्स बोर्ड सिंगापुर

सिंगापुरः सिंगापुर प्रहरीले करिब ९ टन हात्तीदाँत बरामद गरेको छ। बरामद भएको ८ दशमलव ८ टन हात्तीदाँत अहिलेसम्मकै सर्वाधिक परिमाण भएको सिंगापुरका सरकारी अधिकारीले बताएको बेलायती सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको हो। यति ठूलो परिमाणको हात्तीदाँत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोबाट तस्करी भएर आएको र भियतनामतर्फ तस्करी हुन लागेको थियो। 
संरक्षणविदहरूले सिंगापुर वन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै आएका छन्। बरामद हात्तीदाँत करिब १ करोड २९ लाख अमेरिकी डलर बराबर रहेको अनुमान छ। यति ठूलो परिमाणको हात्तीदाँत जम्मा गर्न करिब ३ सय अफ्रिकी हात्ती मार्नु पर्छ। 
सिंगापुर प्रहरीले हात्तीदाँतसँगै मंगलबार ठूलो परिमाणमा सालकका खपटा पनि बरामद गरेको छ। सिंगापुर प्रहरीले अहिले हात्तीदाँतसँगै ११ दशमल ९ टन सालकको खपटा बरामद गरेको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। करिब  ३ करोड ५७ लाख अमेरिकी डलर पर्ने बरामद सालकको खपटाको परिमाणका लागि करिब २ हजार सालक मार्नु पर्छ।
सिंगापुर प्रहरीले यस वर्षको अप्रिलयताका तीन महिनामा साढे ३७ टन सालकका खपटा बरामद गरिसकेको छ। 
‘बरामद हात्तीदाँत र सालकका खपटा बेचबिखन हुन नपाओस् भनेर नष्ट गरिने छ‘, सिंगापुरका भन्सार, अध्यागमन विभाग तथा राष्ट्रिय पार्क बोर्डले जनाएको छ, ‘चिनियाँ भन्सार अधिकारी विभागले दिएको सूचनाका आधारमा हात्तीदाँत र सालकका खपटा जफत गरिएको हो।’
यसअघि यसै वर्षको मार्चमा भियतनाम प्रहरीले तस्करी गरिएको ९ दशमलव १ टन हात्तीदाँत बरामद गरेको थियो। गैरसरकारी संस्था एन्भार्नमेन्टल इन्भेस्टिगेसन एजेन्सी उक्त परिमाण अहिलेसम्म विश्वभरि बरामद भएका हात्तीदाँतमध्ये सर्वाधिक भएको बताएको थियो। 
केही महिनायता सिंगापुर, हङकङ र भियतनाममा विश्वभरि नै ओसारपसार र बेचबिखन गर्न प्रतिबन्धित हात्तीदाँत, सालकका खपटा र गैंडाका खाग नियमितजस्तै बरामद भइरहेको छ।
सालक र सालकका खपटा विश्वभरि नै सबैभन्दा धेरै तस्करी हुने गर्छ। विश्व वन्य जन्तु कोष (आइयुसिएन) र साइटिसले सालकलाई अत्यन्त संकटापन्न वन्यजन्तुको रातो सूचीमा राखेका छन्। तस्करहरूले मासु, खपटा र नंग्रालगायत अन्य अंगका लागि सालकको सिकार गर्ने गर्छन्। भियतनाम र चीनमा यसको मासु खाइन्छ भने खपटा चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग गरिन्छ। तर यसको खपटामा औषधीका गुणयुक्त भएको चिकित्सा विज्ञानबाट प्रमाणित भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell