PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

खेलाडीहरु धमाधम पुरस्कृत भइरहँदा महिला क्रिकेटरको गुनासो, कप्तान रुविनाले व्यक्त गरिन् पीडा



गोविन्दराज नेपाल

खेलाडीहरु धमाधम पुरस्कृत भइरहँदा महिला क्रिकेटरको गुनासो, कप्तान रुविनाले व्यक्त गरिन् पीडा

काठमाडौँ : नेपालमा महिला क्रिकेट राम्रो गर्दा गर्दै पनि छायाँमा पर्ने गरेको छ। दशक अघि महिला क्रिकेट सुरु हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालले तहल्का नै मच्चाएको थियो।

अहिले नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्वनमा हुँदा नेपाली क्रिकेट व्यवस्थापन सही तरिकाले अगाडि बढ्न सकिसकेको छैन। त्यसमा पनि महिला क्रिकेट झन धेरै मारमा परेको छ।

अन्तर्राष्ट्रिय स्तरमा हुने केही प्रतियोगितामै महिला क्रिकेट सीमित बनेको छ। तर, घरेलु संरचना कमजोर हुनु र राष्ट्रिय स्तरमा पनि विरलै प्रतियोगिता हुँदा पनि नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने सफलता हात पारिरहेको छ।

पछिल्लो समय नेपालको महिला क्रिकेट टिमले दुई प्रतियोगिता खेल्यो र दुवैमा उपविजेता बन्यो। उपाधि जित्ने नै लक्ष्य बनाए पनि दुवैमा थाइल्याण्ड नेपालका लागि तगारो बनिदियो।

थाइल्याण्ड टी २० स्म्यासमा विश्वकप क्वालिफायरमा नेपाल उपविजेता बनेको हो।

जित्दा मात्र हाई हाई हुने नेपालमा अहिले महिला क्रिकेट खेलाडी कता के गर्छन् धेरैलाई थाहा छैन।

केही समय अघि राखेपको आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको सह आयोजनामा प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यसपछि महिला क्रिकेटको नाम बाहिर आएको छैन।

त्यसैले महिला टिमकी कप्तान रुविना क्षेत्रीले राम्रो खेल्दा खेल्दै पनि आफूहरुलाई वेवास्ता गरिएको भन्दै गुनासो पोखेकी छिन्।

अहिले खेलकुद क्षेत्रमा सम्मान गर्ने र पुरस्कार गर्ने क्रम चलिरहेको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधवार मात्रै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका विभिन्न खेलका खेलाडी, अफिसियलहरुलाई नगद सहित सम्मान गर्‍यो। त्यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीहरुलाई सम्मान गरेको थियो। यस्तै राखेपले गत चैत-वैशाखमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने र कीर्तिमान बनाउने खेलाडीहरुलाई पनि केही दिनअघि सम्मान गरेको छ।

गत फागुनमा पाँचौ साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको महिला टिम पनि प्रदेश सरकार र केन्द्रसम्म बाट पुरस्कृत भइसकेको छ।

पुरस्कार पाउनेहरुले थोरै पुरस्कार भएकोमा गुनासो गरिरहँदा पुरस्कार नै नपाएको महिला टिमकी कप्तान रुविनाले बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गुनासो गरेकी हुन्। उनले सबै खेलाडीको प्रतिनिधित गर्दै भविष्यको बारे चिन्ता व्यक्त गरेकी छिन्।

'नेपालका लागि प्रतिस्पर्धा गरेका अन्य खेलाडीहरु सम्मानित भइरहेका छन्। खेलकुद मन्त्रालयले सम्बन्धित निकायको यो प्रयास राम्रो हो। तर नेपालको हामी महिला क्रिकेटरहरु किन सधैं पछाडि छौँ? हामी टी २० स्म्यास र विश्वकप क्वालिफायरमा उपविजेता भएका हौँ। केही नहुँदा पनि हामीले रिजल्ट ल्याइरहेको छौँ,' रुविनाले यसरी आफूहरुको पीडा व्यक्त गरेकी छिन्।

'सबैले आ-आफ्नो हक अनुसारको सम्मान पाइरहँदा के हामी चाहिँ त्यो सम्मानको हक छैन? के हामीलाई दु:ख छैन?' उनले प्रश्न राखेकी छिन्।

'कसलाई सोधम म यो प्रश्न। हामीलाई नि दु:ख छ। हामीलाई पनि जिउने बाटो दिनुस्। हामीले १२ वर्ष देखि हाम्रो जिन्दगी यो खेलमा दिँदै आएको छौँ। साना बच्चाहरुलाई मैले अब कसरी यो खेलमा लाग भन्ने?'

'आज मन दुखेको छ। हामीले पनि कहिले त्यो हक, सम्मान र कदर पाउने?'

रुविनाले सरोकारवाला निकायलाई यसबारे गहिरिएर सोच्न आग्रह गरेकी छिन्।

'हामीले धेरै पर्खेका छौँ। सहेका छौँ। केही भनेका छैनौँ तर आज मलाई डर छ कि यस्तै पारा ले कतै महिला क्रिकेट नाममा मात्र सीमित नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell