PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टी-२० विश्वकप क्वालिफायर : कुवेतविरुद्ध जित्नैपर्ने अवस्थामा नेपाल



गोविन्दराज नेपाल

टी-२० विश्वकप क्वालिफायर : कुवेतविरुद्ध जित्नैपर्ने अवस्थामा नेपाल
Photo Credit : Neplays

काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी टी-२० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले शनिवार कुवेतसँग खेल्दैछ।

क्वालिफायरमा पहिलो खेलमै कतारसँग अप्रत्यासित हार बेहोरेपछि नेपाली टोली सुरुमै दबावमा आएको थियो। तर दोस्रो खेलमा मलेसियाविरुद्ध जित हात पारेपछि नेपाली टोलीलाई केही राहत मिलेको छ। मलेसियासँग खेलेपछि नेपालले दुई दिन आराम पाएको थियो। कुवेतले भने आज कतारसँग खेल्दै जित हात पारेको थियो।

यस क्वालिफायरमा कतारले हारबाट सुरुवात गरेको थियो। पहिलो खेलमा मलेसियासँग पराजित भएको कुवेतले दोस्रो खेल वर्षाले रद्द हुँदा सिंगापुरसँग अंक बाँड्यो। आज कतारलाई हराउदै पहिलो जित हात पारेको कुवेतले ३ खेलबाट ३ अंक नै जोडेको छ।

यस्तै सिंगापुरले अपराजित रहँदै ३ खेलबाट ५ अंक जोडिसकेको छ र अंक तालिकमा शीर्ष स्थानमा छ।

अब क्वालिफायरमा तीन खेल मात्र बाँकी छ। त्यसमा नेपालकै दुई खेल छ। अर्को एक खेल भने उपाधि होडबाट बाहिरसकेको मलेसिया र कतारबीच छ। आजको खेलमा मलेसिया सिंगापुरसँग पराजित भएको थियो। आज पराजित भएपछि यी दुई टोली अन्तिम खेलअघि नै उपाधि होडबाट बाहिरिएको हो।

जसले गर्दा नेपाललाई अब आफ्नो खेलको नतिजामा मात्र भर पर्दा हुने भएको छ। नेपालले अब बाँकी दुवै खेल जिसतेमा ६ अंक जोड्दै क्वालिफायरको विजेता बन्नेछ र ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। तर त्यसका लागि भोली हुने कुवेत विरुद्धको खेल महत्वपूर्ण छ। कुवेतविरुद्ध पराजित भएमा पनि नेपालको अन्तिम खेल खेल्नुअघि नै ग्लोबल क्वालिफायरको ढोका बन्द हुनेछ। त्यसैले नेपालको लागि अहिले कुवेतविरुद्धको खेल नै महत्वपूर्ण खेलको रुपमा रहेको छ।

कुवेत आज कता विरुद्ध पहिले ब्याटिङ गर्दै १९७ रन बनाएको थियो। यस क्वालिफारमा नेपालको ब्याटिङ खासै चल्न सकेको छैन। नेपालले पहिलो खेलमा कतारविरुद्ध मात्र १२२ रन बनाएको थियो।

वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले मलेसियाले दिएको ८४ रनको लक्ष्य ८ ओभरमै पूरा गरेको थियो। उक्त खेल ९ ओभरमा छोट्याइएको थियो। ज्ञानेन्द्र मल्लले २० बलमै अर्धशतक प्रहार गरेपछि नेपाल जितसम्म पुगेको हो।

आइसीसको टी २० आई वरीयतामा हेर्न भने भने नेपाल कुवेतभन्दा धेरै अघि छ। नेपाल ११औऔं स्थानमा रहँदा कुवते २८औं स्थानमा छ। तर वरीयताले केही परक पार्दैन।

नेपाल र कुवेतबीच यसअघि भएको टी २० फर्म्याटको खेल रोमाञ्चक बनेको थियो। अहिलेसम्मटी २० मा नेपाल र कुवेत तीन पटक भेट हुँदा नेपालले तीनवटै खेल जितेको थियो। एक खेल टाई हुँदा नेपालले बल आउटमा जितेको हो।

सन् २००९ मा भएको एसीसी टी २० कपमा नेपाल र कुवेतले बराबर रन बनाएका थिए। युएईमा भएको खेलमा पहिले ब्याटिङ गरेको कुवेत १९.१ ओभरमा १२३ रनमा अलआउट भएको थियो। जवाफमा नेपालले २० ओभर खेल्दै ७ विकेट गुमाएर १२३ रन नै बनाएको थियो। टाई भएपछि बलआउट मार्फत नेपालले ३ वटै स्टम्प ढालेर जित हात पारेको हो।

त्यसको दुई वर्षपछि २०११ मा भएको सोही प्रतियोगितामा भने नेपालले कुवेतलाई १ रनले पराजित गरेको थियो। कीर्तीपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपालले कुवेतलाई १९.५ ओभरमा १२५ रनमै अलआउट गर्द १ रनको रोमाञ्चक जित हात पारेको थियो।

यस्तै सन् २०१४ मा भएको एसियन गेम्समा नेपालले कुवेतलाई २० रनमै अलआउट गर्दै ९ विकेटको जित हात पारेको थियो।

 

नेपाल भर्सेस कुवेत

२००९ एसीसी टी-२० : म्याच टाइ (स्कोर बराबर) बलआउटमा नेपाल ३-२ ले विजयी

२०११ एसीसी टी २० : नेपालले कुवेतलाई १ रनले हराएको

२०१४ एसियन गेम्स : नेपाल ८ विकेटले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell