PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिंगापुर विरुद्धको खेल नेपाललाई फाइनल जस्तै



गोविन्दराज नेपाल

सिंगापुर विरुद्धको खेल नेपाललाई फाइनल जस्तै
FILE PHOTO

काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपको लागि मुख्य छनोटको रुपमा रहेको ग्लोबल क्‍वालिफायरमा स्थान बनाउन नेपालको लागि एसियन क्‍वालिफायरमा सिंगापुर विरुद्धको खेल जित्‍नैपर्ने भएको छ।

सिंगापुरमै भइरहेको विश्वकप क्‍वालिफायरको एसिया फाइनलमा नेपालले भोलि सिंगापुरसँग अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसपछि लगातार दुई खेल जित्दै आफूलाई उपाधि होडमा कायम राखेको छ। शनिवार नेपालले कुवेतलाई ७ विकेटले सहजै हराउँदै सिंगापुर विरुद्धको खेल निर्णायक हुने तय गरेको हो।

घरेलु टोली सिंगापुर ३ खेलबाट अपराजित रहँदै ५ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलबाट २ जितपछि ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। नेपालसँग हारेपछि ४ खेलबाट ३ अंक रहेको कुवेत तेस्रो स्थानमा छ र उपाधि होडबाट बाहिरिसकेको छ। यस्तै मलेसिया र कतार दुई खेल हारिसकेकाले यसअघि नै उपाधि होडबाट बाहिरिसकेका छन्। यी दुई टोली आज प्रतिष्ठाका लागि खेल्दैछन्। दुवैको ३ खेलबाट २-२ अंक छ।

पाँच राष्ट्र सहभागी यस क्‍वालिफायरबाट विजेता टोली मात्र ग्लोबल क्‍वालिफायर पुग्ने भएकाले नेपालको लागि अब सिंगापुर विरुद्धको खेल जित्नैपर्ने चुनौती छ। सिंगापुरले पहिलो खेलमा कतारलाई हराएको थियो भने वर्षाका कारण कुवेतसँग अंक बाँडेको थियो। तेस्रो खेलमा मलेसियालाई सहजै हराउँदै सिंगापुरले अपराजित यात्रा कायम राखेको छ।

नेपाल भने पहिलो खेलमै कतारसँग अप्रत्यासि हार बेहोर्न बाध्य भयो। वर्षाले प्रभावित भएपछि ९ ओभरमा छोट्याइएको मलेसिया विरुद्धको खेलमा पुनरागमन गर्दै नेपालले जित हात पारेको थियो।

यो क्‍वालिफायरकै अन्तिम खेलमा भोलि नेपाल र सिंगापुर भिड्दैछन्। खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे इन्डियन एसोसिएसन ग्राउण्डमा सुरु हुनेछ। स्पष्ट छ उक्त खेल जसले जित्छ त्यही टिम अक्टोबर-नोभेम्बरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ।

जहाँ विश्वका १४ टिमले प्रतिस्पर्धा गर्नेछन् र यसबाट शीर्ष ६ स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछन्।

अंकतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell