PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तेस्रो भएको नेपाललाई आयोजकले उपविजेताको पदक दिँदा यस्तो गल्ती



गोविन्दराज नेपाल

तेस्रो भएको नेपाललाई आयोजकले उपविजेताको पदक दिँदा यस्तो गल्ती

काठमाडौं: घरेलु टोली सिंगापुर अपराजित रहँदै आइसीसी टी २० विश्वकप क्वालिफायर विजेता बनेर ग्लोबल क्वालिफायर पुगेको छ। क्वालिफायर जित्ने मुख्य दाबेदारको रुपमा रहेको नेपाल भने तेस्रो बनेको छ।

पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनले पराजित गर्दै शीर्ष स्थानमा रह्यो। ४ मध्ये ३ खेल जितेको सिंगापुरले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। उता नेपालले भने २ जित र २ हारबाट ४ अंक मात्र जोड्न सक्यो।

नेपालको लागि अन्तिम खेल अघोषित फाइनलजस्तै थियो। जितेमा युएईमा हुने ग्लोबल क्वालिफायर पुग्ने र हारले सन् २०२० को टी २० विश्वकप पुग्ने ढोका बन्द हुने थियो। सिंगापुर एसिया फाइनलको विजेता बन्यो।

नेपालले कुवेत र मलेसियालाई पराजित गर्दा कतार सिंगापुरसँग हार बेहोर्‍यो।
    
पहिलो पटक ग्लोबल क्वालिफायर पुगेको सिंगापुरले अब १४ राष्ट्र सम्मिलित क्वालिफायर खेल्नेछ। जहाँबाट शीर्ष ६ राष्ट्र अष्ट्रेलियामा हुने विश्वकपमा पुग्नेछ।

आयोजकको गम्भीर गल्ती

राउन्ड रोविन लिगमा भएको क्वालिफायरको अन्तिम खेल अघोषित फाइनल जस्तै भएकोले जित्ने विजेता हुने पक्का थियो नै हार्ने टिम उपविजेता नै हुन्छ भन्ने थिएन। यदि नेपालले जितेको भए नेपाल विजेता र सिंगापुर उपविजेता हुने थियो।
 
तर सिंगापुरले जित्दा नेपाल दोस्रो नै हुन्छ भन्ने थिएन। कारण नेपालको हारपछि नेपाल र कतारको समान ४ अंक हुने थियो। भयो पनि त्यस्तै।

तर आयोजकले भने पुरस्कार वितरण समारोहमा सिंगापुरसँग हारेको नेपाललाई नै उपविजेता भएको भन्ठानेर उपविजेताको मेडल लगाइदियो। त्यसपछि सिंगापुरका खेलाडीलाई विजेताको मेडल लाइयो। त्यसबेलासम्म कतारका केही प्रतिनिधिले पुरस्कार वितरण भएको ठाउँमा केही भनिरहेका थिए।

कतारको आफू दोस्रो भएको दावी गरिरहेको थियो।

के हो वास्तविकता?

सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमै १०९ रनमा अलआउट भएपछि ८२ रनको फराकिलो अन्तरले पारजित भयो। ठूलो हारले नेपालले रनरेट स्वभाविक रुपमा घट्यो। खेलपछि हार जितको मात्र विषयले चर्चा पायो र विजेता को भयो भन्ने विषयले ठूलो अर्थ राख्दा दोस्रो को भयो भनेर चासो राख्ने भएनन्। किनकी विजेता मात्र ग्लोबल क्वालिफायर पुग्ने थियो।

सिंगापुरसँग हारेपछि नेपालको रनरेट -०.६८२ भयो। कतारको रनरेट -०.३७८ थियो। यस अर्थमा कतार नेपाल भन्दा अगाडि भयो।

तर आयोजकले पहिल्यै नेपाललाई उपविजेताको मेडल लगाइदिसकेकोले यसमा आयोजकको गम्भीर गल्ती भयो।

पछि नेपालले पाएको मेडल आयोजकलाई नै फर्काउनुपर्‍यो। त्यसपछि आयोजकले उक्त मेडल कतारलाई लगाइदियो।  आयोजकले सिंगापुरलाई विजेताको ट्रफी प्रदान गर्नुअघि यस विषयमा क्षमा माग्दै कतार दोस्रो भएको जनाएको थियो। 


कुवेतका कासिफ प्लेअर अफ दि सिरिज

क्वालिफायरमा कुवेतका कप्तान मोहम्मद कासिफ प्लेअर अफ दि सिरिज घोषित भए। उनले एक अर्धशतकसहित क्वालिफायरमा सर्वाधिक १४२ रन बनाउनुका साथै ४ विकेट लिएका थिए।

यस्तै फाइनलमा नेपालविरुद्ध ४३ बलमा ७७ रन बनाएका टिमोथी डेभिड बेस्ट ब्याट्सम्यान घोषित भए। उनले ३ खेलमा १२९ रन बनाए। नेपालका ज्ञानेन्द्र मल्लले ४ खेलमा १३२ रन बनाएका थिए।

कतारका इक्वाल हुसेन बेस्ट बलर घोषित भए। उनले ४ खेलबाट सर्वाधिक १२ विकेट लिएका थिए। नेपालका लागि भने धेरै विकेट लिनेमा अगाडि रहेका सन्दीप लामिछानेले ७ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell