काठमाडौं : नन्दु ज्ञवाली। उमेर, २४ वर्ष। ज्ञवाली थर देख्दा धेरैलाई लाग्दो हो - गुल्मीतिरकी। उनी गुल्मेली होइनन्। अझ नेपाली नै होइनन् भन्दा त झन् अनौठो लाग्ला। पहिलो चोटी नेपाल आएकी उनी खासमा म्यानमारकी हुन्।
'बर्मा गए कर्म सँगै' भनेजस्तै नेपालबाट म्यानमार पुगेकाहरुले नेपाली भाषा, संस्कृति र परम्परामात्र उता पुर्याएनन्, सँगै लगे कुरीती र कुसंस्कार पनि। नन्दु अहिले तिनै कुसंस्कार विरुद्ध लड्दैछिन्। लडाइका क्रममा उनी म्यानमारका नेपाली भाषीबीच व्याप्त कुरीतीको जरासम्म आइपुगेकी हुन्। अर्थात् नेपाल। यहाँको अवस्था देखेपछि उनलाई झन् टिठ लागेको छ। हामीसँगको भेटमा भनिन्, 'म्यानमारका महिलासँग नेपालका महिलाको तुलना गर्दा म निराश भएँ। '
बर्मा गए'नि नछुटेको नेपालीको कर्म
महिलाहरु महिनावारी हुँदा छुवाछुत बार्नु म्यानमारका रैथानेका लागि अनौठो हो। तर त्यही मुलुकलाई थातथलो बनाएका नेपाली मुलका बर्मेली भने यसलाई परम्परा नै मान्दा रहेछन्।
नन्दुले हामीलाई एउटा त्यस्तै घटना सुनाइन् जसले उनलाई सधैँ दु:खी बनाउँछ।
प्रसंग सन् २०१० जनवरी १ को हो। सबै नयाँ वर्षको रौनकमा मस्त। नन्दु भने म्यानामरकै सान राज्यमा रहेको एउटा सानो गाउँ मानचाङको घरमा छट्पटाउँदै थिइन्। उनको मनमा दिउँसो आँखै अगाडिको घटना झल्झल्ती दोहोरिरहेको थियो।
नन्दु त्यसलाई घटना होइन, दुर्घटना भन्छिन्।
दिउँसोको समय थियो। उनी भुईंमा बसेर लुगा पट्याउँदै थिइन्। उनका बुबा बाली ज्ञवाली नजिकै बसेर गफिँदै थिए। बालीलाई असजिलो भएछ।
'छोरी मलाई रिङ्गटा लाग्यो,' उनले भने। त्यसपछि उनीहरु दुईको गफले अप्रत्याशित मोड लियो।
बाली अस्वस्थ थिए। हात खुट्टा र जिब्रो अस्वभाविक दह्रो हुने र ढल्ने। रिङ्गटा लागेको भनेपछि उनले संकेत पाइन् र भनिन्, 'नउठ्नुस् बाबा, आराम गर्नुस्।'
सायद, बालीलाई आराम गर्न पनि अप्ठ्यारो भइसकेको थियो। जबरजस्ती उठे र टेबलमाथिको पानी पिउन खोजे। तर, उनको शरीर उल्टै टेबलतिर पो तानियो। क्षणभरमै ड्याङ्ग लडे। उनको टाउको ठोक्कियो।
त्यतिखेर चौध वर्षकी मात्र थिइन् नन्दु, न बुबालाई समाउन सकिन् न त उठाउन नै। आत्तिँदै आमालाई बोलाइन्। आमा भने तल नै बसेर रुन थालिन्। माथि उक्लिनन्। गाउँले गुहारिन्। अँह! पीडाले छट्पटाइ रहेका श्रीमानको छेउमा परिनन्। कारण थियो, रजस्वला।
महिनावारी हुँदा पतिलाई छुन हुन्न भन्ने अन्धविश्वास थियो नन्दुको आमामा। महिनावारी बार्नु नेपाली परम्परा जोगाउनु हो भन्ने विश्वास गर्थिन्। यो हिन्दु धर्म अपनाएका बर्मेली नेपालीबीच सामान्य कुरा हो।
नेपाली 'परम्परा' जोगाउन खोज्दा पति गुमाइन् नन्दुकी आमा नरमायाले।
घटना भएकै दिन गाउँको अस्पताल भर्ना गरिएको थियो बालीलाई। त्यहाँ उपचार सम्भव भएन। अवस्था नाजुक थियो तर पनि सास रहुन्जेल आश, ल्याह्सो शहर पुर्याइयो उपचारका लागि।
बुबा ठीक होलान्। अस्पतालको शैय्याबाटै आफूलाई फोन गर्लान् भन्ने आशामा अनिदो पर्खिएकी थिइन् उनले। तर, खबर त महिनौंको निद्रा बिथोल्नेगरी पो आयो। उनका बुबा रहेनन्। बुबालाई अस्पताल पुर्याउन ढिला भइसकेको रहेछ। ढिला हुनुको कारण बन्यो आमाको महिनावारी।
नन्दुको विद्रोह
महिनावारी बार्ने चलन नेपाली भाषीबाहेक कुनै पनि जातीय समूहमा देखेकी थिइनन् नन्दुले।
‘यस्तो चलन गलत हो भन्ने त मलाई पहिला देखी नै लाग्थ्यो,' उनले भनिन्, 'तर सबैले अपनाएको कुरालाई मैले बेठीक भन्दा एक्लो पर्थेँ।'
चलिरहेको चलनकै रुपमा महिनावारी बार्नु किन गलत लाग्यो त नन्दुलाई? उनका अनुसार पहिलोपटक महिनावारी हुँदा धेरै गाह्रो भएको थियो। अस्वभाविक पेट दुख्ने, टाउको दुख्ने भइरहेको थियो। यस्तो कमजोर हुँदा पनि उनलाई छिमेकीको घर पठाइयो, महिनावारी बार्न।
उनलाई जुन घरमा पठाइयो त्यही घरको छोराको व्यवहारबाट नन्दु आजित थिइन्। त्यही घरको छोरा उनलाई जिस्क्याउथे, प्रेमपत्र लेख्थे। जसलाई देख्दासमेत भाग्ने गर्थिन् उनी। जोबाट लुक्थिन्, उसकै घरमा सात दिन आफैलाई लुकाउनु पर्यो। उकुसमुकुस महसुस गर्थिन्। तर, सूर्य देवता रिसाउने अन्धविश्वासले दिनभर कोठा भित्रै। ताजा हावासमेत लिन पाइनन् उनले।
'यो सब गलत हो भन्ने थाहा हुँदा हुँदै पनि म मान्दिन भन्ने आँट थिएन। किनकि गोर्खाली समुदायमा ज्ञानी छोरीको पहिचान बनाउनु थियो, परम्परा जोगाइदिएर। जब बुबा गुमाएँ। जिन्दगीमा ठूलो घाटा भयो। त्यसपछि बल्ल बोल्न थालेँ,’ नन्दु सुनाउँछिन्।
बिद्रोहको सुरुवात् रजस्वला हुँदा फूलको बोट छोएर गरिन्। आमालाई चुनौती दिइन् - ‘भोलि बिहान यो बुटा मरेछ भनेमात्र तपाईंले भनेको मान्छु।'
फूल मरेन। आमाको आस्था झन् किन मर्थ्यो? उल्टै छोरीलाई गाली गरिन्, सम्झाइन् पनि।
नन्दुलाई उनका कुराले छोएन। त्यसैले महिनावारी बार्न छाडिन्।
अनि नन्दु फेमिनिस्ट बनिन्...
सन् २०१४। गाउँकै एउटा ट्रेनिङ सेन्टरमा कम्प्युटर ट्रेनरका रुपमा काम गर्थिन् नन्दु। खाली समय सामाजिक सञ्जालतिर बिताउँथिन्। एकदिन फेसबुक स्क्रोल गर्दैगर्दा फेलोसीपको विज्ञापन देखिन्। अनलाइन फर्म भरिन्।
दुई महिनापछि कार्यशालाको लागि छनोट भएको खबर आयो।
पहिलो पटक देशबाहिर जाने मौका थियो उनीसामु। त्यो पनि पढ्नका लागि, पैसा खर्च नहुने। खुशीले सबै सीमा नाघ्यो। इमेलमा आएको 'बधाई पत्र' प्रिन्ट गरिन्। र, हातमा हल्लाउँदै घरतिर दगुरिन्।
तर, घर पुग्नासाथ आमाको प्रश्नले एकैछिन अघिको उनको उत्साहको चुचुरो गर्ल्यामगुर्लुम ढालिदियो - ‘तिमीलाई थाइल्यान्ड जाने अनुमति कसले दियो र यति खुशी भएको?’
दाइले त्यो आगोमाथि घ्यू थपे - ‘एकजना मात्र गोर्खाली केटी देश बाहिर जाने कल्पना समेत नगर।’
नन्दु केही बोलिनन्। कोठामा गइन्, चुकुल लगाइन्। करिब आठ घण्टा आफैलाई थुनिन्। खानासमेत खाइनन्। मानौ, भोक हड्ताल। अन्तत: आमा गलिन्। ढोका बाहिरबाट बोलिन्- ‘आफूलाई राम्रो हुन्छ भने जानु नि त।'
नरमायाले सोचेकी थिइनन्, उनको त्यो अनुमतिले छोरीलाई सामाजिक अभियन्ता बनाउँछ भन्ने। गाउँबाट, म्यानमार मात्र होइन, देश विदेशका पत्रपत्रिका, टिभी र रेडियोमा छाउँछिन् भन्ने त कसरी कल्पना गर्न सक्थिन् र?
+++
एकपछि अर्को रुढीवादीविरुद्ध चल्नु ‘महिलावाद’को एउटा आयाम भन्ने बुझ्न उनलाई थाइल्यान्डको त्यही कार्यशाला नै काफी भयो। आठ महिना लामो कार्यशालामा उनले हक, अधिकारका बारेमा अध्ययन गर्ने मौका पाइन्। अधिकारको हनन्, सामाजिक दमन, हिंसा र दुर्व्यवहारविरुद्ध किन बोल्ने? भन्ने पनि बुझिन्। समानताको आवश्यकता पहिल्याउने कोसिस गरिन्, पहिलो पटक।
छोरी भएकै कारण कति धेरै कुरामा पछाडि परेको भन्ने थाहा पाउँदा जे कुरामा पनि उनलाई रीस उठ्थ्यो। 'दाइले पानी मागे पनि हेपे जस्तो लाग्ने। आमाले केही अह्राए दाइलाई चाहिँ छोरा भएर काम नलगाएको जस्तो लाग्ने,’ उनी फेलोसिपबाट फर्किएपछिको अवस्था सम्झन्छिन्, 'त्यो फेज पार गरेपछि म फेमिनिस्ट भएँ। आफू र आफूजस्तै महिलाहरुको लागि बोल्न सक्ने भएँ।'
+++
‘गाउँका पण्डित बारीमै ढलेछन्। पण्डित्नी बाहिर सरेकी रै'छिन्। बेहोस् बुढा सम्हाल्न छोडेर म भएको ठाउँमा पो आइन् - ‘मैले छुनु हुन्न’ भन्दै।
मैले त, 'केही हुँदैन, भोलि सुख, दु:ख पर्दा बुढा बुढीलाई एकअर्का नभइ हुँदैन' भनेर सम्झाएँ। उनी बारीतिर कुदिन्। म पनि पछि पछि गएँ। दुईटी मिलेर उठायौं। पानी पिलायौं।’
नन्दुकी आमा नरमायाले उनलाई तीन महिना अघि फोन गरेर एकै सासमा घटना सुनाइन्। आमामा आएको परिवर्तनको परिणामले त्यतिन्जेल नन्दुको आँखा टिल्पिलाइ सकेका थिए। आँखा चिम्म गरेर आँशु झारिन् र लामो सास फेरिन्। ती खुशीका आँशु थिए। आमाको बुझाइ फेरिएको खुशी।
महिनावारीलाई परम्परा मान्ने आमामा आफूले चाहेजस्तै परिवर्तन महसुस गरिन् उनले। सोचिन्, 'यो परिवर्तन १० वर्षअघि भएको भए मैले बुबा गुमाउने थिइन।'
आमाको सोच बद्लियो। तर, गोर्खाली समाजले उनलाई असामाजिक मान्यो। परम्परा विरोधी घोषित गर्यो।
'मेरा गतिविधिहरु गलत ठहरिए। आफूमाथि विश्वास दिलाउनै गाह्रो। अविश्वास पनि किन भन्दा म छोरी मान्छे हुँ, त्यसैले,' त्यतिखेरको अवस्था सुनाइन्।
कुसंस्कृतिविरुद्धको लडाइका सुरुवाती दिनमा उनले एक्लो महसुस गरिन्। उनको कुरा कसैले नबुझे जस्तो, सबै उनीविरुद्ध लागे जस्तो।
एक्लो हुँदा बुबालाई सम्झन्थिन्। जो बिहानै उठ्थे - कलशको पानी फेर्थे। गाइवस्तुलाई खान दिन्थे। सरसफाइ गरेर खाना बनाउथे र सबैलाई उठाउथे। आफूहरुलाई तयार पारेर स्कूल पठाउने जिम्मा पनि बुबाकै हुने गर्थ्यो। बुबाकै कारण ती घरायासी काम आमाको मात्र जिम्मेवारी हो भन्ने सोचिनन् उनले।
'समाजले आधा दुनियाँ बुझायो। बुबाले आधा,' उनी भन्छिन्, 'दु:ख त आफ्नै दाजुभाइ देख्दा लाग्थ्यो जसले समाजले चिनाएको बाटोमात्र अपनाए।‘
समाजको निर्देशन स्वीकार्नुले हुनसक्छ घरायसी काम नगर्ने, नपढ्ने तर पैसा कमाउने, महिलालाई होच्याउने प्रवृत्तिलाई पुरुषको पहिचान माने उनीहरुले। त्यसैले कक्षा १० पनि पास गरेनन्। बरु कमाइको बाटो खोजे।
'केही हदसम्म उनीहरुको विचारमा प्रभाव परेको छ। पहिले मलाई कन्ट्रोल गर्ने दाइले आज मलाई स्वीकार्छ। तर, समाजमा जरा गाडेर बसेका केही समस्याहरु उखेल्न अझै वर्षौं मिहेनत गर्नुछ। समाजसँगै जुध्नु छ,' उनले भनिन्।
घरभित्रबाट सुरु गरेको समानताको संघर्ष समाज, देश हुँदै विदेशसम्म फैलाएकी छिन् नन्दुले। त्यसैले आलोचना सहर्ष स्वीकार्छिन्। भन्छिन्, 'महिलावादी हुन धेरै कुरा गुमाउनु पर्छ। आलोचना सहनुपर्छ। किनकि हाम्रो काम धेरै मान्छेले सामान्य मान्दै आएका असामान्य कुराहरु भत्काउनु हो। भत्काउँदा ज-जसलाई असर गर्छ उनीहरु रिसाउनु स्वभाविक हो।'
‘योनीका कथा’देखि ‘लस्ट इन भायोलेन्स’सम्म
हाल नन्दु हिंसा तथा दुर्व्यवहारमा परेका महिलाहरुको उद्धार तथा सहयोग गर्दै आएकी छिन् - आफ्नै संस्था 'पर्पल फेमिनिस्ट ग्रुप'मार्फत्।
संस्थाको जिम्मेवारी काँधमा चडाएपछि महसुस गरिन् - धेरै महिला स्वतन्त्र, स्वावलम्बी र साहसी देखिए पनि सबैसँग महिला भएकै कारण भोग्नु परेको पीडा छ। अर्थात्, लैङ्गिकताका कारण सिर्जित समस्या छन्। तिनै पीडाका कथाहरुलाई सन् २०१८ मा नाटक ‘भजाइना मोनोलग’ (योनीका कथाहरु) मार्फत् प्रस्तुत गर्ने जमर्को गरिन् उनले। पहिलो वर्ष अङ्ग्रेजी भाषामा मञ्चन भएको थियो। जसको चर्चा अन्तर्राष्ट्रिय मिडियामासमेत भयो।
दोस्रो वर्ष वर्मेली भाषामा पनि अनुवाद हुने भयो। वर्मेली भाषामा ‘पीपी जगावाईँ’ बन्ने भयो। जसमार्फत् आफ्नो कथा भन्न करिब सय बर्मेली महिलाले अडिसन दिए।
कलाकारको सहभागिता र दर्शकको उपस्थिति नन्दुका लागि एउटा अर्को उपलब्धी बन्यो। म आलोचना सहन तयार भएर नाटक निर्देशन गरेकी थिएँ। तर, नाटकले बटुलेको वाहवाही गाउँमा एक्लै बसेकी उनकी आमासम्मै पुग्यो। उनले फोन गरिन् र सुक्सुकाउँदै बधाई दिइन्।
नन्दुले महिलावाद प्रोत्सहानका लागि सामाजिक सञ्जालदेखि बर्मेली भाषाको किताबमा समेत काम गरेकी छिन्। सन् २०१७ सालमा 'ह्वाइ वी सुड अल बी फेमिनिस्ट' भन्ने किताब बर्मेली भाषामा अनुवाद गरेकी थिइन्। उक्त किताब सार्वजनिक भएपछिको प्रतिक्रियाले उनलाई झन् हौस्यायो।
हाल उनको 'लस्ट इन भायोलेन्स' नामक किताब प्रकाशनको अन्तिम चरणमा छ। त्यसमा उनले आफु वरपरका महिलाहरुले भोगेको हिंसाको अनुभव र त्यसको न्युनिकरणका उपायहरुको विश्लेषण गरेकी छिन्। किताब अङ्ग्रेजीमा तयार भइसक्यो। बर्माका महिलालाई बर्मेली भाषामै महिलावाद बुझाउन त्यसको अनुवाद गर्दैछिन्। भन्छिन्, 'यो पुस्तक नेपालीमा पनि गर्न पाए अझै खुशी हुनेछु।'
+++
उनी पहिलो पटक नेपाल आएकी हुन्। नेपालमा महिलावादको अवस्था नियाल्नु नै यस पटकको भ्रमणको उपलब्धी मान्छिन् उनी।
‘मैले यहाँ महिलावादको अवस्था निकै नाजुक देखेँ। नारा त उठिरहेको रहेछ। तर, त्यसलाई व्यवहारमा उतारेको पाइन। मैले आफ्नो देशको महिलासँग यहाँका महिलाको तुलना गरेर पनि होला म निराश भएँ, ’ नन्दुले नेपालको अनुभव सेयर गरिन्।
नेपाली फिल्ममा रेखा थापा, झरना थापा लगायतलाई देख्थिन् - भिलेनसँग लडेको, निस्फिक्री छोटा कपडा लगाएको। तिनलाई देख्दा नेपाली महिला साहसी, स्वावलम्बी र स्वतन्त्र छन् भन्ने छाप उनमा परेको रहेछ।
यथार्थमा धेरै नेपाली महिलाहरु काम नगरी बसेको देख्दा उनी छक्क परिन्। ‘यो त महिलावादीलाई अप्ठ्यारो पार्ने विषय हो। महिलाहरु आफै उभिन कोसिस नगर्नु ‘फेमिनिज्मको कलेक्टिभ मुभमेन्ट’ नहुनु हो,’ उनी चिन्तित सुनिन्छिन्।
विदेशमा बस्ने नेपाली भाषीको तुलनामा नेपालमा महिलावाद अपनाउन अथवा महिला विरोधी परम्परागत अभ्यासहरु भत्काउन सजिलो हुने उनको रिडिङ छ।
‘म्यानमारमा जस्तो आफ्नो जातिका मानिस कम भएको ठाउँमा सामाजिक मान्यताविरुद्ध काम गरे परम्परा नै नासिने सोच हावी हुन्छ। संस्कृति नै हराउने डर पनि,' उनले नेपाल र म्यानमारको तुलना गर्दै भनिन्, 'नेपालमा त्यो रिस्क छैन। तर पनि किन प्रयास नभएको होला?
उनी नेपालमा त्यो आँधी देख्न चाहन्छिन् जसले महिला नेतृत्व र सहभागिताको सम्भावना बोकेको हर क्षेत्रको संरचना बदल्छ।
***
नन्दुलाई म्यानमार सरकारले ‘न्यान्डर’ बनाएको छ। परिवारले पहिलो पटक र सरकारले उनको दोस्रो पटक न्वारन गरिदियो। तर पनि नेपाली भाषा, संस्कृति र नेपालप्रति उनको मोह अथाह छ। नेपाल आउने वर्षौ पुरानो रहर यसपाला पूरा गरिन्। अब नेपाली महिलाको अवस्था सुधारिएको हेर्ने रहर पलाएको छ उनमा।
नेपालमा उनकी हजुरआमाकी दिदी छिन्। म्यानमारमै हुर्किएकी हजुरआमाकी दिदीको नेपाली केटासँग विवाह भयो। विवाहपछि उनी श्रीमानसँगै हेटौंडा आइन्।
हजुरआमाको देशमा आएर नन्दुले ‘महिलावाद किन आवश्यक?’ भन्ने विषयमा बोलिन्। नेपालीहरुको माया पाइन्। कृतज्ञता महसुस गरिन्। यो आतिथ्यमा आफ्नी आमालाई सम्झिरहेकी छिन् जसले अहिले भन्ने गर्छिन्, 'नन्दु तिमी त्यो हरेक व्यक्तित्व बन्यौं जो म बन्न सकिन।'