PahiloPost

Oct 23, 2019 | ६ कात्तिक २०७६


बदलियो समयको दम : घडी बनाउने साजको समय कथा



स्वेच्छा राउत

बदलियो समयको दम : घडी बनाउने साजको समय कथा

भित्ताभरी डिजाइनर घडीहरु। सिसाका ‘सो केस’ र टेबलमा हाते घडी। पसलकै एक कुनामा टेबल ल्याम्प र घडीका पार्टपूर्जा। अर्थात् सर्भिस सेन्टर। न्युरोडको रञ्जना गल्लीमा रहेको यसको नामै काफी छ चिनाउन - वाच क्लिनक। यहाँ 'बिरामी घडीको उपचार' गरिन्छ। पाँच वर्षपछि ५० को हुनेछ यो क्लिनकको उमेर।

घडी क्लिनिकका सञ्चालक हुन् प्रदीप मानन्धर। बाह्र वर्षको उमेरदेखि घडीको उपचारमा संलग्न छन् उनी। त्यतिखेर रमाइलोका लागि काम सिके। हुर्कँदै गएपछि घडी मर्मत नै उनको पेशा बन्यो। प्रदीप अहिले साठी वर्षका भए। त्यसैले पूरा समय पसलमा बस्दैनन्। क्लिनकका मुल साज अर्थात् डाक्टर हुन् मचाकाजी महर्जन। ४२ वर्षदेखि उनको समय यसैगरी चलिरहेको छ। शीर्षक लामाले सेल्सको जिम्मा सम्हालेका छन् यहाँ। मानिसको आउजाउ राम्रै देखिन्छ।

न्युरोड, ईन्द्रचोक, असन लगायत ठाउँहरुमा भएका सबै पूराना घडी पसलहरुमा यस्तो चहलपहल भने देखिँदैन। ग्राहकको 'फ्लो'सँगै व्यापार पनि सन्तोषजनक भएको बताउँछन् प्रदीप।

घडीको फेसन र ट्रेन्डसँगै उनले सेवा सुविधाको शैली बदले। यही उनको बिजनेस सुत्र हो – समयअनुसार चल्नुपर्छ। प्रदीपले घडीसँगै समयको चाललाई अनुकरण गरे। त्यसैको परिणाम हो, उनको पसलको चहलपहल। भन्छन्, 'आजभोलि घडीको पार्ट्स रिपेयर हुँदैन बरु रिप्लेस गरिन्छ। बनाएर हुँदैन भने नयाँ किन्ने विकल्प पनि राखेका छौं।'

साज मचाकाजी महर्जन

प्रदीपका बुबा तुलशीकृष्ण मानन्धरले करिब ५० वर्षअघि कोलकाताबाट सामान ल्याएर सुरु गरेका हुन् यो पसल। सँगसँगै खुलेका थुप्रै घडी मर्मत केन्द्र बन्द भए। प्रदीपले भने बुबाले अपनाएको पेशालाई निरन्तरता दिन शिक्षण पेशा नै त्यागे। उनीसँगै उनका भाइ किरणले पनि घडी बनाउन सिकेका थिए जो हाल अमेरिका, एट्लेन्टामा छन्। त्यहाँ पनि उनले घडी मर्मत केन्द्र खोलेका छन्।

आवश्यकतासँगै घडी आफैँमा फेसन पनि हो। उपहार दिनदेखि, प्रेम वा विवाहको प्रस्ताव राख्‍नेसम्मको रोजाइमा पर्छ यो। प्रविधि र ट्रेन्डमा यसको प्रयोग र मर्मत शैली पूरै फेरिएको छ। जसको प्रभाव पूराना घडी साजहरु (घडी बनाउने) लाई परेको छ। किनकि उनीहरुले दमवाला घडी र अटोमेटिक घडीको मात्र काम सिके। नयाँ घडी र पार्ट पूर्जाको काम अपनाएनन्।

प्रदीपले भनेजस्तै - समयसँगै पछि परे ती घडी डाक्टरहरु जो एउटा घडीको समय मिलाउन घण्टौं दम लगाउँथे।

***

कुनै समय जापनिज घडीको ठूलो चार्म। 'सिको फाइभ र सिटिजन' लगाउनेको फुर्ती नै बेग्लै हुने जमाना पनि थियो। घडीमात्र होइन चेन र ब्याट्रीमात्र भए पनि जापानिज राख्‍नेहरु भेटिन्थे।

तिनै ग्राहकलाई आकर्षित गर्न लेखिन्थ्यो- 'जापानिज ब्याट्री फेरिन्छ', 'जापानिज चेन पाइन्छ'।

न्युरोड, ईन्द्रचोक, असन, नरदेवी लगायतका ठाउँमा रहेका पुराना घरहरुमा ती बोर्डहरु अहिले पनि देखिन्छन्। त्यस्ता बोर्डको रङ खुइलिएका, अक्षर धमिला भएर गए। तर घडी मर्मत केन्द्र जिवितै छन्। तीमध्ये एक हो ईन्द्रचोकमा रहेको 'गुर्जुको घडी पसल'।

ईन्द्रचोकबाट वटु छिर्नेतर्फ देब्रेपट्टी महादेवको सानो मन्दिर छ। मन्दिरको पछिल्लो भागमा एउटा कोठा, ठ्याक्कै 'ईन्द्रचोक कश्मिरी बजार' (पोते बजार) को मोहडामा। पसलको ढोका थोत्रो भइसक्यो, जसको खापामा सेतो रङ्गले लेखिएको छ - 'यहाँ घडीमा चैन, गिलास तथा जापानिज ब्याट्री फेरिन्छ।'

व्यस्त इन्द्रचोक बजारका सबैजसो पसलमा भिडभाड देखिन्छ। सँगैको पोते पसलहरुको रौनक बेग्लै, साउने सिजनले। तर, घडी मर्मत गरिन्छ भन्ने अक्षर कुदिएका पसलको भित्र दुर्गाबहादुर डंगोल प्राय इयरफोन लगाएर केही सुनिरहेका भेटिन्छन्। उनी पनि घडी साज। यो मर्मत केन्द्र उनकै हो, जुन आजभोलि प्राय सुनसान छ।

पसल राखिएको कोठाजस्तै होचा छन् दराजहरु। तिनमा रङ्ग रङ्गका घडीका ब्यान्ड सजाइएका छन्। केही थान हाते र भित्ते घडी पनि छन्, पूराना डिजाइनका। ब्याट्री, सिसा, पिन, प्लास्टिकहरु बट्टा बट्टामा मिलाएर राखिएको छ।

दिनभर यिनै सामान मिलाउने र जमेको धुलो पुछ्ने काम हुन्छ आजकाल डंगोलको। किनकि ४६ वर्षअघि खुलेको यो पसलमा आजभोलि चहलपहल छैन।

***

टेकुका ७० वर्षीय दुर्गाबहादुर डंगोल १६ वर्षका थिए जब उनले घडी पसलमा काम थाले। नरदेवीमा उनको मामाको घडी मर्मत केन्द्र। त्यहाँ उनको काम मामालाई सघाउनु। सामान ओसारपसारदेखि, सर सफाइ, घडीको ब्यान्ड, ग्लास, ब्याट्री मिलाएर राख्नु आदि।

जिम्मेवारी एउटा थियो, उनको मन भने मामाको कामप्रति। मामा थरीथरीका घडीहरु बनाउँथे। रोक्किएको दमवाला घडी खोलेर घण्टौं त्यसैमा घोत्लिन्थे र त्यसलाई ठीक पार्थे। सुरुसुरुमा त निकै अप्ठ्यारो काम सुल्झाएजस्तो लाग्थ्यो उनलाई। पछिपछि भने आफू पनि काम सिक्ने जमर्को गरे। त्यसका लागि मामाको काम हेर्न थाले। यसरी नै काम सिके उनले।

२०२७/२८ सालतिरको कुरा हो। काठमाडौंमा घडी बनाउने पसलहरु फाट्टफुट्ट थिए। जति थिए तिनमा मानिसको भिड लाग्थ्यो। एउटै घडी बनाउन घण्टौसम्म लाग्ने भएकाले पनि पालो कुर्नेहरु असन, ईन्द्रचोक, नरदेवीका साँघुरा घरहरु बाहिर देखिन्थे।

घडी बनाउँदा राम्रै आम्दानी हुने मेसो पाएका थिए दुर्गाबहादुरले। त्यसैले मामाको पसलमा दुई वर्ष काम गरेपछि आफ्नै रिपेयरिङ सेन्टर खोल्ने योजना बनाए। मामाले साथ दिए, सामान किन्न सहयोग गरे।

त्यसपछि खुल्यो ईन्द्रचोकको यो घडी पसल। यहाँ लाग्ने भिड र पसलमा हुने गरेको व्यस्तता सम्झन्छन् दुर्गाबहादुर। भन्छन्, 'घडीको आवश्यकता महसुस भएको समय थियो त्यो। घडी लगाउनेहरु पनि बढ्दो थिए। एकजना मेकानिक्स राखेर काम गर्दा पनि भ्याइ नभ्याइ हुन्थ्यो।'

अहिले त उनको काम ब्याट्री र ब्यान्ड फेर्ने मात्र भएको छ। जसबाट हुने आम्दानीले पसलको सामान थप्न पनि पुग नपुग हुन्छ। यो त्यही पसल हो जहाँबाट हुने कमाइले उनले दुई भाइ पढाए, विवाह गराए, वर्षौसम्म परिवार चलाए।

'अहिले त कथा सुनाएजस्तो लाग्नसक्छ। तर, साँच्चै राम्रो कमाइ हुन्थ्यो। हुँदैनथ्यो भने म किन वर्षौं यहाँ बस्थेँ? अरु नै व्यापार सुरु गरिसक्थेँ नि,' डंगोलले भने।

दम दिने घडीको प्रयोग स्वात्तै घटेदेखि पसलको चहलपहलमा असर गरेको बताउँछन् उनी। अटोमेटिक घडीको काम हुन्थ्यो। चेन, ब्यान्ड खोज्न आउनेहरु, घडीमा प्लास्टिक, ब्याक प्लेट, सिसा फेर्न आउनेहरु हुन्थे। बिस्तारै ब्याट्रीवाला घडी चल्यो।

'समय फेरियो। आजकाल त घडी बिरामी नै हुँदैनन्। मोबाइलले सजिलो बनाइ दिएको छ, त्यसैले घडी प्रयोग गर्ने निकै कम छन्,' उनले व्यापार मन्दीको कारण सुनाए, 'डिजिटल घडीको काम त सिकिएन। सिकेको भए अहिले पनि अलिअलि काम त हुन्थ्यो होला।'

विशाल बजार, ईन्द्रचोक, असन वरपर डिजाइन डिजाइनका भित्ते र हाते घडी सिसाभित्र सजाइएका पसलहरु छन्। ती पसलले मान्छेलाई एउटा बिग्रिए अर्को किन्ने विकल्प दियो। पुरानो बनाउनभन्दा नयाँमा खर्च गर्नु सहज बनेको बुझाइ राख्छन् उनी।

'घडीको फेसनसँगै हामी घडी साजहरुको पनि समय बद्लियो। घरमै बसिराख्न मनले मान्दैन त्यसैले पसल खोल्न आउँछु। नत्र सामान सबै बेचेर रिटायर हुने अवस्था छ,' उनले भने।

अहिले कोही मान्छेले ढोकाबाट टाउको छिराउँदा दङ्ग पर्छन् उनी। ब्याट्री हाल्दिन भन्छन्, ब्यान्ड फेर्दिन भन्छन्, चेन घटाउन लगाउँछन्। पैसा नभए पनि काम त हुन्छ। त्यही कुराले खुशी दिन्छ उनलाई।

घडी मर्मत छोडेर बेच्नै राख्ने योजना पनि नबनाएका होइनन्। तर, किन्न आउनेहरु दशवटा हेरेर एउटा किन्छन्। उनको पसल साँघुरो छ। धेरै घडी अट्दैन।

खर्च अभावकै कारण उनको पसल पछाडि भएको अर्को घडी मर्मत केन्द्र बन्द भयो। त्यहाँ अहिले पोते पसल छ। उनको पसल भएको कोठा पनि धेरैले मागिसके।

‘यो ठाउँ सजिलै छोड्न सक्दिनँ,’ पसल वरपर हेरेर भन्छन्, ‘यी सामान नसकुन्जेल रिटायर हुन्न। यहाँ मैले कलकत्ताबाट ल्याएदेखिको सामान छ।‘



बदलियो समयको दम : घडी बनाउने साजको समय कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell