PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'प्रतिकूल परिस्थिति' मा कश्मिर, मध्यरातमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा



'प्रतिकूल परिस्थिति' मा कश्मिर, मध्यरातमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा
फोटो: AP

जम्मु : भारत सरकारले पर्यटक र तीर्थालुहरुलाई भारत प्रशासित कश्मिर छाड्न चेतावनी जारी गरेपछि सन्त्रास फैलिएको छ। भारतीय सरकारले कश्मिर पुगेका पर्यटकहरुलाई कश्मिरबाट फिर्ता आउन एडभाइजरी नै जारी गरेको छ। यस्तै, अमरनाथ यात्रामा गएका तीर्थालुहरुलाई समेत यात्रा बीचमै छोडेर फर्कन भनिएको छ।

हालसम्म ९० प्रतिशतभनदा बढी पर्यटक र तीर्थालु फर्किसकेको बताइएको छ। प्रशासनले फर्कन चाहनेहरुका लागि बसको समेत व्यवस्था गरेको छ।  

केन्द्र सरकारले कश्मिरमा हजारौं सुरक्षाकर्मी तैनाथ गरेको छ।  

 

के कारणले केन्द्र सरकारले कश्मिरमा एडभाइजरी जारी गरेको भन्ने बारेमा खुलाइएको छैन। यद्यपि, आतंककारी आक्रमण हुने सूचनापछि त्यसो गरिएको हुन सक्ने अनुमान गरिएको छ।

हाल कश्मिरमा राष्ट्रपति शासन लागू रहेको छ।

यता, श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जम्मूमा कफर्यु लागू गरिएको छ। मध्यरातदेखि कश्मिरमा धेरै घटनाहरु घटिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 

जम्मू कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाका साथै महबूबा मुफ्तीलाई घरमै नजरबन्द गरिएको छ। उनीहरुसँगै जम्मू कश्मिर पिपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई समेत नजरबन्दमा राखिएको छ।

अब्दुल्लाले ट्वीट मार्फत आफू नजरबन्दमा परेको जानकारी दिएका छन्। उनीहरुसँगै विभिन्न दलका नेता कार्यकर्तालाई नियन्त्रणमा लिनुका साथै नजरबन्दमा राखिएको बताइएको छ।

 

नजरबन्दमा रहेका नेताहरुले 'अवस्था निकै प्रतिकूल' भएको प्रतिक्रिया दिएका छन्। कश्मिरको अवस्थाप्रति उनीहरुले चिन्ता व्यक्त गर्दै सबैलाई शान्त रहन अपिल गरेका छन्।

धारा १४४ लागू भएसँगै श्रीनगरमा कोही पनि व्यक्तिले आवतजावत गर्न पाउने छैनन्। हाल जम्मू कश्मिरमा रहेका सबै शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएको छ। यस्तै मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell