PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

युवकले त मलाई नमज्जाले ढाँटेछ



स्वेच्छा राउत

युवकले त मलाई नमज्जाले ढाँटेछ

ट्रिङ्क्स साइकल। साइकलिङ हेलमेट। पछाडि सानो थैलोजस्तो ब्याग र ब्यागमा झुण्ड्याइएको वैशाखी। सररर… साइकल जमलस्थित प्याङ्क बाइकको सोरुमभित्र छिर्‍यो। स्पीड र साइकल चलाउने शैली देख्दा लागेको थिएन ऊ नै युवक लामा हो।

नाम : युवक लामा।

घर : धादिङ, गल्छी

उमेर १९ वर्ष।

पहिचान : एक खुट्टाकै भरमा साइकलको प्याडल घुमाउँदै देश घुम्ने साइकलिस्ट। साइकलिस्टबीच 'पपुलर' अनुहार।

उमेर सानै भए पनि जीवनको खातामा सबैखाले तनावको हिसाब चुलिसकेको थियो। अकल्पनीय उतार चढावकै बीचमा संघर्ष गरिरहेको

उसको यात्रा निरन्तर जारी रह्यो। त्यो यात्रा एउटा खुट्टा नै गुमाउँदा पनि रोकिएन।

काठमाडौंको सडक - जाम, खाल्डा खुल्डी, धुलो, हिलो अनि दुर्घटनाको त्रास। आम मानिसका लागि झन्झट र सरकारलाई गाली गर्ने बहाना। तर, युवकलाई न आफ्नो खुट्टा नहुनु यथास्थितिमा बस्ने बहानाको विषय बन्यो न त सडकको हालत गुनासोको 'इस्यु'।

खगेन्द्र नवजीवन केन्द्र जोरपाटीको विशेष शिक्षा स्कूलमा पढ्दाताका हो उसले साइकल सिकेको। साइकल सिक्नुअघि सानेपामा बस्थे दिदी-भिनाजुसँग। कोठाबाट स्कूलको दुरी साह्रै टाढा। अपाङ्ग देखेपछि सार्वजनिक बसले चढाउन नमान्ने! चढिहाले भने पनि कोचाकोच र ठेलम् ठेल। हेय, दुर्वचन, गाली र गिज्याइ।

सार्वजनिक सवारीको यही तीतो अनुभव उसको लागि 'इख' बन्यो। र, सिके साइकल। चुनौतीहरु थिए, अप्ठ्यारा पनि। सुरुवाती दिनमा त साइकल असन्तुलित हुन्थ्यो उसको जिन्दगीजस्तै। लड्खडाउथ्यो, लड्थ्यो, चोट लाग्थ्यो। तर, हार मानेको थिएन उसले। उसको सिकाइको हुटहुटी यति बलियो थियो कि जीत जारी रह्यो।

इखैइख बीच एउटा खुट्टाले प्याडल चाल्न सिकेका युवकको यात्रा कोठादेखि स्कूल सम्ममात्र सीमित भएन। छोटो समयमै विभिन्न साइकल टुरहरुको नेतृत्व लियो उसले। 'हिमालयनको आउट डोर' अन्तर्गत् हात्तीवनमा आयोजना भएको क्रस कन्ट्री रेसमा सबलाङ्गहरुसँग भिड्दा दोस्रो बनेपछि साइकलिस्टहरुको समूहमा ऊ नामी साइकलिस्ट कहलियो।

सायद, यस्तै उपलब्धीहरुले हौस्याएको थियो उसलाई। साहस र आत्मबल देखेर छक्क पर्ने, स्याबासी दिनेहरुको साथले ऊर्जा भरेको थियो युवकमा। त्यसैले लक्ष्य बोकेको थियो - प्यारा ओलम्पिकमा सहभागी हुने। र, जित्ने।

यो पनि पढ्नुस : एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा

***

घरमा काम गर्ने शर्तमा काठमाडौंको पढाइले युवकलाई गल्छीबाट काठमाडौंसम्म ल्यायो। पढाउनु पर्छ भन्ने चेत भएका साहुले दशैंमा घर पठाउनु चाहिँ आवश्यक ठानेनन्। त्यही निहुँमा भाग्यो ऊ। २०६९ सालको कुरा हो। ऊ भाग्यो तर घर पुगेन। चढेको बस दुर्घटनामा पर्‍यो। बसमा चेपिएर देब्रे खुट्टा सधैंका लागि गुमायो। खुट्टा गुमाएको तीन महिनापछि नै आमा पनि गुमायो।

आमाको निधनपछि निराश, एकोहोरो भएको थियो युवक। दिदीले काठमाडौं ल्याइन्। खगेन्द्र नवजीवन केन्द्र विशेष शिक्षा विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिइन्। त्यहाँ आफूजस्तै शारीरिक अङ्ग गुमाएका साथीहरु बने। त्यसपछि बल्ल बिस्तारै पीडा भुलाउन थाल्यो।

केन्द्रकै साथीहरुमार्फत् भेट्यो उसले यमलाल रसाइली। रसाइली नेपालको पहिलो व्यक्ति जसले एक खुट्टाले साइकल चलाएर पूरा देश भ्रमण गरेका छन्। उनैले युवकलाई एक खुट्टाले गर्ने साइकलिङको टेक्निक सिकाए। उनीसँगैको भेटले तिरक मानन्धरसम्म पुगे युवक। तिरक युवकको स्पोन्सर बने। प्याङ्क साइकल सोरुमका तर्फबाट साइकल नै दिए। र, जागिर पनि। त्यही कामबाट हुने कमाइले उसको आत्मबल दह्रो बन्यो। दिदी भिनाजुको कोठा छोडेर एक्लै बस्ने हिम्मत गर्न सक्ने बन्यो। एसएलसी दिए लगत्तै ललितपुरको हात्तीवनमा एउटा कोठा लिएर बस्न थाल्यो।

***

प्याङ् बाइकको सोरुममा भएको भेट पर्याप्त भएन। सुनेर नसकिने दु:खका कथा थिए ऊसँग, त्योभन्दा बढी थियो उसको आत्मबल र उपलब्धीका किस्सा। सबै सुन्नु थियो। उसले जानेको साइकल स्टन्टहरु हेर्नु थियो।

त्यसैले फेरि भेट्यौं। हात्तीवनस्थित उसको कोठामा।

बारीको बीचमा टिनले बारेको कोठा, टिनकै छानो। टिनले नै पार्टिसन गरिएको कोठाको एक भागमा भान्सा र अर्कोमा सुत्ने कोठा।

झ्यालसमेत नभएको त्यो साँघुरो कोठामा उनी एक्लै बस्थे। त्यही कोठा उनको दुनियाँ थियो। र, युवकको अन्त्य पनि त्यही कोठाभित्रै हुन लेखेको रहेछ।

***

गएको आइतबार ऊजस्तै प्रेरणादायी कथाकी पात्र भेटेर फर्किएको थिएँ। दिउँसोको करिब तीन बजेको हुँदो हो। मलाई यस्ता पात्रहरुसँग भेट्दा मिल्ने उर्जाको ह्याङ्ग कम भइसकेको थिएन। फेसबुक खोलेँ। स्क्रोल पनि गर्न नभ्याइ देखेँ- युवकको पोस्ट। रोइरहेको जस्तो देखिने फोटोको क्याप्सन: 'सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा
अर्को जुनीमा भेटौंला।'

त्यत्रो हण्डर ठक्कर खाएर पनि आम मानिसलाई सफलताको फरक आयाम देखाएको उसको निराशाजनक पोस्ट सहन सकिन।

हतारहतार उसको फोन नम्बर डायल गरेँ। उठेन। पटकपटक गरेँ। उठेन। त्यसपछि मेरो रीस डरमा बद्लियो। के लेखेको भनेर फोनमा हप्काउँछु भनेको थिएँ, आफैँ आत्तिएँ।

प्याङ्क बाइक सोरुमको नम्बर खोजेर डायल गरेँ। फोन उठाए उनै तिरक मानन्धरले, जसले उसलाई साइकल दिएका थिए।

मैले उसको फेसबुक पोस्ट बारे भनेँ। युवक कहाँ छ सोधेँ। युवक त बिदामा रहेछ। उनलाई के पत्तो हुनु?

भने- 'बहिनी युवक त गाउँ जान्छु भनेर बिदामा बसेको छ। केही भएको छैन होला। म सम्पर्क गर्न कोसिस गर्छु नि।'

सायद घर जाँदा बाटोमा भएकाले फोन उठाएन होला जस्तो लाग्यो। तर, मन मानिरहेको थिएन।

फेसबुक पोस्ट देखेदेखी मेरो आँखामा उसको अनुहार, साँघुरो कोठा र त्यो कोठामा राख्ने ठाउँ नभएर भित्तामा झुण्ड्याइको साइकल झल्झल्ती भइरहेको थियो।

लाग्यो उसको कोठामा झ्याल हुन्थ्यो भने पटकपटक बजेको फोनको घण्टी बाहिरसम्म सुनिन्थ्यो। कोही आवाज पच्छ्याउँदै भित्र पस्थ्यो। सायद, ऊ बाँच्थ्यो।

***

साँझतिर प्रवीन रानाभाटको फोन बज्यो। उसको बोलीमा पूरै निराशा झल्किन्थ्यो। युवकले आत्महत्या गरेको खबर उसैले मलाई सुनायो। लगत्तै उसको फेसबुक प्रोफाइल खोलेँ।

फेसबुकमा ट्याग भएका फोटो र पोस्टहरु निकै डरलाग्दा थिए। ती पोस्टहरु देखेपछि कसैसँग बोल्न सक्ने अवस्थामा रहिन। तर, अरु कसैसँग नबोल्नु चाहिँ आफैसँग कुरा गरिरहनु रहेछ। उसको आत्महत्याको खबर सुनेदेखि म आफैसँग धेरै बोलेँ, प्रश्न गरेँ - आखिर समवेदना र श्रद्धाञ्जली दिने होडमा लागि परेकाहरु साँच्चै उसको आफ्ना मान्छे हुन् कि होइनन्?

तीमध्ये कतिले ऊ बाचुन्जेल गरेका निराशाजनक पोस्टहरु देख्दा फोन गरे होलान्? कतिले सम्झाए होलान्? कतिले मेसेन्जरमा उसलाई 'कस्तो छ भाइ?' भनेर सोधेका थिए होलान्?

अनि मेरा आँखा किन उसका ती पोस्टहरुमा परेन?

यस्तै सुल्झन नसक्ने प्रश्नहरुले मलाई रातभर छोडेन। जवाफ न मसँग थियो, न जवाफ दिन सक्ने युवक नै बाँकी थियो।

युवकको अनुहार याद भइरह्यो। थोरै हाँस्दै, थोरै लजाउँदै ऊ बोल्थ्यो।

भनेको थियो- 'यात्रा यहीँसम्मको मात्र होइन नि दिदी। लिड गर्ने हतार छैन। राइडको लास्टमा भए पनि अलिक टाढासम्म पुगुँ, त्यति भए पुग्छ।'

उसले भनेजस्तै निकै टाढा त पुग्यो तर, त्यहाँबाट न पर जाने ठाउँ छ न फर्कने बाटो नै।

उसको साहस र आत्मविश्वास उदाहरणीय थियो। उसको जीवन नै धेरैका लागि प्रेरणा बन्नेमा दुई मत थिएन। तर, ऊ किन यसरी हड्बडायो? उत्तर कतैबाट मिल्ने देख्दिन।

भन्थ्यो, ‘दिदी एकदिन प्यारा ओलम्पिक जान्छु। देशको नाम रोशन गर्छु।’

युवकले त मलाई नमज्जाले ढाँटेछ।

*(यो ब्लग लेख्न बस्नुअघि मैले आफैसँग प्रण गरिसकेकी छु - सामाजिक सञ्जालमा जोडिएका साथीहरुले निराशाजनक, एक्लोपन, पीडा र दिक्दारी झल्कने पोस्ट गरेमा टुच्च एउटा मेसेज लेखेर वा ‘बलियो बन’ भनेर टार्ने छैन। म सम्बन्धित व्यक्तिसँग कुरा गर्नेछु। समस्या सुन्नेछु र उसलाई त्यो अवस्थासँग लड्न, सम्हालिन आवश्यक सहयोग गर्नेछु।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell