सन् २०१६, सेप्टेम्बरमा जम्मु कश्मिरस्थित उरीमा हमला भयो। त्यहाँको सैन्य अखाडामा भएको उक्त हमलामा १९ सैनिक मारिए। घटनाले जम्मु कश्मिरमा बल्झिरहने घाउमा नुनचुक छर्यो।
त्यही घटनामा आधारित फिल्म बन्यो ‘उरी : द सर्जिकल स्ट्राइक’। सन् २०१९ को जनवरीमा फिल्म प्रदर्शनमा आयो। तर, कश्मिरका लागि होइन। आफ्नै ठाउँले भोगेको पीडादायी कथाको नाटकीय रुपान्तरण जम्मु कश्मिरकाले हेर्न पाएनन्।
सन् १९६४ मा बनेको शमी कपुर र सर्मिला टैगोरको प्रेमकथामा आधारित फिल्मको नामै थियो – कश्मीर की कली। कश्मीर की कलीदेखि उरी सम्म आइपुग्दा धेरै बलिउड फिल्म कश्मिरमा छायाँकन भए। तर, तीमध्ये एउटा पनि फिल्म जम्मु कश्मिरमा प्रदर्शन भएका छैनन्। सन् १९८९ मा कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी भएपछि सर्वाधिक असर पर्यो फिल्म इन्डस्ट्रीलाई पनि। फिल्म प्रदर्शनमा अघोषित प्रतिबन्ध लाग्यो। फिल्म हेर्न जानु भनेको ‘गैर इस्लामिक’ मानियो।
समयसँगै फिल्म हेर्नु साँच्चै धर्म विरोधी हो भन्ने मान्यता स्थापित हुँदै गयो। परिणाम सकारात्मक हुने कुरै रहेन। एकपछि अर्को गर्दै कश्मिर उपत्यकाका फिल्म हलहरु बन्द हुँदै गए।
ठीक एक दशकपछि, अर्थात् सन् १९९९ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी बस चढेर पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग शान्ति सम्झौता गर्न पाकिस्तान गएपछि परिस्थिति केही फेरियो। राज्यकै सहयोगमा श्रीनगरका तीन फिल्म हलहरु- रेगल, नीलम र ब्रोडवे पुन: सञ्चालनमा आए।
सन् १९४७ मा ब्रिटिसबाट मुक्त भएसँगै छुट्टिएका भारत र पाकिस्तानबीचको सम्बन्धमा कहिले पनि सुधार आएन। यी दुई राष्ट्रबीच तिक्तताको केन्द्रमा रह्यो कश्मिर।
तिक्तताबीच अल्झिएको राज्यमा मनोरञ्जनले किन ठाउँ पाउथ्यो?
केही समयमै रेगल र ब्रोडवे हलहरु आतंकवादी हमलाको तारो बन्यो। सन् २००१ मा श्रीनगरस्थित कश्मिरको विधानसभामा आक्रमण हुँदा ३८ जना मारिए। त्यतिखेरै ध्वस्त पारिएका हुन् दुई वर्षअघि मात्र सञ्चालनमा आएका ती हलहरु।
नीलम हल भने सन् २००५ सम्म जेनतेन चल्यो।
सोही वर्ष सेप्टेम्बरमा करिब ७० जना कश्मिरी दर्शक आमिर खान अभिनित ‘मंगल पाण्डे’ हेर्दै थिए। ठीक त्यसै समय आत्मघाती विष्फोटका लागि आएका विद्रोही समूह र प्रहरीबीच मुठभेठ भयो।
उक्त घटनापछि स्थानीय दर्शकमा ‘ज्यान प्यारो छ भने फिल्म हेर्न नजाउ’ भन्ने संदेश प्रवाह भयो।
मानिसको जीवनशैलीसँग जोडिएका समस्या, राजनीति र समाजसँग सम्बन्धित, आतंकवाद र त्रास लगायत धेरै विषय थिए कश्मिरले भोगिरहेका। त्यसैले फिल्म वा कलाको अन्य कुनै विषयले महत्व नपाउनु स्वभाविक थियो। हल बन्द हुनुले कसैलाई पनि प्रत्यक्ष असर गर्ने अवस्था थिएन। फिल्म हललाई राज्यले नै सहयोग गरेकाले यो कसैको रोजी रोटीसँग जोडिएको विषय पनि बनेन।
पछिल्लो समय भारत पाकिस्तान चल्ने रेलमा भएको आक्रमणदेखि भारतद्वारा पाकिस्तानी कश्मिरमा भएको सैन्य कारवाही 'सर्जिकल स्ट्राइक'को आरोप हुँदै २०१९ मै कश्मिरको पुलवामामा भएको विस्फोटसम्म। यी सबै घटनाक्रमले प्रत्यक्ष प्रभाव पार्यो त्यहाँको कला, साहित्य र सिनेमाको विकासमा।
बरु कश्मिरको मुद्दा, परिवेश, संस्कृतिलाई बलिउडले आफ्नो विषय बनायो। देखायो। बक्स अफिसमा सर्वाधिक कमाइको रेकर्ड राख्यो। यो सबै भइरहँदा स्वतन्त्र भनिएकै राज्यमा भने तनाव जारी थियो।
तनावबीच २०१९ कै मार्चमा सेन्ट्रल रिजर्भ पुलिस फोर्सले अनन्तनगस्थित हेभन सिनेमा सञ्चालनमा ल्यायो। त्यहाँ शाहिद कपूर अभिनित ‘बत्ती गुल मिटर चालु’ प्रदर्शन भयो। दर्शकहरुको उत्साहजनक सहभागितापछि अमिताभ बच्चन अभिनित ‘कालिया’ पुन: प्रदर्शन भयो। जुन फिल्म सन् १९९१ मा सार्वजनिक भएको थियो। हल स्थापना र यी दुई फिल्म प्रदर्शनीले भयंकर परिवर्तन गराएन।
सन् २०१७ मा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले देशमा रहेको फिल्ममाथिको प्रतिबन्ध फुकुवा गरे। त्यहाँका जनतमा ३५ वर्षपछि फिल्म हेर्न पाउनुको खुशी छायो।
यही खबरको सकारात्मक प्रभाव पर्यो जम्मु कश्मिरका मुख्य मन्त्री मेहबुब मुफ्तीमा। उनले कश्मिरको अघोषित फिल्म प्रतिबन्ध फुकुवा हुने संकेत गरे। तर कुनै परिवर्तन भने देखिएन।
पछिल्लो राजनीतिक उतारचढावले त झन् जम्मु कश्मिर भारतको विशेष राज्य रहेन। भारतीय संविधानको धारा ३७० अन्तर्गत जम्मू कश्मिरले पाएको विशेष राज्यको दर्जा खोसियो। फिल्म हल नभएको यो राज्यको पहिलेजस्तो अब आफ्नै झण्डा र संविधान समेत हुने भएन।
५ अगस्ट, सोमवार नरेन्द्र मोदीको सरकारले जम्मू कश्मिरलाई दिएको उक्त दर्जा खोसे।
लगत्तै संविधानको धारा ३५'ए' पनि समाप्त भयो जस अन्तर्गत जम्मू कश्मिरका नागरिक बाहेक अन्य राज्यका नागरिकले त्यहाँ घर जग्गा खरिद गर्न पाउँदैनथे। मोदी सरकारले जम्मू कश्मिर र लद्दाख गरी दुई भागमा विभाजित गर्यो र दुवैलाई स्वतन्त्र राज्य नभइ तत्काल केन्द्र शासित प्रदेश बनाउने निर्णय गर्यो।
विभिन्न पक्ष र कोणबाट यस निर्णयको फाइदा बेफाइदाबारे चर्चा र विवाद जारी छ। बलिउड अछुतो रहने कुरै भएन। भलै भारतको फिल्म नगरीको ठूलो हिस्सालाई सरकारको निर्णय फाइदाजनक हुने अनुमान तथा टिका टिप्पणी सुरु भएको छ।
फेनिल सेताले व्यक्त गरेको विचारमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कश्मिरमा फिल्म हल निर्माण पहिलो चुनौती हुने बताएका छन्।
उनले बलिउड हंगामाका लागि लेखेका छन्, ‘तत्काल अवस्थालाई सामान्य बनाएर त्यहाँका जनतालाई खुशी बनाउनु पर्छ। जसका लागि फिल्म महत्वपूर्ण विधा हो।’
उनले थप लेखेका छन्- हल बन्द भए पनि टिभी, इन्टर्नेट र पाइरेसी गरिएका डिभिडीहरुमार्फत् फिल्म हेर्ने कश्मिरका जनताका लागि खुशीको विषय हुनेछ।
बजरङ्गी भाइजान, जब तक है जान लगायत फिल्म छायाँकन ताका स्थानीयले गरेको स्वागत सर्हानीय छ।
नब्बेको दशकदेखि हल नदेखेको कश्मिरीमा छुट्टै रौनक छाउने छ। उनीहरुमा पनि अन्य भारतीयमा जस्तै कला प्रेम छ, मनोरञ्जनको भोक छ।
फिल्म उनीहरुको लागि वर्षौदेखिको राजनीतिक र आतंकवादको तनाव भुलाउने माध्यम बन्न सक्छ।
यो सब सहज नभए पनि निकै आवश्यक रहेको उनको तर्क छ। जसको लागि सुरक्षा र पहुँच सुनिश्चित गरिनु पर्छ।
यसैबीच नरेन्द्र मोदीले पनि कश्मिरमा फिल्म छायाँकनका बारेमा बोलेका छन्। उनले भने, ‘अब जम्मु कश्मिरको अवस्था स्थिर हुनेछ। त्यहाँ पहिलेजस्तै फिल्म छायाँकनले निरन्तरता पाउनेछ। बलिउड र अन्य भाषाका मात्र होइन विदेशी फिल्म छायाँकनका लागि पनि त्यो ठाउँ शान्त र सुरक्षित बन्नेछ।’ उनले फिल्म छायाँकन सँगै स्थानीयमा बढ्ने रोजगारी र व्यवसायको पनि चर्चा गरे।