PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

३ लाख २६ हजार घुस रकमसहित वन अधिकृत पक्राउ



३ लाख २६ हजार घुस रकमसहित वन अधिकृत पक्राउ
प्रतीकात्मक तस्बिर

डोटी: ३ लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। काम गरिदिएबापत वन उपभोक्ता समितिबाट घुस लिएको उजुरीका आधारमा सहायक वन अधिकृत डिसीलाई कञ्चनपुरस्थित आयोगको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ भाँतकाँडाबाट नियन्त्रणमा लिएको हो।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुस रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका १ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन्। 

किरणले भने, 'यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसीजीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो।' तर, किरणले कुन काम विशेष र के का लागि रकम बोकेका हुन त्यो भने खुलाएका छैनन्। किरण निर्माण व्यवसायी पनि हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरे। उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell