एउटा कुर्सीमा छ बुढो डाक्टरको टाउको। उसको दाहिने हात आफ्नै दाहिने कञ्चटतर्फ तेर्सिएको छ र हातमा बन्दुक पनि। उनी हुन् डाक्टर हरिहर सिग्देल। उनले केहीबेर अघिमात्रै आत्महत्या गरेको हुन्, आफ्नै कञ्चटमा गोली हानेर।
अर्को कोठामा छट्पटी भइरहेको छ डाक्टर अतुल चौलागाईंलाई। प्रहरी जवानहरु उनलाई लासको छेउमा जान र उनको जबरजस्तीलाई नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छन्।
आत्महत्या भएको घटनास्थलमा अनुसन्धान भइरहेको छ। यस्तैबीच प्रहरीका सइ बोल्छन्-
‘...मैले नबुझेको कुरा नि सर, डाक्टर हरिहर सिग्देललाई आत्महत्या गर्नुपर्ने आवश्यकता नै के थियो होला र? समाजमा त्यत्रो इज्जत थियो, साराले मानेका मान्छे। घर थियो। धन…’
सइले इन्स्पेक्टरसँग सोधेको प्रश्नले मलाई पनि घोच्यो। एकाएक मलाई भर्खरै आत्महत्या गरेका किशोर युवक लामाको सम्झना भयो। उसको मृत्युको खबरले मलाई नमीठो गरी बिथोलेको थियो। आत्महत्या आवश्यकता कि बाध्यता? आफैलाई मार्ने कायर कि साहसी? अनि चर्चा, इज्जत, पैसा, आफ्ना मान्छे के नपुगेर आत्महत्या गर्छ मान्छेले?
प्रहरीका सइले आत्महत्यालाई आवश्यकतासँग जोडेर प्रश्न गर्दैगर्दा इन्स्पेक्टरले जवाफ दिए - ‘कोही मानिस जन्मदेखि बहुला हुन्छन्। कोही उमेरका साथ बहुला बन्दै जान्छन्। पहिलोको उपाय छैन। दोस्रोको थाहै पाइँदैन, जस्तो कि हाम्रो डाक्टर।’
इन्स्पेक्टरको जवाफले त मानसिक अस्वस्थता पो संकेत गर्यो। मलाई पुन: युवकको याद आयो, जो केहीअघि मात्रै आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो। उसको फेसबुकमा निराशाजनक पोस्टहरु देख्दा मलाई पनि शंका लागेको हो - सायद भित्रभित्रै उसलाई डिप्रेसनले गाँजेको थियो।
यदि, इन्स्पेक्टरले भनेजस्तै मान्छे उमेरसँगै ‘बहुलाउँदै जान्छ’ भन्ने त्यो भाइ त्यही सूचीमा पर्छ। जसको मानसिक अवस्था उमेरका साथ बिग्रिँदै गयो। किनकि, त्यसअघि त उसले साहस र आत्मबलको थुप्रै कथा लेखाइसकेको थियो। एक खुट्टाकै भरमा साइकल चढेर देश भ्रमणदेखि सपाङ्हरुसँगको प्रतियोगितामा मेडल विजयसम्म।
उसको आत्माहत्याको पिरलोबाट ध्यान अन्तै मोडुँ भनेर मण्डला थिएटरमा नाटक ‘मीमांसा’ हेर्न गएको थिएँ। त्यहाँ पनि कथा आत्महत्याकै। डाक्टरले आत्महत्या गर्छन्। त्यहाँ देखिन्छन्, अनुसन्धानका लागि पुगेको प्रहरी टोली। उनीहरुबीचको संवादले त मलाई फेरि त्यही घटना सम्झायो।
तर, जब डाक्टर हरिहर सिग्देल र उनको सहकर्मी अतुलको खोजको कथा अघि बढ्छ तब फरक प्रश्नहरुको गुजुल्टोमा पुर्याइदिन्छ। त्यहाँ दर्शक आत्महत्या होइन, आत्माको अस्तित्वको जिज्ञासामा केन्द्रित हुन थाल्छन्।
डाक्टर र प्रहरी दुई फरक चरित्र, फरक प्रवृत्ती र फरक सोचको रुपमा उभ्याइएको छ नाटकमा। दुवैले आत्महत्या वा मानसिक समस्यालाई फरक कोणबाट हेर्छन्, दुवैको विश्लेषण पनि फरक छ। प्रहरीले आत्महत्यालाई पागलपनको नतिजा भन्छन्। डाक्टरहरु भने आत्महत्यालाई मनोवैज्ञानिक खोजीको प्रक्रिया मान्छन्। यसले आत्मामा विश्वास गर्ने र नगर्नेबीचको फरक मत इंकित गर्छ।
सोही दिशातर्फ दर्शकको सोच मोड्न, सेटमा दुई फरक दराज राखिएका छन्। दुवैमा मानिसको मुहारको आकृति छ। अर्थात्, दुई फरक मानिस। एउटाभित्र सजाएर राखिएका किताबहरु र अर्कोमा ब्रान्डेड रक्सी। अर्थात्, दुई फरक मानिसको फरक मनोदशा। दुवैले एकअर्कालाई हेरेका छन्। तर, देखेका छैनन्। देखेका छन् भनेपनि ठम्याउन नसक्नेगरी धमिलो छ दृश्य। किनकि दुई मुहारको आकृतिबीच एउटा चक्रको चित्र छ। चित्रको सुरुवाती र अन्तिम बिन्दु कुन हो, बुझ्न मुश्किल पर्छ।
आत्मा हुन्छ या हुँदैन? यो प्रश्नको जवाफ सायद त्यही गञ्जागोल चक्रभित्र छ। तर, बिल्कुल अस्पष्ट।
त्यही अस्पष्टता दुर गर्ने योजना बनाउँछन्, डाक्टर हरिहर। मान्छे मरेपछि शरीर सकिन्छ तर आत्मा जिवित रहन्छ भन्ने निश्कर्षमा पुगेका हुन्छन्, उनी। त्यही निश्कर्ष पुष्टि गर्न आत्महत्याको बाटो रोज्छन्। माध्यम - मृत व्यक्तिको आत्मालाई सम्मोहित (हिप्नोटाइज) गरी जीवित व्यक्तिमा ल्याउनु। र, विभिन्न रहस्य पत्ता लगाउनु।
रहस्य दरबार हत्याकाण्ड, ३३ किलो सुन काण्ड, निर्मला पन्तको बलात्कारीपछि हत्या जेसँग पनि सम्बन्धित हुनसक्छ।
रहस्यहरुको गाँठो खोल्नका लागि आफैलाई मार्न त मार्छन् डाक्टरले। तर, उनले चाहेजस्तै सम्मोहन सम्भव हुन्छ त?
मनोवैज्ञानिक खोजलाई पागलपनमात्र देख्ने प्रहरी प्रशासन बाधक बन्छ। खोज पत्ता लाग्छ या लाग्दैन? यसको जवाफ पनि नाटकको सेटको केन्द्रमा रहेको सोही चित्रको चक्रजस्तै अस्पष्ट हुन्छ।
दर्शक पात्रहरुको त्यही अस्पष्टतामा हराउँछन्।
शंकर लामिछाने लिखित कथा ‘आत्माको मीमांसा’लाई नाट्य रुपान्तरण र निर्देशन गरेका हुन् प्रवीण खतिवडाले।
लामिछानेले त कथा नेपाली परिवेशजस्तो लाग्ने गरी लेखेकै थिएनन्। उनको कथामा पात्रहरु क्रिष्टमसको रात, डिनर गर्दै ज्याज संगीत सुनिरहेका हुन्छन्। पात्रहरु डाक्टर सैन्डर्स र अल्बर्ट चेपम्यान हुन्छन्। कथा पढ्दै गर्दा लाग्छ यो कुनै विदेशी परिवेशमा आधारित कथा हो।
सायद, कथामा उनले जति परसम्म सोचेका छन् त्यति पर देखेका थिएनन्, नेपाली समाजलाई। उनले आत्मा, मनोरोग र मनोवैज्ञानिक खोजको यो कथा लेख्दै गर्दा हाम्रो समाज मानसिक अस्वस्थता भएको व्यक्तिलाई ढुङ्गाले हानेर लखेट्थ्यो वा साङ्लोले बाँधेर राख्थ्यो।
त्यही कथालाई नेपाली परिवेश, पात्र र पृष्ठभूमि दिएका छन् प्रवीणले। केही परिवर्तन र नयाँ प्रयोग पनि गरेका छन्। कथाको सुरुवाती दृश्य नाटकमा छैन जहाँ आफ्नो कथाकार काकाको पर्खाइमा हुन्छन् बालबालिका। ती काका प्रहरी हुन्छन्, डाक्टरको आत्महत्याको केसमा खटिएका।
त्यस्तै, लामिछानेले हिप्नोटाइज जनाउन शब्द ‘मनोबल’को प्रयोग गरेका थिए। जसको अर्थ आत्मिक सामर्थ्य वा शक्ति हुन्छ। खतिवडाले भने नाटकमा शब्द ‘सम्मोहन’ शब्दको प्रयोग गरे। जसको अर्थ कसैलाई आफ्नो बसमा पार्नु।
प्रश्न उठ्छ - निर्देशक खतिवडा स्वयमले चाहिँ आत्माको शक्तिमा विश्वास गर्छन् वा गर्दैनन्? गर्छन् भने किन कथाको केन्द्रीय शब्दको बदलामा अर्को शब्द खोजे।
प्रश्नबीच उनको निर्देशकीय कुशलताले दर्शकको संवेदना जित्छ। दर्शक पात्रहरुसँगै आत्माको खोजी गर्छन्। डाक्टर हरिहरले अतुललाई लामो सास फेर्नु भन्दैगर्दा दर्शक पनि उसै गर्छन्।
निर्देशकीय पाटोलाई थप बलियो बनाउन भरपूर सघाएका छन्, कलाकारहरुले। वर्षौंपछि अभिनयमा फर्किएका सुनिल पोखरेल र उनीसँगै केन्द्रीय भूमिकामा रहेका राजकुमार पुडासैनीले पात्रहरुलाई जिवन्त बनाएका छन्।
नाटकको दृश्य अनुरुप संयोजन गरिएको प्रकाशले पात्रहरुको मनोदशा चित्रण गर्छ। चेतन, अवचेतन र अचेत फरक फरक मानसिक अवस्थामा रहँदा बल्ने फरक रङ्का प्रकाशहरु, जस्तै- सम्मोहन भइरहँदा बल्ने रातो बत्ती जसले केही अस्वभाविक भइरहेको जनाउँछ।
सेटको पछिल्लो भागमा ठूलो ऐना छ। त्यो ऐनामा दर्शक प्रतिविम्वित हुन्छन्। अर्थात्, मञ्च र पात्रहरुमा दर्शक प्रतिविम्वित हुन्छन्। दर्शक अर्थात्, समाज र सयौं मनोदशा।
सेटको बीचमा खाल्डो छ। त्यो खाल्डोमा रहँदा प्रहरीहरु पनि अन्यौलमा पर्छन्। डाक्टर सिग्देलको सम्मोहनको प्रयोग पनि त्यही खाल्डोमा हुन्छ। अर्थात्, त्यस खाल्डोमा रहँदा पात्रहरुमा पूर्ण चेत छैन। सेटमा गरिएको यो प्रयोग उदाहरणीय छ। जसमा थप अर्थ राख्छ त्यहाँभित्र बल्ने प्रकाशले। पात्र अचेत अवस्थामा रहँदा पनि त्यहाँ केही उज्यालो हुन्छ। मतलब अचेत अवस्थाका विचारहरु पनि प्रभावशाली हुन्छन्। ती विचार कुनै मौकामा माथि आउँछन्। तिनले हाम्रो इन्द्रीयहरुमा पनि नियन्त्रण राख्छन्।
निकै गम्भीर विषय उठान र गहन प्रस्तुतिबीच नाटकमा प्रहरी पात्रले ‘सिच्वेसनल कमेडी’ गर्छन्।
नेपाल प्रहरी एकपछि अर्को काण्डको अनुसन्धानदेखि दोषी पत्ता लगाउने कार्यमा चुकेको छ। प्रहरी संयन्त्रमाथि जनताको विश्वास गुम्दै गएको छ। त्यस्तो अवस्थामा प्रहरीको कमेडीलाई व्यङ्ग्य मान्न सकिन्छ। मानौं उनीहरुले नेपाल प्रहरीको प्रतिनिधित्व गरेका छन्। र, डाक्टरहरु पूरा नेपाली समूदायको प्रतिनिधि हुन्। जो मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्याकाण्डको दोषी खोइ? भन्दै ठूल्ठूलो स्वरमा प्रश्न गरी रहेका छन्।
तर, सबै हाँस्य संवाद घटना र परिवेश सुहाउँदो लाग्दैन। मानिसको हत्या भएको ठाउँमा पुगेका जिम्मेवार पुलिस इन्स्पेक्टर त्यति सहज र सतही प्रस्तुत कसरी हुन सक्छ?
यस्तै, तमाम प्रश्नहरुलाई शब्दमा उतार्दै गर्दा पत्रकार शालिग्राम पुडासैनीको आत्महत्याको प्रसङ्ग चर्किएको छ। उनले मर्नु अघि खिचेको भिडियोमा आत्महत्यालाई बाध्यता भनेका छन्। तर, बाध्यताले मात्र मान्छेलाई मर्न डोहोर्याउँदैन, यो सत्य हो। त्यहाँ वातावरण र मानसिक अस्थिरताले भूमिका खेल्छ भन्ने पुष्टि गरेका छन् उनी स्वयंले।
सार्वजनिक केही खबरमा उनले खाँदै आएको ‘डिप्रेसन’को औषधीका फोटोहरु छन्। आफूलाई चिन्ता, डर र इज्जत गुम्ने डरले सताएको भन्दै लेखेका मेसेजहरु सार्वजनिक भएको छ।
उनले आफ्नो आत्महत्याको कारक भन्दै केही व्यक्तिको नाम दिएका छन् जसले सामाजिक सञ्जालदेखि चिया पसल, अखबार हुँदै कफी स्टेसन तताएको छ। विवादास्पद् वातावरण सिर्जना भएको छ। मान्छेको भिड दुई दिशातर्फ छुट्टिएको छ, नाटकको दुई फरक आकृतिजस्तै। अनुसन्धानमा वाधा सिर्जना गर्न खोजिएको छ डाक्टर अतुलको सम्मोहनजस्तै।
यदि, सम्मोहन सम्भव हुन्थ्यो र शालिग्रामको आत्म बोल्थ्यो भने सायद् देशको धेरै जनसङ्ख्यामा सिर्जित तनाव हट्थ्यो। दोषी पत्ता लाग्थ्यो। अवस्था केही शान्त हुन्थ्यो।
फोटोहरु: राजन काफ्ले