
हङकङ सरकार विरुद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले फेरि वृहत प्रदर्शन गरेका छन्। चीनको कडा चेतावनी पश्चात पनि करिब एक लाख प्रदर्शनकारी आइतवार सडकमा ओर्लिएको बीबीसीले जनाएको छ। दैनिक रुपमा भइरहेको प्रदर्शन उग्र हुने र प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहने भएपनि आज भएको प्रदर्शन भने शान्तिपूर्ण रहेको बताइएको छ। प्रदर्शनकारीहरुले हङकङको संसद बाहिर, भिक्टोरिया पार्क, मुख्य राजमार्ग लगायतका स्थानमा धर्ना दिइरहेका छन्।
करिब दुई महिना अघि हङकङ सरकारले मेनल्यान्ड चाइनामा सजिलै बन्दी सुपुर्दगी गर्न त्यहाँको संसदमा सुपुर्दगी विधेयक दर्ता गराएपछि हङकङमा विरोध सुरु भएको थियो। आन्दोलन उग्र बन्दै गएपछि हङकङ सरकारले विधेयक स्थगन गरेको थियो। तर, प्रदर्शनकारीले भने विधेयक स्थगनमात्रै नभइ फिर्ता हुनुपर्ने र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने भन्दै सडक संघर्ष गरिरहेका छन्।
हाल प्रदर्शन गरिरहेकाहरुले हङकङलाई चीनबाट स्वतन्त्र बनाउने पक्षधरका रहेका छन्। उनीहरुले चीनको हङकङप्रति 'एक देश, दुई व्यवस्था' नीति रद्द गर्नेुपर्ने माग गर्दै आएका छन्।
तर, चीन भने हङकङ आफ्नो अभिन्न अंग भएको भन्दै 'एक देश, दुई व्यवस्था' नीतिको विरोध गर्नेहरु विरुद्ध कडा कारवाही गर्ने पक्षमा रहेको छ।प्रदर्शनकारीले हङकङको संसद कब्जामा लिएर तोडफोड गर्नुका साथै चिनियाँ झण्डा र चिनियाँ कार्यालयमा आक्रमण गरेका थिए। चीनले उक्त घटनालाई आतंकवादको संज्ञा दिँदै हङकङको अवस्था नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना परिचालन गर्न सक्ने चेतावनी दिएको छ। यद्यपि, प्रदर्शनकारीहरुले दैनिक रुपमा हङकङका विभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आएका छन्।
केही दिन अघि विश्वकै अति व्यस्त मानिने हङकङ विमानस्थलमा प्रदर्शनकारीहरु प्रवेश गर्दै धर्ना दिएपछि दुई दिन सम्म हवाइ उद्यान ठप्प भएको थियो। यस्तै हङकङको चार्टर गार्डेनमा हजारौं मानिस कालो कपडा लगाएर सडकमै धर्ना बस्दै उनीहरुले अमेरिका र बेलायतलाई हङकङको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए। चीनले भने हङकङ आफ्नो आन्तिरक मामिला भएको भन्दै विदेशी शक्तिलाई हङकङमा हस्तक्षेप गर्न नदिने बताउँदै आएको छ।