PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

दाङका ३५ वडा बाढीको उच्च जोखिममा, १५ वडामा साइरन जडान गरिँदै



दाङका ३५ वडा बाढीको उच्च जोखिममा, १५ वडामा साइरन जडान गरिँदै
फोटो : गुगल इमेज ।

घोरही : दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा रहेका छन्।

चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गर्ने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ।

दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ। पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ। अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासन क्षेत्रसमेत सचेत बनेको देखिन्छ।
 
जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए। अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उनले बताए। “अहिले हामीसँग तत्काल राहतका लागि तीन करोड रुपैयाँ बचत छ”, उनले भने, “स्थानीय निकायले पनि १० लाखदेखि एक करोड रुपैयाँसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन्।” 

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि एक करोड ३४ लाख रुपैयाँ छुट्याएको छ। उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताए। उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell