PahiloPost

Jul 4, 2025 | २० असार २०८२

दिल्लीमा 'हाई प्रोफाइल ड्रामा' : गेट नखुलेपछि पर्खाल नाघेर सिबिआइद्वारा पूर्व अर्थमन्त्री पी चितम्बरम पक्राउ



दिल्लीमा 'हाई प्रोफाइल ड्रामा' : गेट नखुलेपछि पर्खाल नाघेर सिबिआइद्वारा पूर्व अर्थमन्त्री पी चितम्बरम पक्राउ
फोटो :NEWS18

नयाँ दिल्ली : भारतीय कांग्रेसका वरिष्ठ नेता पी चितम्बरमलाई सिबिआइले पक्राउ गरेको छ। भष्ट्राचार अभियोगमा सिबिआइको टोली पक्राउ पूर्जी सहित जोरबागमा रहेको उनको घर पुगेको थियो। तर, उनको घरको गेट नखुलेपछि सिबिआइका अधिकारी र प्रहरी पर्खाल र गेट नाघेर घर भित्र प्रवेश गरेका थिए।

घर भित्र प्रवेश गरेपछि चितम्बरमसँग सिबिआइका अधिकारीहरुले करिब आधा घण्टा सोधुपछ गरेको थियो। उनीसँग सोधपुछ भइरहेको बेलामा घर बाहिर कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरे। यस्तै कांग्रेस र भाजपाका कार्यकर्ताबीच झडप पनि भएको थियो। सोधपुछपछि चितम्बरमलाई पक्राउ गरी सिबिआइ मुख्यालय लगिएको छ। 

 

 

भारतका अर्थ मन्त्री र गृह मन्त्री रहिसकेका चितम्बरम कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।  

आईएनएक्स मिडिया केसमा चितम्बरमले दिल्ली उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएका थिए। तर अदालतले उनको निवेदन अस्वीकृत गरिदिएपछि सिबिआइ र इन्फोर्समेन्ट डाइरेक्टर (इडी)ले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।  सिबिआइले दुई घण्टाभित्र चितम्बरमलाई हाजिर हुन भनेको थियो।

तर, अदालतले फैसला सुनाएपछि उनी २७ घण्टा वेपत्ता रहेका थिए। सम्पर्क बिहीन भएपछि भारतीय जनता पार्टीले उनी भागेको आरोप लगाएका थिए। यद्यपि, बुधवार बेलुकी उनी कांग्रेस कार्यलयमा उपस्थित भइ आफू निर्दोष भएको दाबी गरेका थिए। उनले आफू कतै नभागेको र सर्वोच्चमा जमानत दाखिल गर्ने प्रयासमा रहेको बताएका थिए। कांग्रेस कार्यालयबाट आफ्नो घर फर्के लगत्तै सिबिआइ उनलाई पक्राउ गर्न उनको घर पुगेको थियो।

आईएनएक्स मिडिया घोटालामा उनलाई 'प्रमुख योजनाकार' का रुपमा प्रस्तुत गरिएको थियो। अदालतले उनको जमानतको निवेदन खारेज गर्दै उनीसँग यस विषयमा बयान लिनुपर्ने फैसला सुनाएको थियो। अदालतले यस मुद्दालाई आर्थिक हिनामिनाको 'क्लासिक केस' भन्दै जमानत दिए यसले समाजमा गलत सन्देश जाने निर्णय सुनाएको थियो।

सन् २००७ मा अर्थमन्त्री रहँदा उनको कार्याकालमा आईएनएक्स मिडियाले विदेशबाट ल्याएको ३०५ करोडलाई फरेन इन्भेष्टमेन्ट प्रोमोसन बोर्डले निकासी स्वीकृत गरेको थियो। यसै विषयमा उनीविरुद्ध सिबिआइ र इडीले आर्थिक अपचलनको मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell