
सुर्खेत: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र फर्केर आउने सम्भावना नभएको दाबी गरेका छन्। आज नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा उद्घाटन गर्दै नेता पौडेलले उक्त भनाई राखेका हुन्।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षणमा पौडेलले भने, 'नेपाली कांग्रेसले आफ्नो भूमिका संझन जरुरी छ। हिजो जनताले कम्युनिष्टलाई मत दिए। आज उनीहरुले परिवर्तन खोजेका छन्। तर नेपाली कांग्रेस पार्टीलाई पनि हामीले भरोसा गर्न लायक बनाउन सकनौं। राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै हो।'
नेता पौडेलले महाधिवेशन प्रतिनीधि महासमिति सदस्यहरु सबै अनुभवी भएकाले प्रशिक्षण भन्दा पनि उत्साह चाहिएको बताए। उनले दुई तिहाईको सरकारले बहुमतको उपयोग गर्न नसकेको आरोप लगाए। 'प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएर देश संकट तर्फ जाँदै छ भनेर जानकारी दिनुभयो। तर दुईतिहाईको सरकार प्रखर नेताहरुले चलाएका बेलामा कसरी देशलाई संकट आयो। उनीहरुले दुई तिहाई बहुमतलाई उपयोग गर्न सक्नुभएन।'
कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउने बेला आइसकेको उल्लेख गर्दै नेता पौडेलले थपे, 'अहिले जनतााले पत्याएको कांग्रेसलाई होइन कम्युनिष्टलाई नै हो। तर अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ। यो बेलामा हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ। हाम्रा क्रियाकलाप सुधार गर्न जरुरी छ। हिजो के कारणले जनताले विश्वास गर्न सकेनन्। त्यो कारण सच्याएर जनताको विश्वास योग्य पार्टी बनाउन आवश्यक छ।'
यस्तो बेला कांग्रेसजन देउवा र पौडेल भनेर लाग्न नहुने पौडेलको आग्रह थियो। भने, 'नेपाली कांग्रेस भनेर हिड्नुस। पौडेल, देउवाको भनेर होइन।'
कर्णालीमा विकासको सम्भावना भएपनि कम्युनिस्ट सरकारका मन्त्रीहरुले उद्घाटनबाहेक केही नगरेको उनको आरोप थियो। पौडेलले प्रश्न गरे, 'कर्णालीको विकासका लागि कृषि क्रान्ति, पर्यटनको विकास र उर्जा शक्तिको विकास गर्न जरुरी छ। यही संभावना देखेर नै हामीले पूर्वाधार तयार गरेका छौ। अहिले सरकारमा रहेका कम्युनिष्ट नेताहरु पूर्वधार तयार गर्नुभन्दा हामीले गरेका योजनाको उद्घाटन गर्नमा व्यस्त हुनुहुन्छ। अहिलेको सरकारसँग खै योजना?'
राजनीति रुपमा पनि कम्युनिष्टहरुले नेतृत्व गर्न नसकेको उल्लेख गर्दै पौडेलले कम्युनिस्टसँग खुलेर बहस गर्ने बेला आइसकेको बताए। भने, 'उहाँहरु सत्ता केन्द्रीत राजनीति गर्न लाग्नुभएको छ। प्रशासन हातमा लिएर जनतालाई दुख दिन खोजेको आभास हामीलाई भएको छ। कम्युनिष्टहरु संग खुलेर बहस गर्ने बेला आइसक्यो। उनीहरुले हिजो के बोले आज के गरे?'