![टक्करविहीन संसार: विभेदको सामाजिक ऐना](https://pahilopost.com/assets/upload/contentthumb/69134160_2312165215563556_3622104452254662656_n.jpg)
बाहिर पानी परिरहेको छ। वर्षाका कारण हुनसक्छ निर्वाणा क्याफेमा मानिसको चहलपहल छैन। ग्राहक नआउनुको फाइदा उठाएका छन् क्याफेका कर्मचारी सोमबहादुर नेपाली र बलबहादुर नेपालीले। क्याफे फोहोर र लथालिंग देखिन्छ तर उनीहरू सरसफाइ नगरी गफमा मस्त छन्। दुबै जना डेढ हप्ता पछाडि रहेको नृत्य प्रतियोगितालाई लिएर तनावमा छन्।
लाग्छ क्याफेको अवस्था र दुई कर्मचारीको मनोदशा उस्तै छ।
त्यही क्रममा हर्षिल क्याफेमा पस्छ। उ क्याफे साहुको छोरो हो। सोम र बलबहादुरसँग उनको सम्बन्ध साहुको छोरो र कामदारमा मात्र सीमित छैन। हर्षिल उनीहरू दुबैको सहारामा हुर्कियो। उमेरले बुबा सरहको सोमसँग अझै निकट रहे हर्षिल। उनले सोमलाई आफूसँगै पढाए, होमवर्क गराए।
आजसम्म पनि उनीहरू बीच पाठ्यक्रममा समेटिएका ज्ञान, विज्ञान, समाज लगायत विषयका कुरा हुन्छन्।
त्यसदिन पनि हर्षिल होमवर्क गर्न थाल्छ। उनको एउटा किताब समाएर बस्छन् सोम। सोही क्रममा दुइबीच आफ्ना लागि विशेष महत्त्व राख्ने 'सामाजिक सुधारवादी' बारे कुरा गर्न थाल्छन्।
र अघि बढ्छ नाटक 'टक्करविहीन संसार'।
सोमले आफ्नो सामाजिक सुधारवादी व्यक्ति अब्राहम लिंकन भएको बताउँछन्।
हर्षिल जवाफ फर्काउँछ,'सोम धेरै इमोसनल नबन। तिमीलाई कसैले पनि दास राखेको छैन। त्यसमाथि हाम्रो देशमा अमेरिकामा भन्दा धेरै पहिले दास प्रथा हटाइएको थियो।'
सोम एकछिन सोचमग्न हुन्छन् र बोल्छन् 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।'
उनको बोली पूरा हुन नपाउँदै हर्षिलले कुरा काट्छ। भन्छ,'अति जान्ने सुन्ने, मैले पढेर सुनाएको मुनामदन मैले बुझेको छैन। तिमी त्यसकै आधारमा विचार बनाउने?'
हर्षिल सोमलाई विचार बनाउन दिँदैन। किनकि उसलाई वैचारिक रूपमा पछि पर्ने, आफू हार्ने वा कमजोर देखिने डर हुन्छ।
‘तिमीलाई कसैले दास बनाएको छैन’ भन्ने उसले कुराकानी गर्दै जाँदा आफूलाई बाबु नभनेर मास्टर वा सर भन्न अह्राउँछ। भन्छ, ‘मेरो बाउ तिम्रो मालिक हो र जातले पनि ऊ तिमीभन्दा ठूलो छ।’
ऊ बोलीमा एउटा र व्यवहारमा अर्कै छ। ज्ञान, आदर्श, सामाजिक कुरा गर्ने कथित माथिल्लो जातको भएर तल्लो जात कहलिएका सोम र बलेसँग नजिक हुनुलाई आश्चर्यको संज्ञा दिन्छ।
हर्षिल समाजमा विद्यमान पाखण्डको प्रतिनिधि हो जो बाहिर समाज रूपान्तरणको चर्को नारा बोल्छ र भित्र जात, वर्ण, धर्म, तह र तप्काका आधारमा विभेदको धर्सा कोर्छ।
सहन बाध्य सोमजस्ता पात्रहरू भने ‘टक्करविहीन संसार’को परिकल्पना गर्दै हुन्छन्। नाटकमा नृत्य प्रतियोगिताको मञ्चलाई संसारसँग तुलना गरिएको छ। जहाँ सोमजस्ता पात्रहरू एकता र आफ्नो जीतको कल्पना गर्छन्। जहाँ कोही कसैसँग ठोक्किँदैनन्।
तर उनीहरूको सहारा र साथको भरपुर प्रयोग गर्नेहरूलाई उनीहरूकै जीत भने सह्य हुँदैन।
नाटकले जातीय विभेदको मात्र कथा भन्दैन मानवताहीन र देखावटी समाजको समेत संकेत गर्छ। हर्षिलले आफ्नो बिरामी बुबासँग गर्ने व्यवहार त्यसको उदाहरण हो।
एथोल फुगर्डले सन् १९८२ मा लेखेको नाटक हाम्रो समाजमा आज पनि सान्दर्भिक छ। परिवर्तनका नारा घन्किए, कानुन बने, दलितसँग विवाह गर्नेलाई पुरस्कारदेखि सम्मानसम्मका खबर छापिए। तर, जातीय विभेदको जरा धरमराएको छैन।
नाटकमा चंगाको प्रसंग जोडिएको छ। सायद त्यो चंगा सोमजस्तै कथित तल्लो जातिहरू हुन् जो उड्दा पनि स्वतन्त्र छैनन्। जसको धागो हर्षिलहरुले सम्हाल्छन्।
सोमले भन्छन् ‘यो झरीमा चंगा उड्दैन’। झरी सामाजिक अवस्थाको प्रतीक हो। जहाँ विभेद, घृणा र अहंकारले रुझेका छन् मानिस।
पहिलोपटक मञ्चन पश्चात् ३४४ सो लगातार देखाइएको थियो नाटक। दक्षिण अफ्रिकीहरुको तत्कालीन संवेदना टपक्क टिपेको नाटक ‘मास्टर ह्यारोल्ड एण्ड द ब्वाइज’लाई ‘टक्करविहीन संसार’ बनाएका हुन् निर्देशन सतीश प्रसाईँले।
नाटकमा कलाकारहरू सन्देश शाक्य, अर्जुन पौडेल र एडेन बात्रीको अभिनय रहेको छ।
गार्डेन थिएटरको प्रस्तुति रहेको नाटक कौसी नाटकघर, टेकुमा हरेक साँझ ५:३० देखि मञ्चन हुन्छ। नाटक भदौ १३ गते शुक्रबारसम्म देखाइनेछ।