PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

'भद्रगोल' टिम यस्तो परिवन्दमा, कपीराइट नहुँदा दर्शकसँग माग्दै सुझाव



'भद्रगोल' टिम यस्तो परिवन्दमा, कपीराइट नहुँदा दर्शकसँग माग्दै सुझाव

काठमाडौं: नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेलिशृंखला भद्रगोल विभिन्न परिवन्दका कारण रोकिएको एक कलाकारले जनाएको छन्।

'भद्रगोल'का एक निर्देशक कुमार कट्टेल 'जिग्री'ले फेसबुकमार्फत शृंखला रोकिनुका कारण प्रस्ट्याएका छन्।

कट्टेलले भनेका छन्, 'बिगत लामो समयदेखि विभिन्न समस्याहरु तथा अवरोधकाबीच आफ्नो कर्मप्रति पूर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं। भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हबबीचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोललाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्‍यौ।'

निरन्तरको प्रयासपछि पनि आफ्नो अधिकार नपाएकाले भद्रगोल टिम अप्ठेरोमा परेको उनले बताएका छन्। उनले थप लेखेका छन्, 'दुर्भाग्यको कुरो भद्रगोलको नाम, डिजाइन, लेखन, निर्माण, निर्देशन गर्ने हामी सर्जकहरुसँग भद्रगोल नामको अधिकार छैन।'

केही वर्षसम्म पारिश्रमिक नपाउदा पनि खटेर काम गरेको उल्लेख गर्दै उनले समयमै पारिश्रमिक नपाउने, पारिश्रमिक उठाउनकै लागि टेलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दा पनि दिगो तरिकाले काम गर्ने वातावरण नदेखिएको गुनासो गरेका छन्।

अबका दिनमा कसरी अघि बढ्ने भनेर कट्टेलले दर्शकबाट सुझावसमेत मागेका छन्। फेसबुकमा उनले लेखेका छन्, 'आजको दिनमा न हामीले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं, न काम गरिरहेकै संस्थासंग काम गर्ने वातावररण छ। यो अवस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ? भगवानरुपी दर्शकहरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell