PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हिन्दु राष्ट्रको मुद्दा चर्को रुपमा उठाउने तयारीमा शेखर कोइराला, व्यवस्थापन गर्न पार्टीलाई आग्रह



हिन्दु राष्ट्रको मुद्दा चर्को रुपमा उठाउने तयारीमा शेखर कोइराला, व्यवस्थापन गर्न पार्टीलाई आग्रह
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आउँदो अधिवेशनमा हिन्दु राष्ट्रको मुद्दा चर्को रुपमा उठाउने बताएका छन्। आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिमा आफ्नो भनाई राख्दै केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले उक्त भनाई राखेका हुन्। 

केन्द्रीय समितिमा उनले भने, 'पार्टीको १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको बिषय चर्को रुपले उठ्छ।  यसलाई कसरी ब्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ।'

बैठकमा उनले धर्मको सवालमा पार्टी संवेदनशील बन्नुपर्ने मागसमेत राखे। कोइरालाले प्रश्न गरे, 'धर्मका सवालमा हामी संवेदनशिल हुन जरुरी छ। राष्ट्रिय जनावर गाई काट्न पाईदैन भन्नु गलत हो? होलीवाईनको बिरोध गर्ने तर संबिधानमा लेखिएको—प्रलोभनमा धर्म परिबर्तन गर्न पाईदैन भन्नु गलत हो?'

सरकार गलत बाटोमा हिँड्दा पनि कांग्रेसले सरकारका गलत कुरा बाहिर ल्याउन नसक्नु कमजोरी भएको उनको भनाई थियो।

केन्द्रीय कार्यसमितिमा डा कोइरालाले राखेको मन्तव्यको सम्पादित अंश: 

१. नेपाली जनता र ब्यावसायीहरु करको चरम मारमा परेका छन्। मुल्यबृद्धि आकासिएको छ। किसानका समस्या दिनानु दिन बिकराल बन्दै गएको छ। भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढिरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो वाईडबडी प्रकरण। जनताले सुशासनको कत्ती पनि अनुभुति गर्न पाएका छैनन्। सरकार आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको छ।
यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ। देशको अर्थतन्त्र ओरालो लागिरहेको छ। प्रधानमन्त्रीज्युले आर्थीक बृद्धि दर ७.५ छ भन्नुभएको छ। तर बास्तविक ६.५ मात्रै छ।
सरकार झुटमाथि झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं।

२. महिला र पुरुषबीचमा नागरिकताको समान हक हुने कि नहुने? नेपाली नागरिकसँग बिहे गरेर आएका बिदेशी महिला वा पुरुषलाई कहिले नागरिकता दिने? आमाको नामबाट नागरिकता दिने कि नदिने? बिदेशीलाई यसरी नागरिकता दिंदा कसरी राष्ट्रिय सुरक्षामा कसरी आँच आउँछ? के यसले राष्ट्रियतामा खतरामा पर्छ? नागरिकताका सवालमा बिभेद नगरौं। २०७५ सम्म विशेशबाट बिहे गरेर आएका महिलाको संख्या ४ लाखको हाराहारीमा छ। गृह मन्त्रालयको रिपोर्ट हेर्ने हो भने २०६४ मा सरकारले २६ लाख ७० हजार नागरिकता वितरण गर्‍यो। वंशजको आधारमा हिमाल र पहाडमा १३ लाख र तराई—मधेसमा १२ लाखले पाए। १ लाख ७० हजारले जन्मसिद्धको आधारमा नागरिकता पाए। नागरिकताका सवालमा अन्तरिम संविधानमा जे छ त्यसैमा कांग्रेस अड्नुपर्छ।

३. सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र,संघीयता,धर्म निरपेक्षता र समावेशितामाथि पूर्व राजा र बिप्लवसमुहबाट खतरा छ भन्यो। तर यिनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाटै खतरा छ भन्ने कुरा बुझ्न जरुरी छ।

४. न्यायलयमाथि जनताको विश्वास घटेको छ। सडकबाटै न्याय माग्न थालिएको छ। लोकतन्त्रका लागि अत्यन्तै खतराको संकेत हो।

५. पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधीहरु र पार्टीकाबीचमा समन्वय पटक्कै छैन। समय सकिएका सबै भातृ संगठनहरुको विधानअनुसार अधिवेशन गरिनुपर्छ। वीपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापति शेरबहादुर देउवाजी ४९/५० वर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेविसंघमा विधानले तोकेअनुसार ३२ बर्षभन्दा मुनिकालाई ल्याउन हामीलाई कसले रोक्यो?
६. महिला संघ डडेल्धुराकी सभापतिलाई स्पष्टीकरण पनी नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाईयो। यसले पार्टीलाई कमजोर बनाउँछ। पार्टीमा गलत नजिर नबसाऔं। केन्द्रमा यसरी अधिवेशन गर्न नसक्ने कति सभापती छन्? तिनलाई किन नहटाएको?

७. जुन विषयमा मैले नोट अफ डिसेन्ट लेखेको छु। त्यो मेरो मुद्दा हो र यसलाई कार्यकर्ता साथीहरुमाझ र महाधिवेसनसम्म लैजान्छु। यो विचारको लडाई हो।
८. यही केन्द्रीय समितिमा मलाई र डा शशांकलाई लक्षित गरेर 'व्यवसाय गर्ने अनि बुवा—आमा—काकाको बिरासतमा राजनीति गर्ने' भनेर भनियो। यसले मलाई दुखी बनाएको छ। म त चाहन्छु केन्द्रीय समितीका साथीहरु पनि केही न केही व्यवसाय गर्नोस र नेबिसंघलगायत पार्टीको सबै तहका क्रियाशिल साथीहरुलाई पनी आत्मनिर्भर र स्वावलम्बनको बाटोमा लैजाऔं।
निरंकुश पंचायतकाबिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटक—पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं। निरंकुसता बिरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंतीमा उभिएका छौं। आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कती जना कहाँ हुनुहुन्थ्यो? हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होईनौं।
९. धर्मका सवालमा हामी संवेदनशिल हुन जरुरी छ। राष्ट्रिय जनावर गाई काट्न पाईदैन भन्नु गलत हो? होलीवाईनको बिरोध गर्ने तर संबिधानमा लेखिएको— “प्रलोभनमा धर्म परिबर्तन गर्न पाईदैन” भन्नु गलत हो?
पार्टीको १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको बिषय चर्को रुपले उठ्छ। यसलाई कसरी ब्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell