PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

भ्वाइसको एउटै प्रस्तुति जसले एकाएक जगायो १७ वर्ष अघिको त्यो गीत



स्वेच्छा राउत

भ्वाइसको एउटै प्रस्तुति जसले एकाएक जगायो १७ वर्ष अघिको त्यो गीत

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो संस्करण सुरु भइसकेको छ। प्रतियोगिताको ब्लाइन्ड अडिसन जारी छ। यस सिजनको तेस्रो श्रृङ्खला (अगस्ट २२) मा चयन भइन्, सिक्किमकी गीता शर्मा।

अरुणा लामाको गीत ‘पोहोर साल खुशी फाट्यो...’ गाउँदै सबै कोचको मन जितिन् उनले। गीताले गाउँदागाउँदै प्रमोद खरेल, आस्था राउत, राजु लामा, दीप श्रेष्ठ सबैले आफ्नो टिममा आउन ग्रिन सिग्नल दिएका थिए।

कार्यक्रमको नियम अनुसार प्रतियोगीले आफ्ना लागि 'कोच' छान्न पाउँछन्। गीता शर्माले पनि सुविधाको उपयोग गरिन्। भनिन् - ‘सबै कोच मेरा लागि सम्माननीय हुनुन्छ। बाँकी निर्णय गीत गाएरै दिन्छु।’

त्यसपछि 'द भ्वाइस अफ नेपाल'को मञ्चमा गुञ्जियो - ‘तिमीलाई देखेर हिमाल हाँसेको, तिम्रो गीत सुनेर...।’

सांगीतिक ब्यान्ड 'मंगोलियन हार्ट'ले सत्र वर्षअघि सार्वजनिक गरेको उक्त गीत गुञ्जन थालेपछि ब्यान्डका गायक राजु लामा त खुशीले कुर्सीमाथि नै उक्लिए। लगत्तै गीतासँगै स्वर मिलाउन मञ्चमै पनि पुगे। सेटमा बजेको ताली र ‘चियर अप’ले गीतको लोकप्रियता झल्कायो। तर, गीतको चर्चा त्यतिमै सीमित रहेन। गीतको ओरिजिनल भिडियोमा बढेको हिट्स अप्रत्याशित रह्यो।

उक्त श्रृङ्खलाअघि भिडियोमा ७० लाख हिट्स थियो। एक साता नबित्दै गीतको भ्युज पुगेको छ ८० लाख। सन् २००२ मा सार्वजनिक भएको थियो म्युजिक भिडियो। म्युजिक नेपालले नै निर्माण गरेको गीतको भिडियो भने सन् २०१२ मा मात्र आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको थियो। 

सात वर्षमा सत्तरी लाख। 'एक साता यता त हरेक दिन एक लाखको रेसियोमा भ्युज बढेको छ,' म्युजिक नेपालको युट्युब डिपार्टमेन्टका एक कर्मचारीले भने।

एघार महिना अघि युट्युब प्रयोगकर्ता विनोद बिन्दासले लेखेका थिए - ‘यति राम्रो गीतमा जम्मा ४१ लाख २५ हजार चार सय भ्युज मात्र रहेछ। के हेर्छन् नेपालीहरु?’

यतिखेर भने भिडियोमा अधिकांश कमेन्ट द भ्वाइस हेरेर आएकाहरुको छ। दुर्लव रायमाझीले लेखेका छन्- ‘भ्वाइस नेपाल हेरेपछि यो भिडियो हेर्न आएको। किन थाहा छैन, उनीहरु दुईजनाले एकसाथ गाउँदा आँखामा आँशु आयो।’

नरेश गिरी लेख्छन् - ‘भ्वाइस अफ नेपाल हेरेपछि यो गीत फेरि खोज्ने म मात्र होइन होला।’

राजु लामाले गाएको गीतको पहिलो लाइन अर्थात् स्थायी योगेश्वर अमात्यले लेखेका हुन्। गायक अमात्यले लेखेका हरफ हो -

'तिमीलाई देखेर हिमाल हाँसेको

तिम्रो गीत सुनेर मुनाल नाचेको
तिम्रो यौवनलाई देखेर पिरती गाँसेको...' 

'यौवन'लाई 'जोवन' बनाइयो।

त्यस्तै, अन्तराहरु भने राजु लामाले नै लेखेका हुन्। संगीत संयोजनमा भने यी दुवै जोडिएका थिए। भ्वाइसमा यो गीत गुञ्जिएपछि फेसबुकमा ओरिजिनल भिडियो सेयर गर्नेहरु एकाएक बढे। फेसबुकमा गीतबारे चर्चा चल्न थालेपछि गायक योगेश्वर अमात्यको पनि ध्यान खिचिएछ। अनि उनले संगीतको श्रेय मंगोलियन हार्टलाई दिएको भन्दै आपत्ती जनाए। म्युजिक नेपालको युट्युब च्यानलमा दिइएको क्रेडिटलाइनको स्क्रिन सटसमेत राखेर उनले फेसबुकमा लेखे - 'यो गीत मैले राजु लामालाई दिएको हुँ। संगीतमा उनीहरुको ब्यान्डको नाम राख्नु कस्तो लाजको विषय।'

उनले यस्तो पोस्ट आएलगत्तै म्युजिक नेपालले क्रेडिट लाइन सम्पादन गर्‍यो। हाल शब्द संगीत दुवैमा राजु लामा र योगेश्वर अमात्यको नाम छ।

म्युजिक नेपालकी मन्दिरा ढुंगेलले मंगोलियन हार्ट र अमात्यबीचको सहमतिमा क्रेडिट लाइन सम्पादन गरेको जनाइन्।

'हामीले क्यासेटमा राखिएअनुसार क्रेडिट दिएका हौं। यसबारेमा धेरै जानकारी छैन। अहिले उहाँहरुकै आग्रहमा सम्पादन भइसक्यो,' उनले भनिन्।

म्युजिक भिडियोमा मंगोलियन हार्टका टोली कन्सर्टका लागि दार्जिलिङ जाँदै हुन्छन्। त्यहाँ ब्यान्डका मुख्य गायकको भेट हुन्छ पूजा प्रधानसँग। पूजा मंगोलियन हार्टका फ्यान जोसँग गायक लामा नै आकर्षित हुन पुग्छन्। उनीहरु बीचको प्रेमलाई भिडियोमा उतारिएको छ। म्युजिक नेपालले नै निर्माण गरेको भिडियोमा ब्यान्ड सदस्यसँगै फिचर्ड छिन् - स्मृति भण्डारी। जीवन श्रेष्ठले खिचेको भिडियोका निर्देशक हुन् ब्रजेश खनाल।

त्यतिखेर म्युजिक नेपालले आफै उत्पादन गरेको थियो - म्युजिक भिडियो। रोचक त के हो भने कन्सर्टका लागि जाँदा उनीहरुले त्यही भिडियो खिच्ने योजना बनाए। 'बजेट साह्रै थोरै थियो त्यही भएर दुई दिनमा सबै सक्ने गरेर प्लान गरेर गयौं,' खनालले सुनाए, 'तर, भइदियो के भने कन्सर्ट आयोजक नै भागेछन्।'

छायाँङ्कन गर्ने भनेको दिन त यो टिमलाई आयोजक खोज्दाकै सास्ती। दुई दिन भनेको सुटिङ आधा दिनमा साँघुरियो। त्यसैले दार्जिलिङमा पूरै सुटिङसमेत हुन पाएन। बाँकी सुटिङ भयो - इलाममा। दार्जिलिङमा भने पार्क र रेलस्टेसनको दृष्यमै सीमित भयो। त्यतिखेर न अहिले झै एचडी क्यामरा थियो न बलियो प्रविधि नै। त्यसमाथि लगानी शून्य झै।

सीमित साधन र स्रोतमा १७ वर्ष अगाडि तयार भएको गीत अझै पनि स्रोताको स्मृतिमा ताजै छ। कालजयी बनिसकेको यो गीत हरेक स्टेज कार्यक्रमहरुमा दर्शकको माग बनिरहेकै छ। तर, म्युजिक भिडियो भने एकाएक चर्चामा आएको हो अहिले।

सन् १९९४ मा पहिलो गीत ‘बादलुमा लुकी ...’ रेकर्ड गराएको थियो मंगोलियन हार्टले। ब्यान्डको उमेर गत वर्ष २५ वर्षको भयो।

‘सिल्भर जुब्ली ग्राण्ड सेलिब्रेसन’ अन्तर्गत २५ फरक देशमा कन्सर्ट गर्ने लक्ष्य लिएको थियो ब्यान्डले। लक्ष्य अनुसार हालसम्म १८ देशमा कार्यक्रम भइसकेको छ।

ब्यान्डका गितारिस्ट एवं व्यवस्थापक बबी लामाले भने, 'हरेक स्टेज कार्यक्रममा दर्शक स्रोताको मागमा पर्छ यो गीत। देश होस् कि विदेश, गाउँदिन भन्नै पाइँदैन।’

एक सातामै गीतको भिडियोमा थप १० लाख हिट्स बढ्यो। सुस्तरी बढ्दै गरेको भ्युजले एक्कासी तीब्र गति लिएपछि दङ्ग परेको बताउँछन् बबी।

मंगोलियन हार्टका अन्य गीतहरु पर्खाइमा भिज्यो सिरानी, हल्ला चलेछ, मेरो नेपाल, बादल पारीको देश लगायत गीत पनि चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell