PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तीजमय 'मिथिला येँ', ३० महिला चित्रकारको कला प्रदर्शनमा



स्वेच्छा राउत

तीजमय 'मिथिला येँ', ३० महिला चित्रकारको कला प्रदर्शनमा

ठमेल, चाक्सिवारीमा छ 'मिथिला यें'। नेपालभाषामा काठमाडौंलाई 'येँ' भनिन्छ। नाम सुन्दा मिथिला वा नेवारी चित्रकला विशेषजस्तो लागेपनि यहाँ विवध विधा र विषयका चित्रहरु देखिन्छन्।

कहिले 'स्थिर' शीर्षकका चित्रहरु त कहिले कृष्ण चरित्र, केहिले लोक कला विशेष त कहिले मोडर्न मिथिला- यस्तै फरक फरक विषय केन्द्रित चित्रकलाहरु यहाँ देख्न पाइन्छ।

दर खाने दिन अर्थात् भदौ १५ गतेदेखि यस ग्यालरीका भित्तामा केही विशेष चित्रकलाहरु टाँगिएका छन्।

ढोकाबाट भित्र पस्दादेखि प्रकृति, समाज, कला, एब्स्ट्र्याक्ट, संस्कृति, पोट्रेट झल्कने चित्रहरुमा ठोक्किन्छन् आँखा। तीसवटा चित्रहरु छन् यहाँ। हरेक चित्रकलाको छेउमा त्यस चित्रको जानकारी समेटिएको स्टिकर टाँसिएको छ। ती स्टिकरमा तीस फरक महिला चित्रकारहरुको नाम देख्न सकिन्छ।

चित्रकार तथा आर्ट ग्यालरीका निर्देशक श्याम सुन्दर यादवले तीज विशेष 'तीज आर्ट फेस्टिभल-२०१९' आयोजना गरेका हुन्। उनले महिलाहरु स्वतन्त्र रहेर नाच्न, रमाउन, फूर्सद मनाउन पाउने यस पर्वको अवसरमा चित्रकला प्रदर्शनी गरेको बताए।

भने, 'धेरै राम्रा महिला चित्रकारहरु व्यस्त दैनिकीका कारण चित्र कोर्नबाट बञ्चित हुनुहुन्छ। कतिले इच्छा भएर पनि आफ्ना चित्रहरु प्रदर्शन गर्न पाउँदैनन्। ती सबै दिदी बहिनीका लागि यो महोत्सव आयोजना गरिएको हो।'

यो महोत्सवले छरिएर रहेका महिला चित्रकारहरुलाई एक बनाउन सहयोग पुर्‍याउने विश्वास समेत राख्छन्, उनी।

सहभागी कलाकारहरुले एकेलिक, तेल, पानी, डिजिटल, छ्वाली लगायतको प्रयोगले क्यानभास सजाएका छन्। पाका महिला चित्रकार चन्दा श्रेष्ठ, सीमा शाह, अनिता खनाल, विपना महर्जन, रेनु यादव, रञ्जु दर्नाल, अनिता श्रेष्ठ, प्रमिला परियार, माला श्रेष्ठ, प्रियंका ओझा, बन्दना झा, रुबी कर्ण, जया शर्मा, सम्झना राजभण्डारी लगायतको चित्रहरुले आर्ट ग्यालरी सजिएको हो।

सबै चित्रकला बिक्रीका लागि खुला गरिएको छ। जसको मूल्य दुई हजारदेखि तीस हजारसम्म रहेको छ।

आफ्नो चित्र प्रदर्शनमा राखेकी विपना महर्जन यसरी महिला विशेष प्रदर्शनी आयोजना हुनुलाई अवसरको रुपमा व्याख्या गर्छिन्। जहाँ पाका कलाकार चन्दा श्रेष्ठदेखि दश वर्षीया बालिकाकोसम्म चित्र राखिएको छ। भन्छिन्, 'अन्य सामुहिक कला प्रदर्शनीमा महिला कलाकारहरु औंलामा गनेर तीन/चार जनाको मात्र सहभागिता हुन्छ। यसमा त सबै चित्र महिलाको मात्र, यो त हाम्रो लागि गर्वको कुरा हो।' 

तीजको दिन पूरा समय ग्यालरीमै बिताएकी उनले तीज आर्ट फेस्टिभललाई सामाजिक सन्देशको रुपमा लिएकी छिन्। भन्छिन्, 'महिलाहरु घरकै काममा मात्र सीमित नरेहेको सन्देश यस्ता कार्यक्रमहरुले दिनेछ।'

मिथिला चित्रकार रेनु यादव सधैं आफ्नो घरमा थन्कने चित्रहरु प्रदर्शनीमा राख्दा गर्विलो महसुस भएको बताउँछिन्। यो उनको दोस्रो प्रदर्शनी हो। यसअघि पनि इन्डोनेसियन समूहसँग प्रदर्शन गरेकी उनले भनिन्, 'नेपाली महिलाहरु मात्र भएको समूहमा चित्र राख्न पाउँदा सबै मिलेर निकै राम्रो काम गरिरहेको महसुस हुने रहेछ।'

महोत्सव आगामी दुई दिन अर्थात् भदौ १८ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell