एलिना, ज्यास्मिन, आयान र यमन एउटै कक्षामा पढ्छन्।
विद्यालय जीवन बाहेक उनीहरुको आ-आफ्नै संसार छ।
ज्यासमिन र यमन प्रेम सम्बन्धमा छन्। उनीहरु निस्फिक्री र बेपर्वाह लाग्छन्। भविष्यका योजनाबारे पनि प्रष्ट छन्।
एलिना आफ्नो मोटो शरीरलाई लिएर चिन्तित छिन्। उनलाई लाग्छ - मोटो हुनुले आफूलाई कही पुर्याउँदैन। जसका कारण उनी आफ्नो भविष्यलाई लिएर निराशावादी छिन्। उनी दुब्लाउनुका अनेक उपाय खोजिरहन्छिन्।
आयान साइबार दुनियाँको लतमा छ। उसलाई यथार्थ जीवनको साथी, पढाई, प्रेम, सम्बन्ध केहीको पनि पर्वाह छैन। च्याटरुम र त्यहाँका अन्य छद्मभेषी साथीहरु भए पुग्छ उनलाई।
केही दिनअघि मात्र बीबीसी नेपालीमा एउटा सामाग्री प्रकाशित थियो- ‘इन्टरनेट कुलत : थाहै नपाइ मानसिक स्वास्थ्यमा असर।’
सामाग्रीमा मनोविद् करुणा कुँवरले आफूले ७ महिना लामो परामर्श दिएको १७ एक युवक बारे भनेकी छिन् - युवकले दैनिक १५ देखि १६ घण्टासम्म इन्टरनेट चलाउथे। उनको लत छुटाउन मुश्किल भएपछि घरको इन्टरनेट नै बन्द गरियो। इन्टर्नेटबाट टाढा राख्नुको असर उसमा अस्वभाविक देखियो। युवकले त झर्कीफर्की गर्ने भाडा फाल्ने, कोठामा चुकुल लगाएर एक्लै बस्ने गर्न थाले।
नाटकको पात्र आयान देख्दा लाग्छ कतै यी तिनै युवक त होइनन्?
आयान १८ घण्टा इन्टर्नेट चलाउँछन्। कक्षामा साथीहरुसँग रमाउन सक्दैनन्। घरमा बुबासँग नजिक छैनन्। हत्तपत्त बोल्न चाहँदैनन्। बुबाले कुरा गर्न खोज्दा झर्कन्छन्। पढाइको मतलव छैन। कक्षामा पनि उँघिरहन्छन्। आयान प्रविधिमाथि यति निर्भर भइसके कि कक्षा सकिने घण्टी बज्नै लाग्दा कक्षाकोठामा पस्ने उनी भन्छन् - ‘धन्न अलार्मले उठायो।’
तर, उनी त्यति नै आदर्शवादी, नम्र र मित्रवत् छ ‘गार्डेन’ अर्थात् अनलाइन साइटका साथीहरुसँग। च्याटरुममा भेटिएकाहरु पनि सबै उसको जीवनप्रतिको गाम्भीर्यता, शैली र लेखन कलाप्रति आकर्षित छन्।
आकर्षित हुनेहरुमा आयानकै कक्षाका साथी ज्यास्मिन र एलिना पनि हुन्छन् जो यथार्थमा उनको कमजोरीमाथि व्यङ्ग्य गर्छन्, गिज्याउँछन्। उनीहरुलाई च्याटरुममा ‘डार्क फ्लो’को नाममा देखिने त्यो युवक आयान हो भन्ने चाहिँ उनीहरुलाई थाहा हुँदैन।
छद्मभेषी रुपमा अनलाइन साइटमा रमाउन भर्खरै सिकेकी छिन् एलिनाले। एक्लोपन र मोटोपनका कारण बढेको तनाव केही हदमा कम हुन्छ जब उनी अनलाइन साइटमा रमाउन थाल्छिन्। किनकि त्यहाँ शरीर, रुप कसैले देख्दैन। त्यहाँ जो, जसरी, जे बन्न पनि स्वतन्त्र छ।
लाग्छ यिनीहरु तिनै स्वतन्त्रताको फाइदा उठाइ रहेका हजारौं किशोर किशोरी हुन् जो पढाइ, अनुशासन र नियमको बहानामा बाँधिएका छन्। नाटक हेर्ने अभिभावक वा शिक्षकले आफैसँग प्रश्न गर्लान् यिनीहरुको चरित्र देखेर।
तर, त्यसभन्दा ठूलो प्रश्न दर्शकले आफैसँग सोध्नेछन् - के अहिलेसम्म मेरो जीवन ठीक बाटोमा गइरहेको छ?
दर्शकले पात्र सँगसँगै सोच्नेछन् - मेरो निराशा र चिन्ता वा अनिद्राको कारण के हो?
कतै सामाजिक सञ्जाल वा त्यस्तो अनुचित प्रयोग?
यस्ता प्रश्नहरु घटनाक्रमसँगै थपिँदै जान्छन्। पात्रहरु प्रश्नको गुत्थी फुकाउँदै जान्छ पनि। मुलत: साइबर दुनियाँमा अल्झिएको पुस्ता र त्यो उल्झनले पार्ने मनोवैज्ञानिक असरमा केन्द्रित रहन्छ नाटक गुम्फन। ‘गुम्’ अर्थात् हराएको र ‘फन’ अर्थात् रमाइलो।
इन्टर्नेट संसारमा हराएको छ मान्छे। सँगै हराएको छ प्रत्यक्ष संवाद, सम्बन्ध र मानवीयता पनि। मान्छे गोटी बनेको छ लुडोको, जसलाई अरुले चलाउँछ। अरुलाई लखेट्न, पछि पार्न, जित्न।
'लुडो त बौद्धिक खेल हो रे'- नाटकको पात्र आयानले भन्छ। दुर्भाग्य, त्यो खेल समेत अब त भर्चुअल भइसकेको छ। एउटा कोठामा बसिरहेका दुई व्यक्ति घण्टौं नबोली एकअर्कालाई लुडो खेल्न फेसबुकमा इन्भाइट गरिरहेका हुन्छन्।
यसरी मान्छेले मान्छेलाई होइन इन्टर्नेटले मान्छेलाई गोटी बनाइरहेको छ।
नाटकका दुई पात्र आयान र एलिनालाई यही भर्चुअल दुनियाँको लतले डिप्रेसनमा पुर्याउँछ। कारण- उनीहरुले खोजेको खुशी, आवश्यक स्नेह, प्रेम र वास्तविकता इन्टर्नेटको गार्डेनमा पाउँदैनन्।
अन्तत: आयानले आफू भित्रको उकुसमुकुस कम गर्न आत्महत्याको बाटो अपनाउँछ।
आयानको घरको वास्तविक गार्डेनमा भेट हुन्छ स्कूलका शिक्षक बलि सरसँग। जहाँ आयानको मृत शरीर राखिएको हुन्छ। बलि सर आयानका बुबा हुन्। उनले नै यी दुईलाई मनोविद्सँग परामर्शका लागि अस्पतालसम्म पुर्याउँछन् पनि। तर, उनको प्रयास असफल ठहरिन्छ। इन्टर्नेटमार्फत् नजिकिएका यी दुई ‘कलेजकै डिप्रेस्ट केटाकेटी’ले वास्तविक जीवनमा बुझ्न नै पाउँदैनन्। समय बिताउनै पाउँदैनन्।
बेपर्वाह पात्र ज्यास्मिनले कल्पना नगरेको घटना घट्छ। नाटकको सुरुवातमा उनले भनेकी हुन्छिन्- ‘मलाई त सुसाइडको सोच कहिले पनि आएन। कसलाई पो आयो होला र?’
मान्छे बेखबर हुन्छ अर्काको सोच र मनोस्थितिबारे। ज्यासमिनले सबैलाई आफूजस्तै सोचिरहँदा उनको साथी आयानले आत्महत्या गर्छ। र, उनको मृत्युको शोक सहन नसकेकी एलिना पनि आयानसँगै विलिन हुन्छिन्।
थिएटर भिलेजको प्रस्तुति रहेको नाटक ‘गुम्फन’लाई दिलिप रानाभाटले निर्देशन गरेका हुन्। एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’लाई नेली केइनानेनने अङ्ग्रेजी अनुवाद गरेर ‘फलिङ’ बनाइन्। सोही नाटकको नेपाली भावानुवाद गरेका हुन् जिवेश रायमाझीले।
नाटकमा अद्ववेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एचके अधिकारी, गुगल लामा, मदन सुवेदी, प्रमोद खड्का, पिबिएस रिदम, संगीता थापा लगायतको अभिनय छ।
दिपेश राईको सह निर्देशन रहेको नाटकमा बिमल सुवेदीले मञ्च तथा प्रकाश परिकल्पना गरेका हुन्। गुम्फन भदौको २९ गतेसम्म शिल्पी थिएटरमा मंगलबार बाहेक नियमित मञ्चन हुनेछ।