जावलाखेल चिडियाखाना नपुग्दै देब्रेपट्टिको खुला ठाउँ। भलिबल संघको बाहिर हरेक बिहीवार बिहानैदेखि साविकभन्दा धेरै मानिसको चहलपहल सुरु हुन्छ। कोही चामलको बोरा बोकेर आउँछन् अनि कसैको हातमा झोलाभरी तरकारी हुन्छ।
कहिले काही मात्र आउनेहरु चाहिं हातमा दही, सिजनल फलफूल, मिठाइ बोकेर पनि आउँछन्। बिहान १० बजेदेखि कोही ग्यास जडानमा लाग्छन् अनि कोही तरकारी केलाउन थाल्छन्। केही मानिस पानी बोकिरहेका हुन्छन् अनि केही चामल पखाल्दै हुन्छन्।
यसरी बिहीबारे 'शान्ति भान्सा'को तयारी गर्छन्।
जावलाखेल आसपास रहने वा त्यो बाटो दैनिक आवतजावत गर्नेहरुका लागि यो दृश्य नौलो भने होइन। किनकि सन् २००४ देखि हरेक विहीबार यही ठाउँमा उस्तै प्रक्रिया दोहोरिंदै आएको छ।
द्वन्द्व पीडित महिलाहरुको उद्दधार तथा उत्थानका लागि सन् २००२ मा स्थापना भएको संस्था नागरिक आवाजले स्थापनाको दुई वर्षपछि देखिनै यो भान्सा सुरु गरेको हो। तत्कालिन समयमा द्वन्द्वले मानिसहरुलाई घरविहिन बनाएको थियो। धेरै मानिस सडकमा भोकभोकै दैनिकी काट्न बाध्य थिए। सोही अवस्थालाई मध्यनजर गर्दै संस्थाकी संस्थापक रीता थापाले भान्साको अवधारणा सुरु गरेकी हुन्।
संस्थाकी व्यवस्थापन अधिकृतले भनिन्,'देशमा शान्तिको माग बढ्दो थियो। अनि भोका तथा निमुखालाई भान्साको पनि उस्तै खाँचो परेको अवस्था थियो। त्यही बेलामा शान्ति भान्साको सुरुवात गरेका हौं। जुन हालसम्म पनि सफलताका साथ अघि बढिरहेको छ।
अहिले हरेक साता एक सय बीसजनासम्म सडकमा बस्ने, वृद्ध वृद्धा, अपाङ्ग लगायतले यस भान्सामा खाना खान्छन्। हरेक विहीबार दिउँसो करिब १२ बजेदेखि यहाँ मानिसहरु खाना खान लामबद्ध भएर बस्छन्। उनीहरु ललितपुर वरपर, पशुपति, कलङ्की, भद्रकालीलगायत ठाउँहरुबाट आउने गरेको बताउँछन्।
भान्साका लागि विदेशी तथा नेपाली दाताहरुले नियमित सहयोग गर्दै आएका छन्। हरेक साता भान्सा तयार गर्नका लागि १० देखि १२ हजारसम्म लागत लाग्ने व्यवस्थापकले बताइन्।
दैनिक बढ्दो सङ्ख्या कामका लागि स्वयं सेवकहरु खटिन्छन्। सहयोग विदेशीबाट हुन्छ। नियमित नेपाली दाताहरु पनि छन्।