PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'बालसाहित्यमा विनय कसजु: योगदान र मूल्या‌ंकन' विमोचित



'बालसाहित्यमा विनय कसजु: योगदान र मूल्या‌ंकन' विमोचित

ललितपुर: वरिष्ठ बाल साहित्य सर्जक विनय कसजुको बाल साहित्यमाथिको योगदानबारे चर्चा गरिएको पुस्तक 'बालसाहित्यमा विनय कसजु: योगदान र मूल्या‌ंकन' विमोचन भएको छ।

कसजुको ७३ औं जन्मदिनको अवसर पारी आएको किताब शताब्दीपुरुष सत्यमोहन जोशीले विमोचन गरेका हुन्। किताब बालसाहित्य समीक्षक एवं वरिष्ठ पत्रकार प्रमोद प्रधानले तयार पारेका हुन्।

बुधवार ललितपुरको झम्सीखेलस्थित ८ डिग्री रेस्टुरेन्टमा आयोजित कार्यक्रममा कसजुलाई शुभकामना दिन साहित्यकारहरुको जमघट भएको थियो।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा  जन्मदिनको अवसरमा उनको बालसाहित्यमाथि अग्रज बालसाहित्य सर्जकहरु शान्तदास मानन्धर, रामकुमार पाँडे, एकराम श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्यलगायतले जन्मदिनको शुभकामना दिँदै बाल साहित्यमा कसजुको योगदानबारे चर्चा गरेका थिए।

चार दशकदेखि बालसाहित्य लेखन, सम्पादन र बालसाहित्य लेखन प्रोत्साहनमा सक्रिय कसजुका चार दर्जन बालकृति प्रकाशित छन्। यसबाहेक विभिन्न बालपुस्तकमा पनि कसजुका कथा पढ्न सकिन्छ। बालसाहित्यप्रति उनको योगदानको कदर गर्दै पुस्तक प्रकाशन गरेको बाल वाङ्मयका उपाध्यक्ष एवं बालसाहित्य सर्जक विजयराज आचार्यले बताए।

विनय कसजुका १०० बालकथाहरु, मुसालाई दोसल्ला र अरु बालकथाहरु, झ्यापुल्लेको बिजोग, वनको दमकल, कान्छाको मोटर, स्माइल प्लिज, साइबर बालकथा, सुजनको डर, सूर्यको बिहे, जुल्फी खाने कौवा, मेवालाल, माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीत गरी १५ बाल कथा संग्रह छन्।

त्यसैगरी घडीहरुको जमघट, जन्मदिनको उपहार, मुसाको भोजमा बिरालो, रातो भाले, अनौठो आकाश सूर्य र ग्रहहरु, म्याउँम्याउँ बिरालो, हाम्रो स्कुल खोइ, हाम्रो पुस्तकालय, मेरो किताब, कोसिस गर्छु, तीन पांग्रे साइकल, भोकाएको बिरालो, आज स्कुल जान्न, मलाई माया गर्छिन्, टिउराको सपना, जलवीर र सुरी, अबोलाको मोबाइलफोन, बोकाको आत्मकथा र सुनको मुटु भएको केटो बालचित्र पुस्तकहरु प्रकाशित छन्।

यसैगरी ह्यान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरु, इसपका नीतिकथा, सानी जलपरी र हान्स क्रिस्चियन एन्डरसनका दन्त्यकथाहरु उनीद्वारा अनुदित बालकथा हुन्।

कसजुले सैद्धान्तिक र समीक्षात्मक पुस्तकसमेत प्रकाशन गरेका छन्। बालकथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास, स्विडेनको बालसाहित्य र आस्ट्रिड लिन्ग्रेनको योगदान, बालकथा सम्पादन र शान्तदास भन्नुहुन्छ जसते सैद्धान्तिक रु समीक्षात्मक कृति उनले लेखेका हुन्। यसैगरी बाल पत्रकारिता कृति पनि उनले प्रकाशन गरेका छन्।

भालुको बगैँचा र स्माइल प्लिज सुन्ने सिडीमा समेत बालकथा ल्याएका कसजुको स्मार्ट टिन्स नामको किशोर कथासंग्रहसमेत प्रकाशित छ।

कसजुको लेखनमा ६ बालकथाका किताबसमेत प्रकाशनमा आइसकेको छ। कसजुका केही सिर्जनाहरु बालसंसार डट ओआरजीमासमेत पढ्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell