PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

मलेसियाबाट आएको त्यो फोन जसले जोड्यो शान्ति सदाको 'भ्वाइस' यात्रा : टाउको छोपेर हिँड्ने उनी अब गाउँछिन् निर्धक्क



स्वेच्छा राउत

मलेसियाबाट आएको त्यो फोन जसले जोड्यो शान्ति सदाको 'भ्वाइस' यात्रा : टाउको छोपेर हिँड्ने उनी अब गाउँछिन् निर्धक्क

गोलबजार ६, डोहटिया। २०६३ सालतिरको कुरा हो। शिवकुमारी र शान्ति सदा घरबाट बिहानै निस्कन्थे, स्कूल ड्रेसमा। शान्ति भाउजु र शिवकुमारी नन्द। यी दुवै एउटै स्कूलका विद्यार्थी। बिहान सँगै उठ्नु, घरको काम सक्नु र सँगै स्कूल जानु उनीहरुको दैनिकी।

स्कूल जाँदा शान्तिको टाउको सधैं रुमालले ढाकिएको हुन्थ्यो, सिन्दुर छोप्न। यसो गर्नुलाई सौभाग्यको रक्षा ठानिन्थ्यो। जेठाजु र ससुराहरुले सिन्दुर र मुहार देखे पाप लाग्ने विश्वास।

घरबाट १० मिनेट हिँडेपछि ठूलो चौरमा पुग्थे दुवै। चौरमा पुगेपछि शिवकुमारीले भन्थिन् - 'ल रुमाल झिक्नुस्, कोही छैन।'

शान्तिले टाउकोको रुमाल झिक्थिन्। पट्याएर झोलामा हाल्थिन्। बेलुका फर्किँदा त्यसैगरी सिन्दुर छोप्नु पर्थ्यो।

गाउँलेलाई उनीहरु त्यसरी फ्रक लगाएर हिँडेको चाहिँ पचेको थिएन किनकि परम्परा अनुसार छोरी बुहारी घरको काममा मात्र सीमित हुनुपर्थ्यो। बुहारीले ससुरा, जेठाजुका अगाडि स्कूलको ड्रेस त झन् कल्पना बाहिरको कुरो।

आज पनि सदा समुदायका निकै कमले छोराछोरीलाई स्कूल पठाउँछन्। सन्तानलाई आफूसँगै मजदुरी वा खेती किसानीका लागि लिएर हिँड्ने प्रचलन यथावत छ। गरीबीको चपेटामा गुज्रिरहेका उनीहरुका लागि पढ्नुभन्दा छाक टार्नु प्राथमिक कुरा।

शिवकुमारीका बुबाआमा जतनी र रामबत्ती चुन फ्याक्ट्रीमा काम गर्थे। त्यसैले उनीहरुको आम्दानी ठीकै थियो। फ्याक्ट्रीमा काम गर्ने अरुले छोराछोरीलाई पढाएको देखेकाले उनीहरुलाई पनि त्यसैको छाप पर्‍यो। उनीहरुले पनि छोराछोरीलाई पनि पढ्न पठाए। त्यतिमात्र होइन, एउटै स्कूलमा भर्ना गरिदिए बुहारी शान्ति सदालाई पनि।

धन्न, शान्तिले विवाह अगाडि देखेको कुनै पनि सपनामा ब्रेक लाग्न पाएन।

***

शान्तिको माइती गोलबजार- ३ जम्दह। उनी त्यहाँको सदा समुदायबाट स्कूल जाने पहिलो छोरीमान्छे। बाल्यकाल त उनको पनि आमासँगै जङ्गल पसेर दाउरा बटुल्ने र त्यसलाई बजार पुर्‍याएर बेच्नमै बित्यो। जब, किशोरावस्थामा पुगिन् तब एसओएसका ‘भाइ बहिनी’ भन्ने कार्यक्रममा सहभागी भइन्। कार्यक्रम अन्तर्गत निम्न माध्यमिक तहका पाठ्यक्रम पढाइन्थ्यो। र, उमेर र क्षमता अनुसार स्कूल भर्ना गराइन्थ्यो।

शान्तिले पाँच कक्षामा भर्ना पाइन्। गाउँमा सदाहरु ५०-६० घर थिए। तर, आफ्नो समुदायबाट कक्षाभरी उनी एक्ली।

स्कूल उनका लागि 'प्यारो' ठाउँ बन्यो। त्यहाँ उनले धेरै साथी बनाइन्। पढ्न पाइन्। गाउन पनि। पहिलो पटक दिल खोलेर गीत गाएको पनि स्कूलमै हो।

उनका बुबा द्वारीकालाल गाउँमा चिनिएका ढोलकवादक। चाडपर्वमा सांगीतिक टोलीको बीचमा बसेर ढोलक बजाउँथे। आमा साधनादेवीको स्वर उस्तै मीठो। पूजा पाठ, विवाहमा उनीविना गायन टोली जम्दैन थियो। रातको खानापछि आमाको पछिपछि लागेर विवाह घर उनी पनि पुग्थिन्। त्यहाँ उनकी आमा बीचमा बसेर भट्याउथिन्। र, वरपर बसेका अरु महिला उनको लयलाई पच्छ्याउँदै गाउँथे।

शान्तिलाई पनि मन लाग्थ्यो त्यसैगरी खुलेर गाउन। तर, त्यसो गर्न छुट थिएन घरमा।

स्कूल गएपछि हेरक शुक्रबार शान्तिको गायन अनिवार्य जस्तै बन्यो। पहिलो पटक गाउँदा बटुलेको वाहवाहीले उनमा थपेको उत्साह कहिले पनि कम भएन।

कक्षा ७ मा पढ्दा उनलाई नेपाली पढाउने शिक्षक राजकुमार राईले भनेका थिए- तिमी यति मीठो गाउँछौ। कुनै दिन तिमीलाई पक्कै टिभीमा देख्न पाइनेछ।

त्यसपछि उनले दुईवटा सपना देख्न थालिन् - धेरै पढ्ने र गायिका बन्ने। आड भरोसा दिन्थे जेठा दाजु अरुणले। भन्थे- तँलाई त धेरै पढाउने हो।

तर, कक्षा ९ पढ्दा पढ्दै शान्तिको विवाहको कुरा चल्यो। विवाहका लागि उनको स्वीकारोक्ति आवश्यक थिएन। आमा बिरामी थिइन्, उनले छोरीको विवाह हेरेरमात्र सास छोड्ने ढिंपी कसिन्। विवाह तय भयो। वर्षौदेखि तिघ्रामा घाउ बोकेर बसेकी आमा खुशी भइन्। यता शान्तिको मनमा घाउ लाग्यो। पढाई र गायन दुईवटै छोड्नुको पीडा थियो उनमा।

'किताब कापी छाडेर डाडु पन्यु समाउनुमा को रमाउन सक्थ्यो र?,' उनले भनिन्।

जब, विवाह गरेर गुरुशरण सदाको घरमा गइन्, सबै कुरा उनको अनुमान विपरीत भइदियो।

फागुनमा छोरीबाट बुहारी बनिन्। चैतमा माइती फर्किइन्। कुनै रीत पूरा गर्न होइन कक्षा ९ को अन्तिम परीक्षा दिन।

उतीर्ण पनि भइन्।

२०६३ को वैशाखमा श्रीमानले कक्षा १० मा भर्ना गरिदिए, बोर्डिङ स्कूलमा।

पुराना दिनबारे सुनाइरहेकी शान्तिलाई हेर्दै मुस्कुराइ रहेका थिए गुरुशरण। बोर्डिङ स्कूलको प्रसङ्ग निस्किँदा बल्ल बोले- ‘सरकारी स्कूलको पढाई उस्तै थियो। मैले एसएलसी बल्लबल्ल पास गरेँ। उनलाई त्यस्तो नहोस् भनेर बोर्डिङमा भर्ना गरिदिएको।’

गाउँलेले कुरा काटे। बुहारीलाई नफुर्काउन सम्झाए पनि। तर, छोरी र बुहारीले आफूले जस्तै कारखानामा काम गर्न परोस् भन्ने परिवारले चाहेको थिएन। शान्तिले पनि घर र पढाई मजैले सम्हालिन्।

पढाई र घरधन्दा बीच शान्तिको गायनको हुटहुटी टुटेन। घर पोत्दा, खाना बनाउँदा, भाँडा माझ्दा सधैं गुन्गुनाइरहिन्।

गोलबजारमा संगीतालय खुलेको थियो, शिवनारायण सिंह संगीत गुरु। शान्तिलाई एसएलसी दिए लगत्तै संगीतालयमा भर्ना गरिदिए उनका श्रीमानले। त्यहाँ पुगेर पहिलो पटक हार्मोनियम समातेर रागहरुसँग खेलिन् शान्तिले। गीतको औपचारिक शिक्षा के हो बुझिन्। संगीतलाई समय दिन थालिन्।

२०६५ सालमा उनले गुरु शिवनारायणको सहयोगमा पहिलो मैथली गीती एल्बम 'परैछी' निकालिन्। पहिलोपटक रेकर्डिङ स्टुडियोमा छिरेर गाउँदा उनले सोचेकी थिइन्, 'बल्ल पहिलो पाइला चालेँ।'

गाउँलेले सोध्थे- सधैं आफू बच्चाजस्तै नाचगान गरेर हिँड्ने कि बच्चा नि स्याहार्ने?

उनी सम्झिन्छिन्, 'तर, मेरो परिवारले प्रश्न नगरेसम्म म डगमगाइनँ।'

परिवारले कहिले पनि 'नगर्' भनेनन्। अनि गाउँलेलाई जवाफ दिन पनि आवश्यक ठानिनन्।

गीत संगीतसँगै पढाई जारी रह्यो। नेपाली साहित्यमा स्नातक तह सक्काइन्। यसैबीचमा दुई सन्तान जन्मिए। हुर्काइन्। दुवै स्कूल जाने उमेरको भएपछि २०७४ मा काठमाडौं आइन्, संगीतकै लागि।

उनी एक्लै काठमाडौं आउने कुरा भएन। सँगै जिम्मेवारी पनि ल्याइन्। जिम्मेवारी मतलब, आफ्ना दुई सन्तान। त्यतिमात्र होइन, दुई जना देवरका एक/एक सन्तान पनि।

श्रीमान गुरुशरण काठमाडौंमै काम गर्न थालिसकेका थिए। उनले आफ्ना र भाइका सन्तानहरुलाई स्कूल भर्ना गरिदिए र श्रीमतीलाई संगीत विद्यालय। काठमाडौंमा गुरुदेव कामत शान्तिका संगीत गुरु बने।

***

टेलिभिजनमा गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'मा डिजिटल अडिसनको आवेदन खुला भयो। शान्तिको रहर थियो सहभागिता जनाउने। तर,न फोन थियो न इन्टर्नेट, कसरी दिनु अडिसन?

टिभीमा कार्यक्रमको पहिलो श्रृङ्खला प्रसारण भयो। शान्तिको मनमा एउटै कुरा खेल्यो- मैले पनि भाग लिन पाएको भए…।

श्रीमतीको रहर पुर्‍याउन नसक्नुको थकथकी महसुस गरिरहे गुरुशरणले पनि।

गुरुशरणका भाइ देवशरण मलेसियामा थिए। एकदिन भाइसँग फोनमा कुरा हुँदैगर्दा शिवले सोधे- 'एउटा साथी नेपाल आउँदैछ। केही चाहिन्छ भने पठाइदिन्छु।'

गुरुले केही नसोची जवाफ फर्काए- इन्टर्नेट चल्ने फोन।

***

६ महिनाअघि ‘द भ्वाइस अफ नेपाल सिजन २' को घोषणा भयो।

शान्तिले मलेसियाबाट देवरले पठाएको मोबाइलमा द भ्वाइसको एप डाउनलोड गरिन्। आवेदनको प्रक्रिया पुर्‍याएर गीत रेकर्ड गराइन्। र, पठाइन् अडिसनका लागि।

नतिजा - उनी दोस्रो चरणको अडिसनका लागि छानिइन्।

खुशीले सीमा नाघ्यो। डर पनि उत्तिकै। निर्णायका अगाडि उभिएर गाउने अनि पुन: अर्को चरणका लागि छानिने चुनौती सामुन्ने थियो। शान्ति धेरै जनाको अघिल्तिर उभिएर गाउँदा 'नर्भस' हुने। दोस्रो अडिसनमा निर्णायकको अघिल्तिर उभिएर गाउनै पर्ने। त्यहाँ सफल नभइ 'ब्लाइन्ड अडिसन' पुग्न नसिकिने।

उनको सपना थियो- द भ्वाइस अफ नेपालको ब्याक स्टेजमा 'अन एयर'को बत्ती बलेपछि माइक उठाएर मञ्चमा जाने। अनि बेजोड प्रस्तुति दिने। चारैजना निर्णायकलाई बजर दाब्न बाध्य पार्ने आत्मविश्वास।

ब्लाइन्ड अडिसनमा पुगिन् पनि। उनको भागमा मैथली लोकगीत ‘सहलेश’ पर्‍यो।

‘बडबड भक्ती हम् बीस वर्षके लिए… ' गीतका शब्दहरुको अर्थ थियो - उसले मलाई अपनाउँछ भन्ने धेरै वर्ष आस्था राखेँ तर उ त निष्ठूरी भयो।

उनले मज्जाले गाइन् स्टेजमा।

‘गीतको भावसँग मिल्यो मेरो अवस्था। आशा थियो एउटा न एउटा बजर त पक्कै बज्छ भन्ने,' शान्तिले सुनाइन्। आशा निराशामा बदलियो।

त्यसको असर धेरै दिनसम्म पर्‍यो। यसअघि नेपाल आइडलको पहिलो संस्करणमा पनि उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्। सोचिन् - अब कुनै पनि प्रतियोगितामा अडिसन दिन्न। म योग्य छैन।

त्यसपछि पुरानै दैनिकीमा फर्किइन्। कामले क्रमश: निराशालाई छायाँमा पार्दै गयो। घर, छोराछोरी, पसल आदिमै व्यस्त भइन्। व्यस्तताका बीच दैनिक एक घण्टा संगीत कक्षा भने टुटेन।

***

भदौ ५ गते, शुक्रबार। राती द भ्वाइस अफ नेपालको तेस्रो श्रृङ्खला प्रसारण भयो। शान्तिले बिर्सिँदै गएको घाउ फेरि बल्झियो। कार्यक्रममा उनको प्रस्तुतिमात्र होइन परिवारको कथा पनि देखायो। कार्यक्रम सुरु हुँदा त झस्किएकी थिइन्। उनका श्रीमानले शान्तिले लुकेर आँशु पुछेको पनि देखेका थिए। तर, जब टिभी स्क्रिनमा आफूसँगै आफ्नी सासु आमा रामबत्तीलाई मञ्चमा माइक बोकेर उभिएको देखिन्, एकाएक उनको मुहारको हाँसो फर्कियो।

कार्यक्रममा जानुअघि गुरु र शान्तिले आमालाई सम्झाएका थिए- ‘कोचहरुले टर्न गरे भने शान्ति छानिन्छिन्।’

सासुले सोधिन्- ‘टर्न भनेको के हो?’

‘टर्न भनेको घुम्नु हो। ममाथि पुग्न निर्णायकहरुले कुर्सी घुमाउनु पर्छ,’ शान्तिले प्रष्ट्याइन्।

तब, सासुले भनेकी थिइन्- ‘घुमाउन कुन ठूलो कुरो हो त। हातले फनफनी घुमाउन सकिहाल्छन् नि, चार चारजना रहेछन्।'

उनीहरु त्यही प्रसङ्ग सम्झिएर हाँसे।

गोलबजार, डोहटियामै बस्छ शान्ति र गुरुशरणको परिवार। शान्तिको प्रस्तुति सकिए लगत्तै गाउँमै रहेका देवरको फोन आयो। उनको आवाजमा भाउजु चयन नहुनुको दु:ख पटक्कै थिएन। उल्टै बधाई पो दिए। टोलभरीका सबै मानिस एकै ठाउँमा भेला भएर कार्यक्रम हेरेको सुनाए। भने, 'सबैजना धेरै खुशी भएका छन्। गाउँको नाम राख्नु भाउजु। सबैभन्दा धेरै खुशी आमाबुबा हुनु भएको छ।'

देवर बोल्दा बोल्दै सासुले फोन खोसिन्। र, बोलिन्- ‘तिमीलाई धेरै धन्यवाद शान्ति। हेर त तिमी हिजो गाउँदै हिँड्दा प्रश्न गर्नेहरु तिम्रा लागि खुशी भएका छन्।'

यस पटक शान्तिको आँखाबाट खुशीका आँशु झरे। सासुलाई भेटेर अँगालो हालेर रुन मन थियो उनलाई।

उनलाई थाहा छ, उनकी सासु पनि समुदायकी अरुजस्तै भइदिएको भए पढ्न नपाउने कुरा। उनलाई यो पनि थाहा थियो- पढ्न नपाएको भए आत्मविश्वास र अघि बढ्ने ऊर्जा कहाँ पुग्थ्यो?

शान्तिको विवाह भएको एक वर्षपछि नै बितिन् उनकी आमा। छोरीको विवाह हेर्न पाइन् तर छोरीले टिभीमा प्रस्तुति दिएको हेर्न पाइनन्। अहिले आमा जत्तिकै नजिक भएकी छिन् उनकी सासु।

***

भदौ ६ गते शनिबार। कार्यक्रम प्रसारण भएको भोलिपल्ट। दिउँसोदेखि गुरुशरणको फोन निकै व्यस्त रह्यो। फोनमा बधाई र धन्यवाद दिनेको ओइरो। शान्ति र गुरु छक्क परे। बधाई दिने कसैले भन्यो - फेसबुकमा पूरै हिट् भइसक्नु भयो।

कोठामा इन्टरनेट नभएकाले देवशरण फोन बोकेर इन्टरनेट चल्ने ठाउँमा गए। फेसबुकमा आएको ट्याग, कमेन्ट, मेसेज अप्रत्यासित बन्यो। युट्युब र फेसबुकमा देखिएका सकारात्मक प्रतिक्रियाहरुले उत्साहित तुल्यायो। ‘मेरी श्रीमती आउट भइन्। तर, खाली हात फर्किनन् भन्ने लाग्यो। उनले त सयौं दर्शक स्रोताको मन जितिछन्,’ उनी गर्विलो सुनिए।

दर्शकको कमेन्टले शान्तिमा बेग्लै उर्जा थप्यो। 'पहिले हामी एक्लो हौं जस्तो लाग्थ्यो। अहिले लाग्छ राम्रो गरे साथ दिने धेरै रहेछन्। हामीले नै पो गलत सोचेका रहेछौं,' उनले भनिन्।

शान्तिले मानेको हार अस्थायी बन्यो। उनमा त अब फरक जोश आएको छ। सँगै अवसरहरु पनि। द भ्वाइसको प्रस्तुति सार्वजनिक भएपछि उनलाई दुईवटा गीतमा स्वर भर्ने प्रस्ताव आएका छन्। उनी तिनै गीतको तयारीमा जुटेकी छिन्। सासुले गाउँबाट फोन गरेर भनेकी छिन्- नाति नातिना हेर्न आउनु पर्छ भने म आउँछु। तिमी पूरा ध्यान संगीतमा दिनु।

भ्वाइसमा नेपाली गीत गाउन पाएको भए आफू छानिने थिएँ भन्ने धङ्धङी अझै बाँकी छ उनमा। तर, आफू नर्भस हुनुले धेरै कुरा बिगारेको मुस्काउँदै स्वीकार्छिन पनि।

पेप्सिकोला नरेफाँटमा पसल चलाउँछिन् शान्ति। आजभोलि पसलमा सामान किन्न आउनेले पनि द भ्वाइसकै प्रस्तुतिको कुरा गर्छन्।

‘एक चरण माथि उक्लेर बाहिरिएको भए झन् धेरै दु:खी भइन्थ्यो होला। तर, पहिलो चरणबाटै बाहिरिनुले झन् धेरै सिक्नु पर्ने दवावसँगै खुशी दिएको छ,’ उनले भनिन्।

इन्टर्नेटमा शान्तिका गायनमाथि आएका कमेन्टहरु यति धेरै थिए कि गुरुशरण प्रभावित नभइ रहनै सकेनन्। भाइले पठाएको मोबाइलबाट कनेक्ट भएको भ्वाइस यात्राले यति प्रेरित गर्‍यो कि उनले दुई साताअघिमात्रै कोठामा इन्टर्नेट जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell