PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

४० वर्षअघि नदेखिएको जलकुम्भी झार ढपक्कै ढाकिने गरी फेवातालमा कसले फैलायो?



४० वर्षअघि नदेखिएको जलकुम्भी झार ढपक्कै ढाकिने गरी फेवातालमा कसले फैलायो?

  • विष्णु गौतम-

‘ओहो... यो के भएको? मैले त फेवाताल यसअघि कहिल्यै यस्तो देखेकी थिइनँ’, जलकुम्भीले ढपक्कै ढाकिएको फेवाताल देखेर बेलायतकी ५४ वर्षीया जुलिया यसो भन्दैथिइन्।

साथीहरुसँग पोखरा घुम्न आएकी जुलिया माछापुच्छ्रेको छाया हेर्न र डुंगा सयर गर्न पाइने लोभमा फेवाताल पुगेकी रहेछन्। तर फेवातालको अधिकांश भाग त जलकुम्भीले ढाकेको।  

त्यही कारण डुंगा सयर गर्न तालबाराही जान, रानीवनबाट ओहोरदोहोर गर्न पनि अप्ठेरो। जलकुम्भी फेवाताललाईमात्र होइन, लेकसाइड नै कुरुप बनाएको छ। 

देशभर झैं पोखरामा पनि यस वर्षको पर्यटकीय सिजन शुरु भइसकेको छ। तत्काल फेवाताल सफा नगरे यो सिजनमा पर्यटकको आगमन प्रभावित हुने भएको होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायी बताउँछन्।

फेवाताल संरक्षणका लागि दर्जनौं संस्था र योजना

गत वर्ष नै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको पहलमा पोखरा माहानगरपालिकाले क्यानडाबाट एक्वाटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएको थियो। तर गत वर्ष मेसिन लगाएर तालको जलकुम्भी सफा गरिएन र मेसिन त्यसै थन्क्याइयो।

फेवाताल संरक्षणका नाममा अनेकौं संस्था र योजना  पनि बने। तर काम कुनै संस्थाले नगरेको स्थानीय लेखनाथ पराजुलीको भनाइ छ। फेवाताल संरक्षण गर्ने भन्दै पाँच दर्जनभन्दा बढी गैरसरकारी संस्था दर्ता छन् जिल्ला प्रशासन कार्यालय कास्कीमा। तर सबै फेवातालको नाममा कमाउन मात्र लागि परेको स्थानीयको आरोप छ।

फेवाताल संरक्षण, प्रवर्द्धन तथा विकासका लागि गठित छानबिन समितिका पूर्वसंयोजक विश्वप्रकाश लामिछाने भन्छन्, ‘फेवाताल नै नदेखेकाले समेत फेवा संरक्षण गर्ने भन्दै डलर खाएका छन्।’ उनको भनाईमा लेकसाइडका स्थानीय प्रदेश सांसद राजीव पहारी पनि सहमत छन्। 

‘महानगर र प्रदेश सरकार फेवातालका नाममा पैसा खानेहरुको अनुगमन गर्ने र नियमन गर्ने कुरामा चासै दिँदैनन्,’ सांसद पहारीले भने, ‘फेवाताल संरक्षण काले काले मिलेर खाउँ भाले भएको छ।’ पहारी थप्छन्, ‘फेवातालको संरक्षण गर्छु भनेर नै मैले चुनाव जितेको हो। तर पुरिएको माटो झिक्छु भनेर काम सुरु गर्दा मलाई पनि विभिन्न टेक्निकल बहाना बनाएर काम गर्नै दिइएन।’  

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी भने फेवाताल जोगाउन महानगरले भरमग्दुर प्रयास गरिरहेको तर प्रदेश र संघीय सरकारले नसघाउँदा सफल हुन नसकिरहेको आरोप लगाउँछन्। उनले भने, ‘पोखराको पहिचान फेवातालको संरक्षण गर्न हामीले हाम्रो क्षमताले सकेसम्म कोसिस गरिरहेका छौं। तर प्रदेश र संघीय सरकारले यसमा सहयोग नगर्दा धेरै काम गर्न सकिएन।’

संरक्षणका लागि के गरिँदैछ?

०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा फेवाताल संरक्षण, प्रवर्द्धन तथा विकासका लागि छानबिन समिति गठन भएको थियो। समितिले संरक्षणका लागि फेवातालको ६५ मिटर वरपर कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिन सिफारिस गरेको थियो। तर महानगरपालिकाले कार्यान्वयन गर्न सकेको छैन।

स्थानीय तहको चुनावलगत्तै २०७४ वैशाख १९ गते पोखरा महानगरको पहिलो बैठकले फेवाताललाई महानगरको स्वामित्वमा लिएर फेवाको सतहमा फैलिने झार सफा गर्न र व्यवस्थापनका लागि क्यानडाबाट एक्वाटिक प्लान्ट हार्भेस्टिङ मेसिन किन्ने निर्णय गर्‍यो। र मेसिन ल्याइयो। तालबाट निकालेको झारबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाले अघि सार्‍यो। 

सर्वोच्च अदालतले पनि फेवातालको अतिक्रमणलाई हटाउन स्थानीय तहलाई निर्देशनात्मक आदेश दिएको थियो। सोही आदेशअनुसार फेवातालको जग्गा मिचेर बनेका संरचना भत्काउन महानगरले गत जेठ ९ गते १५ दिने सूचना जारी गर्‍यो। महानगरले जारी गरेको सूचनाअनुसार फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेका अस्थायी तथा स्थायी सबै संरचना भत्काउने उल्लेख थियो। तर म्याद सकिएको तीन महिनाभन्दा बढी भइसक्दा ती संरचना भत्काइएका छैनन्। 

ताल संरक्षण गर्न प्रदेश सरकारले सांसद पहारीकै पहलमा यसवर्ष १० करोड विनियोजन गरेको छ। काम सुरु भएको पनि छ। तर त्यति बजेटले फेवातालको मुहान हर्पन र अँधेरी खोलामा सिल्टेसन पोखरी तथा बाँधसहितका सम्पूर्ण काम गर्न नपुग्ने सांसद पहारी बताउँछन्। होटल व्यवसायीले पनि जलकुम्भी हटाउन दैनिक २ वटा डुंगा खटाएका छन्। 

४० वर्षअघसम्म नदेखिएको जलकुम्भी आयो कहाँबाट? 

‘कसैले सजावटको लागि ल्याएको हुनुपर्छ। त्यसको सही प्रयोग र व्यवस्थापन गर्न नजान्दा आज फेवाताल कुरुप भएको छ र आज यो अवस्था आएको छ,’ कृषि परामर्शदाता डाक्टर अनिल सुवेदी भन्छन्, ‘जलकुम्भीको झारको अलिकति पनि अवशेष पानीमा बाँकी रहे अत्यन्त चाँडो फैलन्छ।’

नेपालमा कृषि र ग्रामीण क्षेत्रमा काम गरिरहेको जापानी संस्था जाइकाले २०६३ र २०६४ मा फेवातालको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। जाइकाको प्रतिवेदनमा युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी फैलिएको उल्लेख थियो। जाइकाको प्रतिवेदनका अनुसार ताल वरिपरिको खेतीमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, तालमा हुने फोहोर, तालको मुहानमा हुने भूक्षयकै कारणले निर्मूल गर्नै नसकिने गरी फेवातालमा जलकुम्भी बढेको हो। कृषि परामर्शदाता सुवेदी पनि यो तथ्यलाई स्विकार्छन्। उनी भन्छन्, ‘त्यसै पनि फस्टाउने जलकुम्भीको लागि कुनै पनि मलले झन् चाँडो फस्टाउन सघाउँछ।’

परामर्शदाता सुवेदी जलकुम्भी नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन नबिगार्ने गरी जलकुम्भी मार्ने किराहरुको प्रयोग गर्न सकिने र गाइलोसेट स्प्रे छर्न सकिने बताउँछन्। उनका अनुसार झार निकालेर मात्र पुग्दैन, तालभन्दा कम्तीमा पनि ३ किलोमिटर टाढा सुख्खा ठाउँमा लगेर जलाउनु पर्छ। 

के भन्छ पोखरा महानगरपालिका? 

पोखरा महानगरका मेयर जीसी विज्ञको भनाइप्रति सहमत छैनन्। जलकुम्भी फेवातालमा फैलनु नियमित प्रक्रिया भएकाले निर्मूल नै गर्न कठिन हुने उनको धारणा छ। फेवातालभन्दा माथि रहेका खेतबारीबाट बाढीले बगाएर जलकुम्भी आउनाले ताल ढाकिएको उनको भनाइ छ। उनले भने, ‘ताल फोहोर हुन्छ भनेर स्थानीयलाई खेती नगर भन्न मिल्दैन। त्यसैले यो समस्या निर्मूल नै हुने सम्भावना न्यून छ।’ 

पोखराको बैदाम, लेकसाइड, मालेपाटन पर्‍याङलगायत स्थानबाट बगेर आउने ढल सीधै फेवातालमा मिसिँदा पनि फेवाताल बढी प्रदूषित र जलकुम्भी फैलिएको उनको भनाइ छ। ताल संरक्षणका लागि महानगरले आफ्नो क्षमताले सकेसम्म ढल डाइभर्सन गर्न प्रयास गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell