PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एकै पटक चार सन्तान जन्माइन् खगित्राले, चारै शिशु एनआइसीयुमा : प्रतीक्षालयमा बाबु पदमको छट्पटी



स्वेच्छा राउत

एकै पटक चार सन्तान जन्माइन् खगित्राले, चारै शिशु एनआइसीयुमा : प्रतीक्षालयमा बाबु पदमको छट्पटी

काठमाडौं मेडिकल कलेजको नियोन्याटल इन्टेनसिभ केयर युनिटको बाहिर बसिरहेका छन्, धनगढीका पदमबहादुर शाही। उनलाई हतार छ, एनआइसियुमा रहेका आफ्ना सन्तान हेर्ने।

उनकी श्रीमती खगित्रा शाहीले एकैसाथ चार सन्तान जन्माइन्। बुधवार बिहान ९ बजेर ४० मिनेटदेखि ४५ मिनेटसम्ममा एक छोरी र तीन छोरा पालैपालो शल्यक्रिया गरेर निकालियो।

आफ्ना सन्तान हेर्नका लागि एनआइसियुभित्र छिर्ने अनुमति मिलिसकेको छैन। त्यसैले निन्याउरो अनुहार लगाएर पर्खनुको विकल्प पनि छैन उनीसँग।

खगित्रालाई एक तलामाथि राखिएको छ, पोस्ट न्याटल वार्डमा। उनलाई पनि भेट्न पाएका छैनन् पदमले।

प्रतीक्षा कक्षमा अरु पनि छन्। तर, सबैको ध्यान पदमतिरै। उनीलाई प्रश्न गर्नेहरु पनि छन् -

'कस्तो लागि रहेको छ?'

'पहिले नै थाहा थियो कि थिएन?'

'आमा र बच्चा सबै नर्मल छन् त?'

उनीसँग जवाफ भने छैन। सन्तान त जन्मिए तर मनमा खुशीभन्दा बढी चिन्ता छाएको छ। अलमलमा छन्, अब यो असामान्य अवस्था कसरी सम्हाल्ने?

‌‌‌+++

पदमबहादुर र खगित्राको पहिलो सन्तान छोरी छिन्। छोरी जन्मिएको पाँच वर्षपछि दुवैले दोस्रो सन्तानको योजना बनाएका थिए। तर, खगित्राको गर्भ रहेन। स्वास्थ्यकर्मीको सुझाव अनुसार 'ओभुलेसन इन्डक्सन'का लागि एउटा निजी अस्पताल गए, धनगढीमै।

परिणाम सकारात्मक देखियो। खगित्रा गर्भवती भइन्।

तर, गर्भ रहेको तीन महिनापछिको परीक्षणमा थाहा भयो उनको गर्भमा एक होइन, दुई होइन चारवटा बच्चा रहेछन्। धनगढीमा जुन डाक्टरसँग परीक्षण गराएका थिए उनले खगित्राको ज्यान जोखिममा रहने सुनाए।

त्यसपछि पदम र खगित्रा आत्तिए। गर्भपतनको योजना पनि नबनाएका होइनन्। तर, ढिला भइसकेको रहेछ।

चिकित्सकको सुझाव अनुसार काठमाडौं आए। पहिलोपटक डाक्टर उर्मिला कार्कीलाई देखाएका हुन् उनीहरुले। डाक्टर कार्कीले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको जानकारी दिइन्। दुवैलाई त्यसपछि भने निकै राहत मिल्यो।

डाक्टरको सुझाव अनुरुप गर्भ रहेको ३२ सातापछि काठमाडौं आउने योजना बनाएर फर्किए धनगढी तारानगरस्थित घर।

स्थानीय स्वास्थ्य संस्थामा नियमित परीक्षण चलिरहेकै थियो। खगित्राको स्वास्थ्य अवस्था पनि ठीकै रह्यो ३२ सातासम्म। तर, जब भाद्र ११ गते काठमाडौं आए तब एक्कासी उनको खुट्टा अस्वभाविक सुन्निन थाल्यो। तौल पनि अस्वभाविक बढेको थियो। उठ्न, बस्न, सुत्नै गाह्रो।

अचानक देखिएको समस्याका कारण अस्पताल भर्ना गर्न सुझाइन् डाक्टर उर्मिलाले। काठमाडौं मेडिकल कलेजमै भर्ना भएको केही दिनमा उनमा डेंगु समेत देखियो।

त्यस यता चैनको निद्रा परेको छैन पदमलाई।

शिशुहरुको शरीरको विकास पूर्ण होस् भनेर कम्तिमा ८ महिना नपुगी शल्यक्रिया नगर्ने कुरा भएको थियो। तर, खगित्राको अवस्था जटिल बन्दै गयो। र, डाक्टर उर्मिलाकै निगरानीमा आज बिहान शल्यक्रिया भयो।

श्रीमतीको पीरले थलिएका पदम भने बिहानैदेखि फोनमा व्यस्त रहे। किनकि श्रीमतीको पीर त छँदैछ, सँगसँगै जेलिएर आयो अभाव। घरबाट ल्‍याएको सुत्केरी खर्च एक महिना अघिदेखिको उपचारमै लगभग सकिएको थियो। धन्न बस्नका लागि ठाउँ काकाले दिए। र, हालसम्मको औषधी उपचार जेनतेन चल्यो। केही रकम खगित्राको माइतीबाट पनि पठाएका थिए।

अब गर्ने के?

साधारण किराना पसल चलाएका छन् पदमले। त्यही व्यापारबाट ६ जना परिवारको रासन पानीदेखि ६ वर्षीया छोरीको पढाईको खर्च जुटाउनु पर्ने बाध्यता। त्यही पसल पनि एक महिनादेखि बन्द। व्यवसाय ठप्प।

यता डाक्टरले भनेका छन्, पूर्ण रुपले विकास नभएका शिशु हुनाले फोक्सो विकसित गर्ने औषधी दिनुपर्ने हुनसक्छ। एउटा औषधीकै २० हजार रुपैयाँ। एउटा शिशुको दैनिक बेड चार्ज पैतालिस सय। चारजनाको गर्दा अठार हजार। औषधी खर्च र आमाको बेडदेखि उपचार खर्च बेग्लै।

'तनाव त पेटमा चारवटा बच्चा छन् भन्ने थाहा पाउँदादेखि नै सुरु भएको थियो। कसरी हुर्काउनु, कसरी पढाउनु भन्ने बाहेक बढी चिन्ता पछिको कुरा। कसरी स्वस्थ राख्ने, कसरी सुरक्षित जन्माउने भन्ने थियो,' पदम लामो सास फेर्दै भन्छन्, 'जन्मिन त जन्मिए तर खोइ खुशी हुने कि दु:खी म त अलमलमा छु।'

हालसम्म त आमा र सन्तान सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ। तर, प्रतीक्षालयमा पर्खिरहेका पदम भन्छन्, 'ठीक छ त भन्छन् नि। तर, आफ्नै आँखाले नदेखेसम्म कसरी ढुक्क हुनु?'

खगित्राले जन्माएको छोरी १ किलो सात सय ग्रामकी छिन्। त्यसपछि जन्मिएका छोराहरु क्रमश: १ किलो पाँच सय ग्राम, १ किलो र ९०० ग्रामका छन्।

शिशुहरु र आमाको सबै स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि सस्तो अस्पताल खोजेर सार्ने योजनामा छन् पदम।

तर, खगित्रा र शिशुको उपचार गरेकी डाक्टर उर्मिलाले भने अस्पताल प्रशासनसँग सल्लाह गरेर उपचार खर्चमा केही राहत दिलाउने बताएकी छिन्। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'मेरो प्यासेन्टलाई असहज हुने गरी म यसै छोड्दिन नि।'

२० वर्षदेखि केएमसीमा गाइनोकोलोजिस्ट रहेकी कार्कीले पहिलोपटक चम्ल्याहको केस सम्हालेकी हुन्। यसअघि तिम्ल्याहसम्मको केस हेरेको बताउने उनले भनिन्, 'अचम्म त लाग्यो नै सँगै चुनौती र जिम्मेवारी पनि महसुस गरेँ। उहाँको शल्यक्रिया सफल गर्न पाउँदा निकै खुशी छु।'

उनले 'ओभुलेसन इन्डक्सन' र टेस्ट ट्युब मार्फत् गर्भधारण गराउँदा यस्तो नतिजा निस्कन सक्ने जानकारी समेत दिइन्। भनिन्, 'हाललाई यस्तो जटिलताका बावजुद पनि उहाँहरु सबै सकुशल हुनु खुशीको कुरा हो। शिशुहरु प्रिमेच्योर भएकाले सास फेर्न गाह्रो हुने र फोक्सो नफुल्ने समस्या देखिन सक्छ। त्यसको लागि औषधि गर्नुपर्ने हुन्छ। अरु त सबै सामान्य छ।'

डाक्टरको आश्वासन सुनेपछि केही राहत महसुस गरेका पदम भन्छन्, 'हामीले त सकेसम्म गर्ने हो। पहुँच र क्षमता बाहिरको अवस्था नआओस्। ग्लानी बोकेर बाँच्नु पर्ने केही नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell