PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चितवनमा डेंगुको संक्रमण घट्दो क्रममा



चितवनमा डेंगुको संक्रमण घट्दो क्रममा
फोटो : The Conversation ।

चितवन : जिल्लामा प्रकोपका रुपमा देखिएको डेंगु नियन्त्रण हुन लागेको छ। चितवन र देशका विभिन्न जिल्लाबाट डेंगुका बिरामी यहाँ उपचारका लागि आएका छन्।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेंगुको संक्रमण घट्दै गएको छ। उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो। साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए। 

'असोज पहिलो साता यो संख्या घटेर तीन सय हाराहारीमा आएको छ', उनले भने। एउटा अस्पतालबाहेक अन्यमा संकलन भएको तथ्यांकअनुसार असोज पहिलो साता २८९ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ। संक्रमण दर क्रमशः घट्दै गएको र डेंगु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा संक्रमण देखिएको छ। यो संख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म डेंगुको संक्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताए। भदौ अन्तिम साता बहिरंग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेंगुको संक्रमण भेटिएको थियो। बुधवार बहिरंग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेंगुका रहेको उनले बताए।

पहिला प्रकोपका रुपमा देखापरेको नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेंगु देखिएको खतिवडाले बताए। साउनदेखि क्रमशः डेंगुको संक्रमण बढ्दै आएको थियो। डेंगुका कारण दुई जनाको मृत्यु भएको छ।

खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो संख्या अझै घट्दै जाने बताए। फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने उनको अनुमान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell