दीपशिखाले एकाएक बुबाको पुरानो पेस्तोल निकालिन्। र, त्यही पेस्तोलले आफैंलाई मार्ने निर्णय सुनाइन्। सुरुमा विश्वास गरिनन् उनकी आमाले। हाँसेरै टारिन्। तर, जब छोरीको व्यवहारमा गाम्भीर्यता झल्किँदै गयो, उनी आत्तिन थालिन्। र, छोरीसँगको संवाद सामान्य बनाउन हरेक प्रयास गरिन्।
छोरीको मनपर्ने खानेकुराको लोभ देखाइन्। दीपशिखालाई हँसाउनका लागि भद्दा मजाक पनि गरिन्। जति मजाक गरिन् त्यति नै गम्भीर बन्दै गयो, स्थिति। उनले छोरीका लागि गीत पनि गाइन्।
भनिन्, 'तिमीलाई जीवित राख्न म बिहानदेखि नै गीत गाउन तयार छु।'
‘...टाढा टाढा जानु छ साथी, एकफेर हाँसी देउ…’
तर, आमाको गीतले दीपशिखालाई रोकेन।
नाटक 'नाइट मदर' यो प्लटका दृश्य र संवादले मानसिक स्वास्थ्य र त्यसको असरमा आत्महत्यासम्मको स्थितिको बयान गरिरहेको छ।
त्यसो त मानसिक स्वास्थ्य र आत्महत्याको कनेक्सन जोडिने दाबी गर्छन् मनोविदहरु।
नेपाल प्रहरीकै तथ्याङ्क अनुसार २०७५\७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरे। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा आठौं स्थानमा छ।
तथ्याङ्कले विकराल अवस्थाको बयान गरिरहेको भए पनि हाम्रो समाजमा भने यसलाई हाउगुजी मान्नेहरुकै बहुल छ।
दैनिकजसो नै हामीले सुनिरहेका हुन्छौं - 'सबै कुरादेखि दिक्क लागिसक्यो। अब त बाँच्नै मन छैन।'
यस्ता अभिव्यक्ति दिनेलाई हाम्रो जवाफ हुने गर्छ - हावा कुरा नगर न।
उनीहरुको अगाडि यतिमात्र भने पनि पछाडि भने 'साइको' र 'खुस्केट' ट्याग भिराउन हामी समय लगाउँदैनौं।
कसैले आत्महत्याबारे बोल्दा हामीले उसको कुरालाई सजिलै स्वीकार्दैनौं। उसका कुरालाई कि त मजाक ठान्छौं या हावादारी गफ। कदम्, विश्वास गरिहाल्यौं भने पनि सम्झाएर झारा टारिदिन्छौं र छाडिदिन्छौं।
तर कसैको आत्महत्याको खबर थाहा पाएपछि भने हामीलाई महसुस हुन्छ - बिचरा, केही समययता फेसबुकमा निराशाजनक पोस्टहरु मात्र गरेको देखेथें। अथवा, भन्छौं - पछिल्लो समय जिन्दगीदेखि विरक्तिएको कुरा मात्र गर्थ्यो। या, समस्या छ भन्थ्यो मतलव नै गरिएन।
+++
दीपशिखा र उनकी आमा कौसी थिएटरमा मञ्चनरत् नाटक ‘नाइट मदर’का पात्रहरु हुन्। नाटक हेर्न पुग्ने हरेकलाई यी पात्रहरु आफू र आफ्ना वरपरका मान्छेहरु जस्तो लाग्न सक्छ। किनकि हामी भीडमा भएर एक्लाएक्लै छौं। हामी मायाको भोका छौं तर फेसबुकमा भर्खरै फेरेको प्रोफाइल फोटोमा भरपूर ‘लभ’ पाउँछौं। हामीलाई मन नपरेको खानेकुरा पनि इन्स्टाग्राम स्टोरीमा निकै राम्रो लाग्छ। पढाई, जिम्मेवारी, जागिर, सम्बन्ध, देश, सरकार, बेरोजगारी, धोका… यस्ता तमाम विषयले हामीलाई यथार्थभन्दा पर धकेलीरहेछ। त्यति पर जहाँभन्दा पर पुग्ने कुनै ठाउँ छैन।
दीपशिखा त्यहीँ पुगिन् जहाँबाट उनले आत्महत्याको बाहेक अरु विकल्प देखिनन्। नाटक नाइट मदरमा उनकै मनोदशामार्फत् आत्महत्या जस्तो संवेदनशील विषयमा हाम्रो सामाजिक प्रतिक्रियाको चित्रण गरिएको छ।
दीपशिखा पात्रलाई आमाको प्रेमिल कुरा होस् या ठट्टा, खुशी बनाउँदैन। त्यसो त उनीसँग दु:खी हुनुपर्ने पनि कारण छैन।
आमासँगको संवादमा उनी भन्छिन्, 'आमा म थाकेकी छु। म दु:खी छु। मलाई सबैले प्रयोग गरेको महसुस हुन्छ।'
आमाले थाक्नुको कारण सोध्छिन्। तर, उनीसँग जवाफ छैन। त्यसैले नसुने जसरी दराजको कुन भागमा के सामान छ भन्ने जानकारी दिन थाल्छिन्। आमाले जिन्दगीसँग जोडिएका रोमाञ्चक कारणहरु प्रष्ट्याउँदै गर्दा उनी मृत्यु रोज्नुको औचित्यबारे बोल्छिन्।
दीपशिखाको बोली र व्यवहारले जनाउँछ- निराशा, तनाव, दिक्दारीका लागि कुनै कारण नै हुँदैन। आत्महत्या तिनै मानसिक स्थितिको परिणाम हो। त्यसैले आत्महत्याको पनि कारण हुँदैन।
एक साताअघि मात्र पत्रकार शिक्षा रिसालले आफ्नो डिप्रेसनसम्बन्धी अनुभवमा लेखेकी थिइन् - डिप्रेसनको सार यही हो- ‘खुशी लाग्ने कुराले खुशी दिँदैन। हाँसो लाग्ने कुराले हँसाउँदैन। कसैसँग बोल्न नपरोस्, कसैसँग हाँस्न नपरोस्, एक्लै कतै आँखा चिम्लिएर बसूँ-हरबखत यस्तै-यस्तै भइरहन्छ।'
नाटक हेरिरहँदा उनका शब्दशब्द त्यहाँ उतारिए झै लाग्थ्यो।
शिक्षाले लेखेजस्तै मनोदशाबाट दीपशिखा गुज्रिरहेकी हुन्छिन्। जुन मनोस्थिति नेपाली समाजका लागि अझै पनि स्वीकार्य छैन। मानसिक अस्वस्थताबाट गुज्रिनुले परिवारको इज्जत, प्रतिष्ठामा धक्का पुग्ने कथित् डर बोक्छ समाज। परिवारका इज्जतका खातिर पनि यो समस्या आफैसँग सीमित राख्न पीडितलाई बाध्य पारिन्छ।
नाटक हेर्दैगर्दा लाग्छ हाम्रा वरिपरी कति मानिस होलान्? जो जीवन र मरणबीचको फाइदा बेफाइदाको हिसाबमा लागि परेका छन्? कति होलान् जोसँग न हाँस्ने रहर बाँकी छ न रुनुको कारण नै? कति होलान् जो सधैं आफ्नाहरुका बीचमा रहेर पनि एक्ला छन्, अनि कति होलान् जो अरुको सहारा बनेर आफू चाहिँ भित्रभित्रै भत्किरहेका छन्?
यस्ता विषय हाम्रा लागि कुराकानीको प्राथमितामा समेत पर्दैन। कसैसँग सधैं खाना खाएको, खाजा खाएको अपडेट लिन सक्ने हामी उ ठीक छ कि छैन भनेर सोध्न चाहिँ चाहँदैनौं। छोराछोरीलाई ज्वरो आउँदा अस्पताल लगेर जिम्मेवारी पूरा त गरिदिन्छौं तर परीक्षामा आएको नतिजाले पारेको मानसिक असरको मतलव गर्दैनौं। भीडमा हुँदा कोही हाँसेको देख्छौं तर उ एक्लो हुँदा नजिक गएर कुरा गर्न आवश्यक ठान्दैनौं।
नाटकले के सही के गलत सिकाउँदैन। बरु सोच्न बाध्य बनाउँछ- हामीले पनि कसैलाई आफू नजिक राखेर उसलाई झन् एक्लो बनाइरहेका त छैनौं?
आत्महत्या गर्ने साहसी कि कायर भन्ने प्रश्नको सम्बोधन पनि होइन, यो नाटक। मानसिक स्वास्थ्यको महत्व र मानसिक रुपमा स्वस्थ रहन परिवार, समाज, वातावरण आदिले कसरी भूमिका खेल्न सक्छन् भन्नेबारे भने संकेत पक्कै दिएको छ।
नाटकमा गरिएको प्रतीकात्मक प्रयोगहरुले दर्शकको संवेदना छुन्छ। जस्तै - एक दृश्यमा दीपशिखा कोठाभित्र छिर्छिन् र एउटा सुन्दर बट्टा लिएर निस्कन्छिन्। त्यो बट्टा खोल्छिन् र त्यसभित्रबाट पालैपालो सामानहरु निकाल्छिन्। ती सामान उपहारहरु हुन्- आफ्नो दाइ, भाउजु आमाका लागि।
मञ्चमा दीपशिखाले त्यो बट्टा खोल्दैगर्दा लाग्छ त्यो बट्टा उनीभित्रको गुनासोको पोको हो। लाग्छ, उनी त्यो बट्टा खोलेर आफूभित्रको उकुसमुकुस र छट्पटाहट पोख्दै छिन्। लाग्छ, उनी सामानसँगै कसैप्रतिको गुनासो, चिन्ता, प्रेम, स्नेह पालैपालो निकालिरहेकी छिन्।
उनले आमाका लागि दिएको उपहार भने केही भिन्न छ। ती कुनै बहुमूल्य सामान होइनन्। ती त वर्षौदेखि घरभित्र यसै छाडिएका कुरा हुन्, जसरी दीपशिखा एक्लै छाडिइन्। जसरी ती सामान हुनु नहुनुले केही असर गरेन, त्यसरी नै दीपशिखा हुनु नहुनुले पनि केही असर नगर्न सक्छ।
यी संकेतहरुले आमालाई दीपशिखा जाँदाजाँदै मात्र घोच्छ। उनलाई रोक्न लागि आमाले ‘म्यानीक्योर’को बहाना त बनाउँछिन्। तर, यतिन्जेल ढिलो भइसकेको हुन्छ।
दीपशिखा आमासँग बिदा लिएर जान्छिन्। उनले त्यो कठोर निर्णयलाई आत्मसात् गर्छिन् या गर्दिनन्? दर्शकले आफूअनुकूल बुझ्न सक्छन्।
नाटक सकिँदासकिँदै आउने उज्यालो प्रकाशले सकारात्मक आशातिर संकेत त गर्छ। तर, त्यति नै भयावह सुनिन्छ उनकी आमाको चित्कार।
+++
नाटकमा दुई जना मात्र पात्र देखिन्छन्। तर, यी दुई पात्रले दर्शकको ध्यान भङ्ग हुन दिँदैनन्। बरु दीपशिखाका बुबा, दाजु, भाउजुदेखि पूर्व पति र छिमेकी महिलाबारे कल्पना गर्न लगाउँछन्।
‘आमा तपाईं बुबालाई प्रेम गर्नुहुन्थ्यो?’, दीपशिखाको यही प्रश्नसँगै आमामा छाएको अन्योलले उनको मनोदशाको अँध्यारो पाटो झल्काउँछ।
नाटकमा संवाद सशक्त छ जसमा जीवन भरेका छन् कलाकारहरु आकांक्षा कार्की र लुनिभा तुलाधरले। सुदाम सिकेको निर्देशन रहेको नाटक ‘नाइट मदर’मा पात्रहरुले गर्ने साना साना गतिविधिहरु यथार्थपरक छन्। जस्तै - दीपशिखा बोलिरहँदा आमा पात्र चुपचाप सुन्दिनन्। उनी केही गरिरहेकी हुन्छिन्। बुनिरहेको स्वेटर नाप्ने वा दूध उमाल्ने।
मार्सा नोर्म्यानले १९८१ मा लेखेको नाटक पहिलोपटक १९८३ मा मञ्चन भएको थियो। ‘नाइट मदर’ले सोही वर्षको पुलिट्जर पुरस्कार समेत पायो। नाटकले तत्कालीन समयमा मानसिक स्वास्थ्यका साथै महिलाहरुको सामाजिक स्थितिबारे बहस पनि छेड्यो। नेपाली समाजमा त यसबारे बहस सुरुसमेत भएको छैन। त्यसैले लेखकले नाटकमार्फत् उठाएको मुद्दा हाम्रो समाजको हकमा उत्तिकै सान्दर्भिक छ। नाटक फुलपातीको दिनसम्म हरेक साँझ ६ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुनेछ।