अघिल्लो हप्ताको आइतबारदेखि रामकोटकी माइली नगरकोटीको दैनिकी फेरिएको छ। अरु दिन बिहान उठेर घरधन्दामा लाग्ने उनले त्यो जिम्मेवारी श्रीमानलाई छाडिदिइन्। अनि, आफू भने कोदालो र बोरा बोकेर घर नजिकैको पाखोतिर लाग्न थालिन्।
उनीमात्र होइन, गाउँका पाँच सात महिला यसैगरी पाखोतिर धाउन सुरु भयो।
त्यहाँ पुगेर उनीहरु सबै खाली पाखो खने। माटो निकाले र सँगै लगेको बोरा भरे। र, नाम्लो लगाएर बोके। रामकोटबाट करिब तीन किलोमिटर हिँडेपछि मात्र पुगिन्छ, गाडी चड्ने ठाउँ। सीतापाइला पुगेपछि भारी बोक्ने जिम्मा गाडीलाई।
सीतापाइलाबाट उनीहरुको समूह टुक्रियो। कोही कलंकीतिर लागे त कोही बलाजुतिर। केही भने न्यूरोड र असन जाने गाडीतिर लागे। गाडीमा माटो चडाउन भने सहज छैन। फोहोर हुने र ठाउँ ओगट्ने भन्दै कतिपयले त उनीहरुलाई देखेपछि गाडी नै रोक्दै रोक्दैनन्। कतिले रोके पनि चडाउन चाहिँ मान्दैनन्। त्यसैले प्राय: पर्नेभन्दा २०/३० रुपैयाँ ज्यादा भाडा तिर्ने सर्तमा गाडी चड्छन् उनीहरु।
माइली नगरकोटी भने माटो बोकेर वसन्तपूर धाउन थालिन्। उनीसँगै आए केही साथी। उनीहरुले सडक छेउ माटो फिजाए।
र, भन्न थाले- ‘आउनुस् दिदी मलिनो माटो छ। राम्रो जमरा उम्रिन्छ।
दाइ आउनुस् ३० रुपैयाँ मात्र,
पच्चिसमा लानुस् भाइ।’
प्लास्टिकको भाडोमा तौलेर बेच्छन् माटो। केहीले बार्गेनिङ गर्दागर्दै १० रुपैयाँसम्म पनि पुर्याउँछन्। केहीले भने जति भन्यो त्यति थपक्क तिर्छन्।
जमरा राख्ने माटो बेचिरहेकी माइली नगरकोटीसँग हामीले प्रश्न गर्यौं - 'यो माटोमा केही विशेष मिसाएको छ कि सामान्य नै हो?'
‘काठमाडौंमा सिमेन्टीको घर बाहेक खाली जमिन नराख्नेका लागि विशेष नै हो नि यो माटो। हामीले यसरी माटो नल्याए कहाँ रोप्छन् जमरा?’ नगरकोटीले उल्टै प्रश्न गरिन्।
माटोसँगै जौ, गहुँ, मकै बोकेर ल्याउँछन् उनीहरु, आफ्नै बारीमा उब्जाएको। यसरी जमरा छर्न चाहिने अन्न र माटो बेच्न राख्ने रामकोटका यी महिलाहरु मात्र भने होइनन्।
ललितपुर, भक्तपुर, कीर्तिपुरदेखि पनि यसैगरी बेच्न आउनेहरु भेटिन्छन्।
कीर्तिपुरदेखि हरेक बिहान इन्द्रचोक धाउँछिन्, ज्ञानी श्रेष्ठ। फूल र सिजनल सामाग्रीको व्यापार गर्छिन् उनी। जनै पूर्णिमामा धागो, नाग पञ्चमीमा नागको फोटो, होलीमा रङ, तिहारमा दियो र दशैंमा माटो र जमरालाई चाहिने अन्न।
उनले भीमढुङ्गाबाट ल्याइएको माटो तीन बोरा किनेकी छिन्, बोराको चार सयमा। उनले बेच्दा भने एक जग माटोको चालिस रुपैयाँ पर्छ।
‘आफैँ बोकेर ल्याउनेहरुलाई नाफा न घाटा जतिमा पनि दिन्छन्। हाम्रो त पैसा पर्या छ। पाँच दशमा दिएर के गर्नु?’, उनले सुनाइन्।
यसरी माटो बेचेर बचेको रकमले दशैंको खाना खर्च नै जुट्ने उनको तर्क छ। भन्छिन्, 'महङ्गी बढ्यो। दशैंमा खर्च भएन भन्दै किचकिच गर्नुभन्दा सानै भए पनि व्यापार गर्नु ठीक जस्तो लाग्छ। छैन भनेर बसे कहिले पनि हुँदैन। केही गर्न खोजे यी जसरी पनि जुट्छ,’ उनले वरिपरि माटो बेच्न बसेका सबैतिर देखाइन्।
वसन्तपुरमै डेरा गरेर बस्ने पेमा तामाङले पनि यस वर्ष माटोको व्यापार थालिन्। भक्तपुर, ललितपुर र काठमाडौंका गाउँतिरबाट आउनेहरुसँग माटो र अन्न किनेर बेच्न थालेकी हुन् उनले। अरु बेला बसन्तपुरबाट झोछे निस्कने गल्लीमा फूल बेच्छिन् उनी। भनिन्, 'दिनभर शहरको भिड र रमाइलो हेरेर बस्नुभन्दा यसरी सामान राख्दा ठीक जस्तो लाग्यो। टाइमपास नि हुने, आमदानी पनि।‘
यसरी विभिन्न ठाउँबाट बोकेर ल्याइने माटोहरु फरक फरक शूल्कमा उपलब्ध छन्। सबैभन्दा महङ्गो चाहिँ रातो माटोको पर्छ, जुन हत्तपत्त पाइँदैन। यो माटो भने जमरा छर्नभन्दा पनि लिपपोत गर्नका लागि प्रयोग गरिन्छ।
घटस्थापनाका दिनसम्म हरेक वर्ष यसरी नै माटो बेच्दै आएकी छिन् गुन्डुकी यशोदा बिसुन्केले पनि। यसरी माटो र घरमा भएको जौ, मकै, गहुँ, धान बेच्न ल्याउँदा दैनिक एक हजारदेखि दुई हजारसम्मको व्यापार हुने बताउँछिन् उनी।
'काम गरेर खान केको लाज, केको अप्ठ्यारो? खेर जाने माटो र किराले खाएर सकिने अन्न बेच्दा दुई छाक मीठो त खान पाइन्छ,’ उनी भन्छिन्, 'हामीलाई पनि दशैं आउनु पर्यो नि होइन र?’