PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

'... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल



स्वेच्छा राउत

'... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

दशैंमा भित्री शहरको रौनक नियाल्न असन, इन्द्रचोकको गल्लीतिर थियौं म र फोटो पत्रकार समर्थ रञ्जितकार।

लुगा, मिठाइ, चङ्गा, मुर्ति, पूजाका सामाग्री लगायत सामानहरुले बजारमा बेग्लै रौनक छ। सडकमा सवारीको जाम छिचोलेर गल्लीभित्र पस्दा मान्छेको उस्तै जाम। कुरा गर्दै र फोटो लिँदै थियौं। दशैं नजिकिँदै गर्दा यस्ताखाले रिपोर्टिङमा एक किसिमको मजा पनि हुने गर्छ।

चिकंमुगलस्थित एक चङ्गा व्यापारीसँग कुरा गर्दै थियौं हामी। एक्कासी फोन बज्यो। फोन अफिसबाट रहेछ।

'कता हो? राष्ट्रिय सभा गृहमा नेपाल खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले जाँदैछन्। त्यतै जानु है। केही बोल्न सक्छन्।'

अह्राएको काम त गर्नु पर्‍यो नै। त्यसैले समर्थलाई फोटो खिचिसकेर उतै आउनु भन्दै सभागृह पुग्ने हतारोमा निस्किएँ।

कमलाक्षीबाट त्रिचन्द्रतिर निस्किएर घन्टाघर हुँदै सभागृह पुग्दा मानिसको भिडबाट बचिने। त्यही रुट समातेँ। त्यसैले हतारहतार जमलको पुलबाट तल झरेँ। झर्नासाथ मेरो पाइला झ्याप्पै रोकियो। किनकि अगाडि दिसाको थुप्रो रहेछ। मानिसको काम आउजाउ हुने यो रुटबाट दिसामुक्त घोषणा कार्यक्रम स्थल सभागृह जान छिटो हुने मेरो निर्णय त ठीकै थियो। तर '...लाई भन्दा देख्नेलाई लाज।'

बाटो छलेर सरासर केही अघि बढेँ। फेरि अर्को थुप्रो। मनमनै लाग्यो - यतिसारो जथाभावी दिसा छ, देश चाहिँ दिसामुक्तको होडमा।

अगाडि बढ्दै जाँदा त्यस्ता दृश्य तारन्तार देखिए। र, एकाएक मेरो मन मोडियो। सरक्क फर्किएँ र ती दृश्य मोबाइलको क्यामेराले कैद गर्दै हिँडेँ। मैले दिसाको फोटो खिचेको देखेर हाँस्नेहरु पनि थिएँ। तर, मलाई सरकारले गर्न लागेको नयाँ घोषणा र देखिएको दृश्यको तालमेल देखेर झोक चलिसकेको थियो।

कम्तिमा आजको दिन नै सही, महानगरपालिकाले त्यसरी फुटपाथमा थुप्रिने दिसा उठाइदिएको भए मेयर विद्यासुन्दरको के जान्थ्यो? मैले दिसाका दृश्यहरु खिचिरहँदा सायद मेयर विद्यासुन्दर शाक्य देश खुला दिसामुक्त घोषणासभामा मुस्कुराइरहेका थिए।

देश नै खुला दिसामुक्त भइरहँदा आम बटुवाले काठमाडौंको मुख्य सडकमा कति खेर कहाँनेर कसको मलमा कुल्चिनु पर्ने हो थाहा नहुने अवस्था देख्दा औपचारिक घोषणामाथि नै व्यङ्ग्य भइरहेको लाग्यो। सबैभन्दा धेरै दिसा त जमलको आकाशेपुलमुनि रहेका पसल अगाडि नै पो रहेछ त। त्यहाँ पसल गर्नेहरुको हरेक दिनको पहिलो काम दिसालाई बालुवाले छोप्नेबाट सुरु हुने रहेछ।

तपाईँको पसल अगाडि नै यस्तो?

मेरो प्रश्नमा जमलको पुलमुनि सटरका कुखुराका चल्ला बेच्न बसेकी मैया तामाङले सजिलै जवाफ दिइन् - 'गरेर मर्छन् त के गर्नु?'

नजिकै सार्वजनिक सौचालय छैन। त्यसैले उनलाई त यी दृश्य सामान्य लाग्न थालेको रहेछ। उनले उल्टै बालुवाले पुरेको ठाउँहरु पो देखाइन्।

'आउनै पर्‍यो व्यापार गर्नै पर्‍यो। घिनाएर के गर्नु? बरु बालुवा बोकेर आउने, सरलक्क छोप्दिने आफ्नो काम गर्ने।'

उनले दिएको यस्तो अभिव्यक्तिले व्यङ्ग्य गरिरहेको थियो। तर, सुन्ने कसले? देश सिंगै खुला दिसामुक्तको रमझममा व्यस्त हुँदा, फुर्सद कसलाई पो छ र?

 

यी शब्दहरु पढिरहँदा 'ह्या आचीको कुरा के लेखेको?' भन्ने पनि लाग्न सक्छ। एक हिसाबले सोच्दा हो पनि। तर, त्यही दिसामुक्त देश घोषणा गर्न सरकारले तामझाम गरिरहँदा वास्तविकता के छ भन्ने नदेखाइ रहन सकिएन त्यो पनि मध्य शहरको सुविधासम्पन्न ठाउँमा।

 

र, अन्त्यमा

यो तस्बिर हो, भारतको उत्तराखण्डको। देवप्रयाग नजिकैको यो हाइवेको हालत नेपालको अति दुर्गम हिमाली भेगकै जस्तो छ। मानिसहरुको अवस्था पनि उस्तै। तर, यहाँ सडकतिर 'दिसामुक्त' भनेर लेखेको चाहिँ देख्न पाइन्न। ठाउँठाउँमा यस्ता अस्थायी 'सुलभ सौचालय' चाहिँ भेटिरहन्छ। त्यसैले त्यहाँको यात्रा गर्दा पानी कम पिउनुपर्ने वा खुलामा सौच गर्नुपर्ने अवस्था नै रहन्न। राम्रो अभ्यास त जहाँबाट पनि सिके पनि के बिग्रिन्छ र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell