PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केही नगरेको दाबी गरिरहेका महरा कसरी भए राजीनामा दिन तयार?



केही नगरेको दाबी गरिरहेका महरा कसरी भए राजीनामा दिन तयार?

काठमाडौं : सोमवार साँझ एकाएक अनलाइनहरुमा नेपालको राजनीतिलाई नै तरङ्गित पार्नेगरी एउटा खुलासा भयो - संसद् सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको संगीन आरोप। हाम्राकुरा अनलाइनमा अजयबाबु शिवाकोटीले भिडियोसहित रिपोर्ट प्रस्तुत गरेपछि घटना छरपस्ट भयो।

हाम्राकुराले पीडित महिलाको भिडियोमात्र ल्याएन, तिनै महिलालाई सभामुख महराले फोन गरिरहेको दृश्यसमेत कैद गरेर सार्वजनिक गर्‍यो। महरा मदिरामा मस्त हुँदै र महिलाको दुर्व्यवहारमा उत्रिएको घटना सनसनीखेज हुनु स्वाभाविक नै थियो। किनकि भलाद्‍मी छवि कायम गरेका उनीबाट यस्तो अपेक्षा त के शंकासमेत गर्न सकिँदैनथ्यो।

सायद, त्यसैको फाइदा लिन खोजे महराले। उनले सुरुमा महिलाको बयानलाई त सोझै नकारे। आफ्नो सचिवालयबाट राति नै वक्तव्य जारी गर्न लगाएर उनले आफूलाई चोख्याउन खोजे। सम्पर्कमा पुगेका मिडियालाई उनले सोझै घटनालाई झुट भएको दाबीसमेत गरे। आफूमाथि खेलबाड गर्न खोजेको आरोप लगाउनसम्म भ्याएका महराले तर आखिर राजीनामा नै दिन पर्‍यो। आखिर कसरी राजीनामा दिन बाध्य भए त उनी?

कसरी राजीनामा दिन तयार भए महरा?

साँझदेखि शुरु भएको महराको चरित्रमाथिको प्रश्न राष्ट्रिय बहसको विषय बनिसकेको थियो। पीडित महिलाले घटनाक्रम जसरी सार्वजनिक गरिन् त्यसको काउन्टरमा उनको सचिवालय परिचालित भइसकेको थियो, उनलाई जोगाउन। 

तर, महराको सचिवालयको प्रयास निरर्थक साबित हुँदै गइरहेको थियो। नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता सुवास नेम्वाङले महरालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गराए। बिहानै भएको त्यो सम्पर्क एउटा प्रमुख कारण बन्यो महराको राजीनामाका लागि। सोमवार  साँझमात्र इलामबाट फर्किएका नेम्वाङ मंगलवार बिहानैबाट सक्रिय भएका थिए। 

अनलाइन मिडियाबाट सुरु भएको महरा प्रकरणले सामाजिक सञ्जाल ढपक्कै ढाकिसकेको थियो। नेकपाबाट सभामुख बनेका महराको कदम मुलुकको सबैभन्दा ठूलो दलका लागि गलपासो बन्दै गइरहेको  थियो। नेकपाकै नेताहरुले ओली र प्रचण्ड दुवैलाई महरा प्रकरण 'निर्मला प्रकरणभन्दा ठूलो हुने र त्यसले पार्टीलाई धेरै क्षति पुर्‍याउने ब्रिफ गरिसकेका थिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैले महरालाई जोगाउने जोखिम मोल्न चाहने अवस्था थिएन।

प्रचण्ड र ओलीसामु नै झुटो बोले महराले

महराको विषय व्यक्तिकेन्द्रित विषयमा रहेन। महरासँग कुरा गर्नुअघि शीर्ष दुवै अध्यक्षले घटनाबारे विस्तृत विवरण लिइसकेका थिए। प्रहरीबाट पनि उनीहरुले पर्याप्त सूचना लिइसकेका थिए। पार्टीलाई क्षति हुने विषयमा सचेत दुवै नेताले महरासँग कुरा पनि गरे। महराले अरुलाई जस्तै अध्यक्ष द्वयलाई पनि उही कुरा दोहोर्‍याए- मलाई फसाउन खोजेको हो, केही पनि त्यस्तो भएको छैन। 

सेक्युरिटी च्यानलबाट सबै घटनाक्रम बुझिसकेका ओली र प्रचण्डका लागि उनले कति झुट बोलिरहेका छन्, प्रस्ट थाहा थियो। त्यसमाथि प्रहरीले घटनामा नेग्लिजेन्स गरेकोमा पनि दुवै नेता जानकार थिए। महराले घटनालाई 'हुँदै होइन'मात्र लगाएपछि दुवै नेताले ठाडै भनेका थिए- तपाईँ गएको थाहा भइसक्यो। अब राजीनामा दिनुस्। 

दुई अध्यक्षबाट आएको एकै बोलीले महराको केही समयअघिसम्मको अडान डगमगायो। राजीनामा नदिए कार्वाही गर्नेसम्मको कुरा उठाएपछि महराको दाबी अडिरहने अवस्थामा रहेन। सबै सूचना दुवै शीर्ष नेतासँग रहेको थाहा पाएपछि गलेका महराले स्विकारेका थिए- 'गएको त हो तर सामान्य कुरा गर्नमात्र।' 

सचिवालय बैठकमा एक स्वर

सभामुखले यौन दुर्व्यवहार गरेको विषय सानो हुने कुरै भएन। त्यसैले नेकपाले अपर्झट सचिवालय बैठक डाक्नुपर्ने अवस्था आयो। सभामुख हुँदा पार्टी सदस्यता त्याग्नुपर्ने औपचारिकता पूरा गरे पनि माओवादीको 'जनयुद्ध'देखि अहिलेको अवस्थासम्म शीर्ष तहमा रहेका उनी नेकपाभन्दा बाहिर रहने कुरै रहेन। उनको उपस्थिति पार्टीसँग जोडिनु स्वाभाविक भयो। त्यसैले एकाएक सचिवालय बैठक डाकिएको थियो।

सचिवालय बैठकमा उनीप्रति सहानुभूति राख्ने आधार कुनै नेतासँग थिएन। कुनै पनि हालतमा नेकपाले उनलाई 'वन' गर्न सक्ने अवस्था छैन भन्ने नेताहरुको तर्क रह्‍यो सचिवालय बैठकमा। उनको विषयमा अनुसन्धानको विषय के हुने भन्ने पनि छलफलमा छिर्‍यो तर महान्यायाधिवक्तासँग सल्लाह गरेर त्यसलाई टुङ्ग्याउनेमा नेताहरु पुगे। 

बैठकले प्रस्ट शब्दमा उनलाई सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्‍यो। त्यतिमात्र होइन, उनीमाथि हुने अनुसन्धानमा पार्टीको प्रभाव कतैबाट पर्न नहुने तर्क नेताहरुको थियो।

यस्तो निचोडमा पुग्नुअघि महान्यायाधिवक्ता अग्नि खरेलसँग नेताहरुले यस विषयमा छलफल गरेका थिए। खरेलले यस प्रकरणमा महराको पक्षमा उभिने कुनै आधार नभएको तर्क गरेका थिए। उनको राजीनामा नै सबैभन्दा सजिलो विकल्प सुझाएका थिए उनले।

बाटो बिराएको प्रहरी पुन: परिचालित

महराको यस प्रकरणमा प्रहरी पुन: बदनाम भएको छ। गत आइतवार भएको घटनाबारे प्रहरीलाई पीडितले जानकारी गराउँदा पनि ठूलो दलसँग जोडिएका हाई प्रोफाइल नेताप्रति निरीह नै रह्यो। सोमवारसम्म पनि प्रहरीले घटनाबारे बेखबर रहेको दलील गरिरह्यो। पीडितकहाँ पुगेर फोटो खिचेर फर्केको प्रहरीले सभामुख भएका कारण महराको विषयमा अघि बढ्न चाहेन।

तर, शीर्ष तहबाट महरालाई राजीनामा दिन निर्देशन दिएको खबर लगत्तै प्रहरी दोस्रोपटक ती पीडित महिलाकहाँ पुगेको छ। राजनीतिक हाई कमान्डको सिग्नलसँगै प्रहरीले अनुसन्धानलाई फेरि थालेको छ। भलै महरालाई निर्दोष साबित गर्न एउटा ठूलै समूह सक्रिय भइसकेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच घटनाको बारेमा छलफल समेत भएको थियो।

कतैबाट आधार नपाएपछि महरा राजीनामा दिने अवस्थामा पुगे। तर, राजीनामा दिँदा पनि उनले शीर्ष नेताको निर्देशनलाई छल्ने प्रयास भने जारी राखे। सचिवालयले उनलाई दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। तर, उनले छानबिन अवधिभरिका लागि भन्दै राजीनामा उपसभामुखलाई पेश गरेका छन्। सचिवालयले उनीबाट दुवै पदको राजीनामा अपेक्षा गरेको थियो। तर, उनले एउटा पदबाट मात्र राजीनामा गरेर आफूलाई निर्दोष प्रमाणित गर्ने आधार जोगाएर राखेका छन्। यद्यपि, अहिलेसम्मको विकासक्रम हेर्ने हो भने नेकपाको शीर्ष तह र कार्यकर्ता भने राजनीतिक विरासतका लागि उनका कर्तुतलाई माफ गर्ने मुडमा छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell