PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पुल निर्माणको माग गर्दै २५ दिनदेखि अनशन, सरकारले नसुने माइतीघर मण्डला पुग्ने बैतडीवासीको चेतावनी



पुल निर्माणको माग गर्दै २५ दिनदेखि अनशन, सरकारले नसुने माइतीघर मण्डला पुग्ने बैतडीवासीको चेतावनी
फोटो : Google Map।

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि २५ दिनदेखि रिले अनशन भइरहेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारका तर्फबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नगरुन्जेलसम्म अनशन जारी रहने उनले जानकारी दिए। रिले अनशनमा भजनकीर्तन, देउडा गीत गाउँदै सरकारलाई दबाब दिने गरिएको संघर्ष समितिका सदस्य दीपेश शाहले जानकारी दिए। झुलाघाट नाका सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको नाका भएकाले यो नाकामा पुल आवश्यक रहेको स्थानीय बताउँछन्। पुल निर्माणका लागि आफूहरुले दशकौँदेखि दबाब दिँदै आएको भए पनि सरकारले नसुनेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले गुनासो गरे।

अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन्। अनशनमा उद्योग वाणिज्य संघसँगै निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, पत्रकार महासंघ तथा होटल व्यवसायी संघले समेत ऐक्यबद्धता जनाएको छ। सरकारी पक्षको उदासीनताका कारण अनशन अझै लम्बिने देखिएको छ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरुले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनशनमा सहभागीले बताएका छन्। आफूहरुका माग पूरा गर्नेतर्फ सरकार सचेत नभए माइतीघर मण्डलामा अनशन थाल्नेसमेत चेतावनी दिइएको छ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ। यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो। करीब १५० वर्ष अगाडि मात्रै इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि अनशन शुरु भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell