काठमाडौं : चिकंमुगलबाट भीमसेनस्थान जाने गल्लीको बायाँपट्टी एउटा सत्तल छ। राजुभाइ रञ्जितकारले करिब ४५ वर्ष अगाडि सञ्चालनमा ल्याएको यो पसलमा मिठाइ, बिस्कुट, चाउचाउ र खेल्ने कुराहरु हुन्थे। अनि यसकै एउटा कुनामा खात लगाएर राखिएको हुन्थ्यो चङ्गा।
चङ्गासँगै मादा लगाइएका धागोका प्याकेट र लट्टाइहरु पनि हरेक वर्ष दशैं आउनुअघि गोदामबाट झिकिन्थ्यो र देखिने गरी राखिन्थ्यो। वर्षभरि यसै राख्दा केही चङ्गा च्यातिन्थे, केही ओसिन्थे त केही किराले खाएरै प्वालै प्वालका हुन्थे। धागोहरु पनि मक्किएका हुने। काम नलाग्ने जति सबै फालिन्थ्यो अनि बाँकी पसल वरपर, भित्र बाहिर झुण्डाइन्थ्यो।
हरेक वर्ष दशैंमा पुरानाबाहेक नयाँ चङ्गा पनि थपिन्थ्यो, पसलमा। चङ्गा नआइ राजुभाइको परिवारको दशैं आउँदैनथ्यो।
दशैं लागेपछि पसलमा भीड हुन्थ्यो। अनि चङ्गा पनि बिक्थे। राजुभाइलाई पसल सञ्चालनमा उनकी श्रीमती र दुई छोराले साथ दिन्थे। सबैजना खट्दा पनि भ्याइ नभ्याइ हुन्थ्यो। व्यापारबीच साउन-भदौमै चङ्गा झिकेर उडाउन थाल्थे राजुभाइका कान्छा छोरा दीपेन्द्रकुमार।
एकदिन दीपेन्द्रको स्कुल बिदा थियो। बिहान बुबासँगै पसल गए। सामान मिलाउन सघाए। बुबा व्यस्त भएको देख्नासाथ सुटुक्क एउटा चङ्गा झिके अनि हिँडे घरतिर। खाटमुनि थन्क्याएर राखेको लट्टाइ निकाले र चङ्गामा कका कसे।
त्यसपछि घर वरपरका साथीहरु जम्मा गरेर चङ्गा उडाउन थाले।
एक्कासी कोही ठूलो स्वरले झपार्दै उनीहरु नजिक आयो। भन्यो- 'मान्छेको बाली उम्रेको छैन। तिमीहरु चङ्गा उडाउने? पख् तिमीहरुको लट्टाइ नभाँची छाड्दिनँ।'
सबै भागे। दीपेन्द्र पनि आत्तिदै बुबाछेउ पुगे। सुरुमा त डरले केही पनि सुनाएनन्। बुबाले छोराको भावभङ्गीमा नबुझ्ने कुरै भएन। के भयो भनेर सोधिहाले। त्यसपछि उनले घटनाको बेलिविस्तार लगाए।
त्यसदिन बुबाले उनलाई फकाउन निकै रोचक किम्वदन्ती सुनाए।
'शरद ऋतु किसानहरुको लागि आरामको समय हो। भर्खरै रोपाईं र खेतीबाली सकिएको हुन्छ। खेतीका लागि त पानी चाहियो। त्यसैले वर्षा ऋतुभरि आकाशे पानीको खुब महत्व हुन्छ। तर, जब खेती सकिन्छ तब पनि निरन्तर वर्षा भए बाली नाश हुन्छ।
त्यही वर्षा रोक्ने आग्रहको सन्देश पुर्याउन किसानहरुले चङ्गा उडाउँथे रे! उनीहरुले वर्षा र सहकालका देव इन्द्रसम्म 'पानी पुग्यो' भन्ने जनाउ दिन चङ्गाको प्रचलन सुरु गरेका हुन्।'
बुबाले किम्बदन्ती सुनाइसकेपछि दीपेन्द्र प्रष्ट भए, आफूले खेतीको मौसम नसक्किइ चङ्गा उडाएको रहेछु भन्ने। त्यसपछि उनले कहिले पनि अनुमतिबिना चङ्गा उडाएनन्।
'सानो छँदा त बुबाले सुनाउनु भएको कथामा विश्वास लाग्थ्यो। अहिले विश्वास छैन। तर, आम मान्यतालाई गलत हो भन्न पनि मिलेन नि,' दीपेन्द्रले सुनाए। बालापनमा चङ्गासँगको स्मरण गरिरहेका उनी अहिले ४६ वर्षका भइसके।
बुबाले करिब ४८ वर्षअघि खोलेको त्यही साँघुरो चङ्गा पसल अहिले उनैले सम्हाल्छन्।
बुबाको निधनपछि आमाको जिम्मेवारी बनेको थियो पसलको। पसलकै कमाइले परिवारको दैनिकी चल्थ्यो। त्यसैले आमालाई सघाउन लागि पर्थे दाजु र उनी पनि। आमा र दाइ दुवै बितेपछि भने पूर्णतया उनको बनेको छ चिकंमुगलको चङ्गा पसल।
दीपेन्द्रकी एक छोरी छिन्। पढ्दै गरेकी उनलाई चङ्गामा रुची छैन। त्यसैले आफू पछि पसल सम्हाल्ने कोही पनि नहुनेमा ढुक्क छन् उनी। भन्छन्, 'आफू रहुन्जेल मजाले चलाउँछु। किनकि यो पसलसँग मेरो बाल्यकाल जोडिएको छ। मेरो दशैं खर्च जोडिएको छ। त्योभन्दा बढी मेरो बुबाको याद। यो पसल सम्हाल्नुको गर्व पनि जोडिएको छ।'
उनको पसल खोज्दै आउने नियमित ग्राहक धेरै छन्। ग्राहक त आउँदै जाँदै गर्छन्। दीपेन्द्रलाई बढी खुशी चाहिँ पसलका यादहरुले नै दिलाउँछ। अझ टोलका बुढापाकाहरु उनकै पसल वरिपरि जम्मा भएर गफ गर्दैगर्दा उनलाई आफ्ना पुराना दिन झल्झल्ती हुन्छ। त्यसमाथि चिकंमुगलको यो चङ्गा पसल राजुभाइ र उनका साथीको जक्सन बनेको छ।
+++
दीपेन्द्रको पसलमा भारतको कोलकाता, बरेली, लखनउबाट चङ्गा तथा धागोहरु आउँछ। लट्टाइ भने नेपालमै उत्पादन भएको बेच्छन्। हरेक वर्ष तीन लाखसम्मको चङ्गा व्यापार गर्दै आएका छन् उनले।
पाँच रुपैयाँदेखि चार सय रुपैयाँसम्मको चङ्गा छ उनको पसलमा। प्लास्टिकका चङ्गाको सबैभन्दा कम मोल र कपडाको चङ्गा सबैभन्दा महङ्गोमा बिक्री हुन्छ। विशेषत: सजाउनका लागि प्रयोग हुने कपडाको चङ्गा एक सय पचासदेखि चार सय सम्मका छन्। तर, सबैभन्दा बढी बिक्री हुने चाहिँ कागजका रङ्गिन चङ्गा नै हुन्। ती चङ्गाको अहिले पन्ध्र रुपैयाँ पर्छ।
उनी आफैँ पनि चङ्गा बनाउँछन्, नेपाली कागजको। त्यसको बजार मूल्य ३० देखि ४० रुपैयाँसम्म तोकेका छन्। नेपाली कागजको चङ्गा भारतीय रङ्गीन कागजको चङ्गाभन्दा बलियो हुने उनको दाबी छ।
'तर भारतीय नै बढी बिक्छ। मान्छेलाई त्यसैको बानी परिसक्यो,' उनले भने।
चङ्गा धेरै बिके पनि उनको फाइदाको ज्यादा हिस्सा भने धागो व्यापारमा छ। चालिस रुपैयाँदेखि सुरु हुने धागोको मूल्य हजार रुपैयाँसम्म छ। धागोको गुणस्तर र लम्बाइका आधारमा मूल्य तोकिएको हो। बजारमा लखनउबाट आयातित 'पाण्डा धागो' प्रचलित छ। 'चङ्गाको बजार ठूलो छ तर दाम धेरै छैन। धागोको ठीक उल्टो। जति फाइदा हुन्छ सबै धागोबाटै हुन्छ भन्दा फरक पर्दैन,' उनले बताए।
लट्टाइको हकमा भने नेपाली उत्पादन भरपर्दो भएको बताउँछन् उनी। जसको बजार मूल्य नब्बेदेखि सात सय रुपैयाँसम्म पर्छ।
वर्षौं भयो दीपेन्द्रको जीवन चङ्गासँग बितेको। अहिले भने उनलाई चङ्गा रोमाञ्चकता र उत्साहको प्रतीक जस्तै लाग्छ। बाल्यकालमा उनलाई आफ्नो बुबाको पसल साँघुरो भए पनि सबैभन्दा सुन्दर लाग्थ्यो। किनकि टोलकै अरु पसलबाट मसलाको गन्ध आउँथ्यो। धेरैजसो तेलका पसलहरु थिए त्यहाँ। खानेकुराहरुमा मौरी भन्किइरहेको हुन्थ्यो। तर, उनीहरुको पसलमा रङ्गीचङ्गी चंगा र लट्टाइहरु सजिएका हुन्थे।
शरद ऋतु भर्खर सुरु हुँदा चल्न थालेको बतासमा उडाइने चङ्गा उनलाई स्वतन्त्रताको प्रतीकजस्तो पनि लाग्छ।
'मरी मरी खेतीपाती गर्नेहरु कुटो कोदालोबाट स्वतन्त्र हुने बेला यही त हो नि। यही बेला हो रमाइलो गर्न, समय बिताउन चङ्गा उडाउने चलन चलेको,' उनले भने।
अब भने चङ्गा रमाइलाका लागि मात्र खेलिने बस्तु रहेन। स्कूल, कलेज, संघ संस्थाहरुले चङ्गा उडाउने प्रतियोगिता आयोजना गर्न थाले। त्यस्ता प्रतियोगिताहरुका लागि कागजका चङ्गा खपत हुन थाल्यो।
कागज र प्लास्टिकका मात्र नभएर कपडाको चङ्गाको पनि व्यापार बढेको बताउँछन् उनी। कपडाको चङ्गा विशेष गरी कोठा, पसल, क्याफे र दसैं विशेष कार्यक्रमको स्टेज सजाउनका लागि लगिन्छ। त्यस्तै प्रयोजनमा आउँछन् उनले बनाएको नेपाली कागजका चङ्गा पनि।
सजाउनकै लागि भनेर निकै साना आकारका चङ्गाहरु प्याकेटमा आउन थालेका छन्। ती प्याकेटको एक सयदेखि दुई सय पचाससम्म पर्छ। हरेक प्याकेटमा पन्ध्रदेखि तीसवटासम्म चङ्गा हुन्छन्। गुणस्तर अनुसार मूल्य फरक पर्छ। उनी स्वयंले पनि सजावटका चङ्गा तथा लट्टाइहरु बनाउन थालेका छन्।
प्लास्टिकको चङ्गा भने बालबालिकाले खपत् गर्छन्। सस्तो, पानीले नभिज्ने,हत्तपत्त नच्यातिने भएकाले पनि उनीहरु प्लास्टिकको चङ्गा रुचाएको रञ्जितकार बताउँछन्।
घटस्थापनादेखि नै ह्वात्तै बढ्ने चङ्गाको बजार पूर्णिमाको दिनसम्म उस्तै रहन्छ। यति बेला उनको पसलमा भ्याइनभ्याई छ। कहिले सामान बेच्दा बेच्दै थाक्छन् अनि पूराना दिन सम्झन्छन् जब उनीहरु यसैगरी थाक्ने बुबालाई हौसिँदै सघाउँथे।
हालसम्म चङ्गाको व्यापारबाट हुने फाइदाले उनको परिवारको दैनिकी सहजै चलेको छ। अरु मौसमी व्यापार पनि गर्छन् उनी। तर, चङ्गा धागो र लट्टाइको व्यापारले जस्तो सन्तुष्टि अरुले दिँदैन।
तर, सधैं सबै चङ्गा बिक्री भने हुँदैन। विशेषगरी दशैंको बिदा कटौती भएपछि चङ्गाको व्यापारमा केही असर गर्यो। त्यसैले अर्को वर्षका लागि स्टक राख्दा चङ्गा र लट्टाइको बाँस किराले खाने डर धेरै हुन्छ। कहिलेकाही कागज पानी परेर भिज्छ। धागो मक्किने सम्भावना पनि ज्यादा।
तर, पनि सक्दो सम्हालेर स्टक राख्छन् उनी।
दशैं लागिसक्यो। घरघरमा घटस्थापना गरेर देवी भगवतीको आह्वान पनि भइसक्यो। तर, मौसमविद्हरुले यसपटक दशैंमा पानी पर्न सक्ने अनुमान गरेकाले चङ्गा बिक्रीमा कमी आउने सक्ने दीपेन्द्र बताउँछन्। घाम लाग्यो भने त सामान बिक्ने छाँट छ। तर, निरन्तर पानी परे त्यसले केही असर गर्ला। भन्छन्, 'बाहिर देखिएजस्तो चङ्गाको व्यापार नै धरापमा परेको छैन। परेको भए म पनि पसलमा चङ्गाको सट्टा फलफूल बेच्थेँ होला। तर, वर्षाले केही असर गर्यो,' उनी हाँस्दै थप्छन्- 'यस पटक इन्द्रले पानी पुग्यो भन्ने सन्देश पाएनन् जस्तो छ।'