PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्क्रब टाइफसबाट चितवन जिल्लामा दुई जनाको मृत्यु, ९९ जना संक्रमित



स्क्रब टाइफसबाट चितवन जिल्लामा दुई जनाको मृत्यु, ९९ जना संक्रमित

चितवन: जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार १ हजार २८ जनाको परीक्षण गर्दा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो। स्क्रब टाइफसका कारण गैंडाकोटकी एक महिला र रौतहटका एक पुरुषको मृत्यु भएको केसीले जानकारी दिए।

जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ, रौतहट, बारा लगायतका जिल्लाका रहेका छन्। स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई संक्रमण गर्छ। तिनै संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्।

केसीले त्यस्ता संक्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीरमा टाँसिने र टोक्ने बताए। यसबाहेक ग्रामीण भेगमा झारपात र झाडीमा पनि यस्ता संक्रमित किर्ना प्रशस्त हुन्छन्। किसानलाई यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन। गर्भवती महिला स्क्रब टाइफसबाट संक्रमित भए गर्भाशयमा रहेको शिशुको अंगभंग हुने सम्भावना रहेकाले परामर्श लिन चिकित्सकहरु सुझाव दिन्छन्।

आर्थिक वर्ष ०७४/७५ मा २ हजार २३७ जनाको रगतको नमुना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो।

यस्तै डेंगुबाट संक्रमण हुनेको संख्या ३ हजार ६६९ जना पुगेको छ। केसीका अनुसार ११ हजार ९२७ जनाको परीक्षण गरिएको थियो। भदौको तेस्रो र चौथो साता निकै बढेको डेंगुको संक्रमण विस्तारै घट्दै गएको छ। डेंगुबाट चितवन जिल्लामा दुई जनाको मृत्यु भएको छ। डेंगु एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell