PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भेरी अस्पतालमा डायलासिस मेसिन मर्मत नभएपछि मिर्गौलाका बिरामी समस्यामा



भेरी अस्पतालमा डायलासिस मेसिन मर्मत नभएपछि मिर्गौलाका बिरामी समस्यामा
फाइल फोटो

बाँके: भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढिरहेका छन्। तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण पनि बिग्रिएका छन्। चार मेसिनमध्ये दुई वटा कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन्।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्विलचियर छैन। दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाफ नर्सको अभाव छ। अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ। तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन।

अस्पतालमा उपचारका लागि अधिकांश निमुखा र विपन्न बिरामी नै आउने गरेका छन्। मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ। विपन्न निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गौलापीडित बिरामीहरुको माग छ। भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ।

यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन्। अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन्।

अरू बिरामी पालो कुररै बसेका छन्। डायलासिस विभागका अनुसार अहिले सातामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन्। मिर्गौला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महँगो रकम तिरेर डायलासिस गर्न बाध्य छन्। दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन्।

अहिले हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन्। उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ। भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन्। अहिले दुई चलिरहेका छन्। उनले भने, 'चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ।'

'बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ, पालो आएको छैन भनेर पठाउन बाध्य छौं,' डा श्रेष्ठ बताउँछन्। बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए।

समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गौला रोगपीडितको मृत्यु भइसकेको छ। बिग्रिएको डायलासिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा अधिकारीले बताए। मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ।

मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौला रोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौला रोगीहरुको माग छ। दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र राति पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गौलापीडितहरूले आवाज उठाएका छन्।

अहिले दैनिक चार जनाको मात्र डायलासिस हुँदै आएकामा अवधि थप भएपछि डायलासिस सेवा पाउने बिरामीको संख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा समेत पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell