PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६


पर्वत जिल्ला अस्पतालमा भाइरलका बिरामी बढे



पर्वत जिल्ला अस्पतालमा भाइरलका बिरामी बढे

पर्वत: गर्मी मौसम सकिएर बिस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरल फ्लुबाट संक्रमित हुनेहरूको संख्या उच्च बनेको छ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन्। घाम लागेको बेलामा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनल फ्लुको संक्रमण बढ्ने गरेको उनको भनाइ छ।

भाइरलको संक्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम हुन नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने डा देवकोटाले बताए।

अघिपछि पनि भाइरलको संक्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने संक्रमण उच्च हुने उनको भनाइ छ।

सिजनल भाइरल फ्लुबाट संक्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ। कतिपय बिरामीले चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको बताउँदै डा देवकोटाले भाइरलको संक्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने बताए। डा देवकोटाका अनुसार भाइरल फ्लुको संक्रमण भएको बेलामा सकेसम्म झोलिलो खानेकुराहरू खाँदै धेरै आराम गर्नु उपयुक्त हुन्छ।

जिल्ला अस्पताल पर्वतमा अघिल्ला वर्षहरूमा भाइरल फ्लुबाट प्रभावित भएकाहरूको भीड लाग्ने गरेको थियो। तर यस वर्ष देखिएको बिरामीको चाप अघिल्ला वर्षहरूको तुलनामा भने अझै बढी रहेको छ। यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको शंका लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो। 'डेंगु र सिजनल भाइरल फ्लुका लक्षण मिल्दाजुल्दा छन्, केहीमा मात्र फरक छ,' मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले भने, 'सामान्य ज्वरो आउँदा पनि डेंगु लाग्यो कि ? भन्ने शंका मान्दै स्वास्थ्य परीक्षणका लागि बिरामीहरू आउनुभएको छ।'

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट उपचार गर्नुपरेको छ। गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्थानीय तहहरुका स्वास्थ्य संयोजकहरूले बताएका छन्। रासस



पर्वत जिल्ला अस्पतालमा भाइरलका बिरामी बढे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell