
अघिल्लो साता हलिउड फिल्म ‘जोकर’ प्रदर्शनमा आएको छ। भिलेनलाई प्रमुख भुमिकामा देखाइएको ‘जोकर’ हिंसात्मक फिल्म मानिएको छ।
जोक्विन फिनिक्सले भिलेन आर्थर फ्लेकको भूमिका निर्वाह गरेको ‘जोकर’मा उनको अभिनयलाई निकै मन पराइएको छ। जोकर पात्रलाई प्रख्यात भिलेनको रुपमा चिनिन्छ। फिल्ममा एक एक्ला व्यक्तिलाई विभिन्न घटना परिघटनाहरुले हिंसात्मक बनाएको देखाइएको छ। यो फिल्म ‘ब्याटम्यान’सँग सम्बन्धीत छ। ब्याटम्यान सिरिजबाट नै ‘जोकर’ पात्र चर्चामा आएको थियो।
विभिन्न क्रिटिक्सहरुले ‘जोकर’को उच्च प्रशंसा गरेका छन्। यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्डमा बेस्ट फिल्म घोषित भएको थियो। यसअघि फिल्म ‘द डार्क नाइट’मा जोकरको भूमिका निभाएका हिथ लेजरले एकेडेमी अवार्ड (ओस्कर) जितेका थिए। त्यस्तै १९८९ को ‘ब्याटम्यान’ फिल्ममा सोही भुमिकामा देखिएका ज्याक निकोलसनले गोल्डेन ग्लोब अवार्ड जितेका थिए।
‘जोकर’ फिल्मप्रति विवाद किन?
‘जोकर’सँग सम्बन्धित विवाद यसका मुख्य पात्रलाई लिएर भएको हो। उक्त पात्र फिल्ममा हिंसात्मक देखाइएकाले यसले वास्तविक दुनियामा सोही अवस्थामा रहेका मानिसहरुलाई हत्या हिंसामा प्ररित गर्छ भन्ने कतिपयको तर्क छ। एक क्रिटिकले जोकर पात्रलाई मास किलरको संज्ञा दिएका छन्।
२०१२ मा फिल्म ‘द डार्क नाइट राइजेज’को प्रदर्शनका दौरान अमेरिकाको कोलोराडो राज्यस्थित अरोरामा मास सुटिङ भएको थियो। सोही घटनासँग जोडेर फिल्म ‘जोकर’ले हिंसा प्रेरित गर्न सक्छ भन्ने धारणा बढेको हो। सो घटनाका केही पीडित अभिभावकले फिल्ममा ‘जोकर’ जस्तो पात्रलाई प्राथमिकता दिएको प्रति आपत्ति जनाएका थिए। सो घटनापछि प्रहरीले सिनेमा हलमा आफ्नो उपस्थिति बढाएको छ।
फिल्म निर्माता कम्पनी वार्नर ब्रोदर्सले विज्ञप्ति जारी गर्दै ‘जोकर’को उद्देश्य वास्तविक दुनियामा हिंसाको लागि प्ररित गर्नु नभएको बताएको छ। फिल्ममा जोकर पात्रलाई हिरोको रुपमा पनि प्रस्तुत नगरिएको उसले स्पष्ट पारेको छ।
कसले के भने?
‘‘जोकर’ले मित्थ्याको कुरामा बदलाको भावलाई बढवा दिएको छ, जुन विभिन्न तहमा डरलाग्दो छ।’ — डेभिड एडेल्स्टाइन, भल्चर
‘फिल्मले आर्थरलाई आदर्श मान्ने मानिसहरुसँग संवाद गर्न सक्छ। जो एक्लो छन् र जो आफू वरिपरको समाजका कारण घृणात्मक आदर्शतर्फ उन्मुख छन्।’ — डेभिड एल्रिक, इन्डिवाइर
‘पप कल्चरको एक हिस्सामध्येका फिल्म, टेलिफिल्म तथा भिडियो गेमले मानिसहरुलाई हत्यारामा परिणत गर्छ भन्ने छैन।’ — स्कट मेन्डलसन, फोर्ब्स
‘फिल्मले संसारका वास्तविक भिलेनहरुलाई हतियार उठाउने संदेश दिएको छैन।’ — डेभिड सिम्स, द एटलान्टिक