PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह, 'स्थायी संरचना बनाउन खोजेका होइनौँ'



धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह, 'स्थायी संरचना बनाउन खोजेका होइनौँ'
फाइल फोटो।

काठमाडौं : महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन्।

उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौंको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए। 

सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो। दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्‍याइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौंका मुख्य क्षेत्रमा सजावट र कालोपत्र लगायतको कामले तीव्रता पाएसँगै खुलामञ्चको बसपार्कमा पनि कालोपत्रे गर्न लागिएको हो।

'हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी बसपार्क हो भनिरहेका छौँ' डेंगुको आशंकामा अस्पतालमा उपचाररत प्रमुख शाक्यले भने, 'मैले उपप्रमुखसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रको प्रक्रिया अघि बढाउन भनेको हुँ। तर त्यहाँ विषयवस्तुलाई अनावश्यक रुपमा उचालेर राजनीति गर्ने काम भएको खबर सुन्दा दुःख लागेको छ।'

शाक्यले धुलोमुक्त काठमाडौं अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताए।

'हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ' उनले भने, 'हामीले त्यही भएर अस्थायी रुपमा त्यहाँ कालोपत्र गर्नु भनेका हौँ। तर, माननीयज्युहरुले विषयवस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ। त्यो राम्रो होइन।' 

उनले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताए।

'तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्यान्ड बनाएका हौँ', उनले भने, 'विदेशी पाहुना आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नुपर्ने हुन्थ्यो। कम्तीमा पनि त्यहाँ आइल्यान्ड बनेपछि हेर्न लायकको हरियाली बन्नेछ। फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टिनका जस्ता त कहिले फ्लेक्सले छोप्नुपर्ने बाध्यता पनि हटेको छ।'

काठमाडौं महानगरपालिका पहिलादेखि नै काठमाडौं महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउनेलगायतका अभियानमा निरन्तर लागिरहेको थियो। चिनियाँ राष्ट्रपति  नेपाल आउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्य निकायले समेत चासो देखाएपछि काठमाडौंका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त बन्न थालेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell