ओमनमा जारी ५ देश सम्मिलित टी २० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। ओमनको अल अमेरतमा आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको हो।
नेपालको जितमा करण केसीको भूमिका महत्वपूर्ण रह्यो। उनले ३.३ ओभर बलिङ गर्दै १७ रन दिएर ४ विकेट लिए। यता ब्याटिङमा पनि आक्रामक खेल खेल्दै १४ बलमा ३१ रन ल्याए।
सुरुमा ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा १३३ रन बनाउँदै अल आउट भयो। नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र करण केसीले महत्वपूर्ण ४/४ विकेट लिए।
यता नेपालको ब्याटिङमा पनि करण केसी नै महत्वपूर्ण बन्न पुगे। पारस खड्का बाहेकका अन्य ब्याट्स्मयानलाई नेपालले सस्तैमा गुमाएको थियो। कप्तान खड्काले भने ३३ रन बनाए। त्यस्तै हङकङ विरुद्ध जित निकाल्न महत्वपूर्ण भूमिका खेलेका विनोद भण्डारीले पनि महत्वपूर्ण २६ रन बनाए। लगातार विकेट गुमाएर कमजोर अवस्थामा पुगिसकेको नेपाललाई उकास्न करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १४ बलमा ३ छक्का र १ चौकाको सहयताले ३१ रन बनाउँदै नेपालको जित सुनिश्चित गरे।
जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो। हिजो भएको खेलमा पनि नेपालले हङकङलाई ४ विकेटले नै पराजित गरेको थियो।
लगातार २ खेलमा जित निकालेको नेपाल जारी सिरिजको अंक तालिकामा ४ अंक सहित दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने समान २ खेल नै खेलेर ४ अंक बटुलेको ओमन रनरेटको आधारमा अगाडि छ।