एक कार्यालयको गरीब पियनको घरमा भाग्यबस् खसी पर्छ। त्यो पनि दशैंको मुखैमा। छोरा फुरुङ्ग अनि श्रीमती दङ्ग। खसी भित्रिएपछि अरु अभाव गौण लाग्छ।
तर, नियत्, बस् पियनको खसी चोरी हुन्छ। चोर चाहिँ उनकै हाकिम।
खसी चोरी भयो तर दशैंमा खसी त काट्नै पर्छ भन्ने छोराको जिद्दी टार्न सकेनन्। त्यसैले खसीको खोजीमा हिँडेका पियनले मन्दिरमा चडाएको बोका भेटे। त्यसैलाई डोहोर्याएर घर पुर्याए। चढाएको बोका चोरीको आरोप लाग्ने डरले कालो रङ्गले रङ्गाइदिए बोकालाई।
भोलिपल्ट बोका हराएको आरोपमा पूजारीलाई र्याखर्याख्ती पार्दै हुन्छन् स्थानी। स्थानीयको हुलमा देखिन्छन्, एक युवा।
कालो सर्ट र गाढा नीलो पाइन्ट, कालो बाक्लो कर्ली कपाल, पातलो जिउडाल। त्यो कर्ली कपालवाला हुन् कलाकार सुरवीर पण्डित।
हरेक पटक दशैं नजिकिएसँगै नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म 'दशैं'मा आफैलाई हेर्दै दङ्ग पर्छन् सुरवीर पण्डित। झन्, आजभोलि त युट्युब, फेसबुकमा समेत उक्त टेलिफिल्म उपलब्ध छ। दशैंअघिदेखि नै सेयर हुन थालेका घुमिघुमी ती सेयरहरु आइपुग्छ पण्डितको वालसम्मै।
दाह्री बुढा भनेर चिनिन्छन् सुरवीर पण्डित। त्यसैले दर्शकले उक्त टेलिश्रृङ्खलामा उनलाई नठम्याउन पनि सक्छन्। उनलाई चिन्ने धेरैले आजभोलि सुरवीरलाई मेसेजमा उनी देखिएकै दृश्यको स्क्रिनसट पठाउन थालेका छन्।
भन्छन्- 'पहिले त कपाल झ्याप्पै रहेछ नि। अहिले दाह्री बुढा, पहिले कपला बुढा।'
उनलाई पनि उक्त टेलिश्रृङ्खलामा आफैलाई हेर्दा कालो, बाक्लो अनि कर्ली कपालको खुब लोभ लाग्छ। भन्छन्, 'अहिले पो त झरेर सकियो त।'
कपाल झर्यो तर उनको अभिनयप्रतिको लगाव भने अझै उस्तै नै छ। जसमा पनि मह सञ्चारको चर्चित टेलिफिल्म 'दशैं'को महत्व बेग्लै छ।
निमित्त नायक, रात, राप, सत्प्रयास, टाढाको बस्ती लगायतका टेलिफिल्ममा अभिनय गरिसकेका उनले प्रायमा उमेरले आफूभन्दा पाका कलाकारको बुबा वा दाजुको भूमिका पाउँथे।
'दशैं'मा भने उनले स्थानीय युवाको भूमिकामा देखिने मौका पाए। अरु टेलिफिल्महरु एक वा दुईपटक प्रसारण भए। त्यसपछि भएनन्। तर, दशैं भने हरेक वर्ष प्रसारण भइरह्यो।
'त्यो बेला टिभीमा आफैलाई हेर्नुको रोमाञ्चकता बेग्लै थियो नि। कलाकार भएपछि आफूलाई दर्शकले चिनुन् भन्ने लोभ हुँदोरहेछ त्यसैले पनि साना साना दृश्यले पनि ठूलै अर्थ राख्थ्यो,' सुरवीर सम्झन्छन्, 'वर्षभर अरु अरु टेलिफिल्ममा काम त गरिन्थ्यो तर दशैंमा त सधैं टेलिफिल्म यही टेलिफिल्म प्रसारणको प्रतीक्षा हुन्थ्यो।'
उक्त टेलिफिल्ममा उनको कालो कर्ली कपाल देखेर चिन्नेले बाटोमै रोकेर पनि सोधे- 'तपाईं दशैं टेलिफिल्ममा खसीको रङ धुने मान्छे होइन?'
धेरैले भने उनलाई आवाजले मात्र चिन्थे। किनकि त्यस समय रेडियोमार्फत् प्रसारण हुने रेडियो नाटकहरुमा उनी निकै सहभागी भए। त्यसमाथि घटस्थापनाको दिनदेखि प्रसारण हुने विशेष नाटकहरुमा उनी कारुणिक पात्रका रुपमा प्रस्तुत हुन्थे।
'स्रोता रुवाउने नाटक भएपछि सबैको ध्यान खिँचिदो रहेछ। अहिले दर्जनौ फिल्म टेलिफिल्म खेल्दा पनि देख्दा नचिन्ने, बोलेपछि आवाजैले चिन्नेहरु धेरै हुनुन्छ,' उनी अनुभव सुनाउँछन्।
दशैं विशेष रेडियो नाटकहरु गरे बापत् रेडियो नेपालले २०० देखि ३०० रुपैयाँसम्म दिन्थ्यो। उनीसँगै अभिनय गर्नेमा कालाकारहरु दीपकराज गिरी, दमन रुपाखेती, सुरेश अधिकारी, सुशिला रायमाझी लगायत थिए।
'हाम्रा लागि त राम्रो काम पाउनु नै दशैं आउनु सरह हुन्थ्यो। दशैं विशेष नाटक पनि त्यस्तै बन्यो,' उनी भन्छन्। उक्त रेडियो नाटकमा उनी कहिले महिषासुरको चम्चा बन्थे त कहिले देउताहरुको चम्चा। भन्छन्, 'स्वरको तौल अनुसार भूमिका पाइन्थ्यो। तर, कतिपटक भूमिका राम्ररी निभाउन नसक्दा बीचबाटै निकालिएको अनुभव पनि छ।'
निर्देशकहरु दीपेन्द्र महत अभिलाषी, लोकमणि सापकोटा, मदनदाश श्रेष्ठले कलाकारको स्वरको वजन, हाँसोको शैली, आवाजमा फरकपना दिन सक्ने आधारमा भूमिका निर्धारण गरिदिन्थे।
लेखक, निर्देशक साथै सम्पूर्ण कलाकारहरु रेडियो नेपालमा लामवद्ध रहेर पालैपालो आफ्नो संवाद रेकर्ड गराएको, साउन्ड इफेक्ट दिन कसैले मादल गुडाउने, कोही चिच्याउने कराउने, ताली बजाउने गरेको उनलाई अझै पनि याद आउँछ।
आजभोलि काम गर्दै आएका टेलिश्रृङ्खलाहरुमा पनि पर्व विशेष सान्दर्भिक कथा तयार पारिन्छ। दशैं तिहार विशेष कथाको सुटिङ भइरहँदा उनलाई ती पूराना दिन याद आउँछन् जब टेलिश्रृङ्खला दशैं छायांकन भएको थियो अनि दशैं विशेष रेडियो नाटक रेकर्ड भएको थियो।
'प्रविधिले काम छिटो छरितो त बनाइदियो तर, पहिलेजस्तो सामूहिक रुपमा सबै क्रु जम्मा भएर मिलिजुली काम गर्नुको मजा चाहिँ बाँकी रहेन। रेडियो र टेलिफिल्मको तूलनामा टेलिश्रृङ्खला र युट्युबले कलाकारलाई दर्शकमाझ चिनिन भने केही सहज भएको छ,' सुरवीरले पुराना दिनसँग वर्तमान स्थिति दाँजे।
उमेरले ५१ वर्षका भए सुरवीर पण्डित। दशैंको रौनक पहिलेजस्तो खास छैन। तर, हरेक दशैंमा उनका पुराना दिन सम्झाउँदै आइपुग्छ मह सञ्चारको टेलिफिल्म दशैं। उक्त टेलिफिल्म सार्वजनिक हुँदा जम्मा २५ वर्षका थिए उनी। अभिनय क्षेत्रमा संघर्ष गर्दै थिए त्यतिखेर। दशैं आउनु एक महिनाअघि कलाकार किरण केसीको घरमा एक दिनमै भएको थियो छायाँकन।
छायाँकनको करिव तीन सातापछि प्रसारण भयो टेलिफिल्म। आफैलाई स्क्रिनमा हेरेर दङ्ग परे उनी। केहीपछिसम्म ओइरिएको तारिफ र वाहवाही बेग्लै। तर, अहिले भने आफ्नो पुरानो अभिनय हेर्दा धेरै कुरा खड्किन्छ उनलाई। भन्छन्, 'अहिले पनि मैले निकै राम्रो अभिनय गर्न सक्छु त भनेको होइन। तर त्यति बेला सिक्न पाएको भए वा अझै मिहेनत गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ।'
त्यही अभिनय हेर्दै गर्दा उनलाई महसुस हुन्छ रेडियो नाटकमा बीचबाटै महिषासुरको चम्चाको भूमिकाबाट निकालिनुको कारण।