PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाँचखालमा फेला पर्‍यो किरातकालीन प्राचीन स्तम्भ



पाँचखालमा फेला पर्‍यो किरातकालीन प्राचीन स्तम्भ
पाँचखाल क्षेत्रमा भेटिएको किरातकालीन स्तम्भ। फोटोः रासस

काभ्रेपलाञ्चोक: खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन्। हालै मात्र पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको हो।

काभ्रेपलाञ्चोकमा पहिलोपटक किरातकालीन अवशेष (स्तम्भ) फेलापरेको बताइएको छ। असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुईजना खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटाएको उक्त स्तम्भ किरातकालीन रहेको पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धितालले बताए।

स्तम्भ पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीस्थित सुनकोसी नदी तथा झिकु खोलाको दोभानमा भेटिएको हो। विज्ञहरुका अनुसार स्तम्भमा किरात धर्मावलम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति छ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोसी नदी उत्पत्तिसँगै कौसिक ऋषिले तपस्या गरेको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभान तेमालबेँसी नै रहेको बताइन्छ। उक्त स्थानमा थप किरातकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्वको विभागका विज्ञ टोलीको सहभागितामा आउँदो कात्तिक पहिलो साताबाट थप अनुसन्धान गरिने धिमालले बताए।

यसअघि गत जेठ महीनामा पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको थियो। पुरातत्व विभागको एक टोलीले करिब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननमा पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुंगेगारो लगाएको कोठा, बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुंगाको खल, शिवलिंग, ढुंगेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको थियो।

पाँचखालमा भेटिएका ती भग्नावशेष तथा सामाग्री प्राचीन लिच्छवीकालीन रहेको वरिष्ठ पुरातत्व विज्ञ उद्धव आचार्यले बताए। स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुंगेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला परेको बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो।

यस्तै, पाँचखाल नगरपालिका–६ स्थित महांकाल मन्दिरमा गत वर्ष सबैभन्दा सानो सिक्का (जाभा) भेटिएको थियो। उक्त चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ भने पाँचखाल नगरपालिका–६ स्थित सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ। उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ। पुरातत्वविद आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो। उनका अनुसार भेटिएका सबै प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन्।

खोज अनुसन्धानका क्रममा पाँचखाल क्षेत्रमा प्राचीनकालका भग्नावशेष एवं सामग्री भेटिन थालेपछि पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पुरातत्व विभागमा थप खोज तथा अनुसन्धानका लागि निवेदन दिएको छ। पाँचखालका बासिन्दाले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell