PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालको ‘ध्वाँसे चितुवा जोगाऔं' अभियान विश्वको उत्कृष्ट पाँचमा



नेपालको ‘ध्वाँसे चितुवा जोगाऔं' अभियान विश्वको उत्कृष्ट पाँचमा
फोटो : Eric Kilby

काठमाडौं: चिनियाँ राष्ट्रपति  सी जिनपिङलाई स्वागत गर्न सारा नेपाल लागेको बेला ‘ध्वाँसे चितुवा’ भने भोट माग्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। नेपालमा पाइने १२  प्रजातिका बिरालो प्रजातिहरूमध्ये यो प्रजाति लजालु स्वभावको हुन्छ।  धेरै जसो समय रुखमा बिताउने यसले बाँदरलाईसमेत रुखमै मार्न सक्छ। मानिस र बाँदर बिचको द्वन्द्व कम गराउन सहयोग गर्छl  तर वन विनाश, डढेलो, चोरी सिकारी , अवैध व्यापार यी प्रजाति संरक्षणका लागि चुनौतीका रूपमा देखिएका छन्।

अहिले नेपालले तयार गरेको ‘ध्वाँसे चितुवा’ संरक्षणसम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ।  ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले  मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र पारेको हो। यसलाई पब्लिक भोटिङका लागि राखिएको छ। भोटका लागि यो लिङ्क क्लिक गर्नुपर्छ। प्रोटेक्ट द क्लाउडेड लियोपार्ड भनिएको दोस्रो प्रोजेक्ट नेपालको हो।  

कमै अनुसन्धानकर्मीहरुले यिनलाई प्राकृतिक वासस्थानमा देखे होलान्। नामुद सिकारीहरूलाई यसको तस्बिर देखाउँदासमेत चिन्दैनन्। यसको अर्थ यो हुन्छ की यो प्रजाति असाध्यै दुर्लभ  छ। नदेखिने कारणमध्ये अर्को यसको निशाचर बानी। अर्थात् यो राति मात्र सक्रिय हुन्छ। धेरै जसो रुखहरूमा बिताउने यो प्रजातिलाई कतै कतै टोड्के बाघसमेत भनेर चिनिन्छ।

केही दिन देखि सामाजिक सञ्जालमा वन्यजन्तुमा चासो राख्ने युवाहरू ध्वाँसे चितुवाको लागि भोट मागिरहेका छन्। दाङका संरक्षणकर्मी चिरन खनाल  भन्छन् ‘यिनको संरक्षणको लागि भोट हामी मागी रहेका  छौँ। यसले बोल्न  सक्दैन अनि हाम्ले माग्न परेन त!’ उनले साङ्केतिक रूपमा भने, ‘मलाई जोगाउने भए एक भोट चाहिन्छ’। 

अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा परे ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान पाउने छ। त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ। विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरू सो सहयोगबाट लाभान्वित हुनेछन्। सो प्रोजेक्टको  नेतृत्व नेपालबाट अनुसन्धान र संरक्षण क्षेत्रमा  स्थापित यादव घिमिरे र राजु आचार्यले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell