PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पिसिबीका अध्यक्ष चाहन्छन्- कप्तान सर्फराजले टेस्टको कप्तानीबाट राजीनामा दिउन्



पिसिबीका अध्यक्ष चाहन्छन्- कप्तान सर्फराजले टेस्टको कप्तानीबाट राजीनामा दिउन्
फोटो : Hindustan Times ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले पाकिस्तान क्रिकेट टिमका कप्तान सर्फराज अहमेदको टेस्ट क्रिकेटको कप्तानीबाट राजीनामा चाहेको बताइएको छ। क्रिकेट पाकिस्तान डटकम डट पिकेका अनुसार पाकिस्तान क्रिकेट टिमको पछिल्लो समयको खराब प्रदर्शनका कारण खेलाडी, प्रशिक्षक तथा बोर्डमा दबाब बढेको छ। यसले गर्दा कप्तान सर्फराज तथा अध्यक्ष मनीबीच अर्को साता बैठक तय भएको हो।

पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाए अनुसार कप्तान सर्फराजसँग टेस्ट क्रिकेटबाट कप्तानीको राजीनामा मागेर उनको कप्तानीलाई एकदिवसीय र टी २० फर्म्याटमा सीमित गरिने बताइएको छ।

यसअघि नै पाकिस्तानका पूर्व खेलाडीहरु जहिर अब्बास, मोहसिन खान तथा शाहीद अफ्रिदीले पनि कप्तान सर्फराज अहमेदलाई कप्तानीबाट हटाउनु पर्ने अभिव्यक्ति दिएका थिए। 

इङ्ल्यान्डमा भएको आइसिसी विश्वकप २०१९ यता पाकिस्तानी क्रिकेट टिमको प्रदर्शन खस्किँदै गएको भनेर आलोचना हुँदै आएको थियो। त्यतिबेला पनि सर्फराजको राजीनामा माग गरिएको भए पनि पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान सर्फराज अहमेदलाई श्रीलंका विरुद्धको टी-२० सिरिजमा मौका दिएको थियो। तर, श्रीलंकाको महत्वपूर्ण खेलाडीहरुबिनै उत्रिएको टिमले पाकिस्तानलाई क्लिन स्विप गर्‍यो। त्यसयता पाकिस्तानी टिम अझ आलोचित भएको छ। यतिमात्र होइन खेलाडीहरु समर्थकको निसानामा पर्ने भन्दै सुरक्षामा पनि चासो बढाइएको छ। 

त्यस्तै पाकिस्तानको संसदमा पनि सर्फराजसँग कप्तानीबाट राजीनामा दिन माग गरिएको थियो। पाकिस्तानको पन्जाब प्रान्तको विधानसभामा कप्तान सर्फराज अहमेदलाई पाकिस्तानको क्रिकेट टिमको कप्तानबाट हटाउनु पर्ने प्रस्ताव आएको थियो। प्रस्ताव पाकिस्तानका मुस्लिम-लिग-नवाजका विधायक इकबाल जहिरले दर्ता गरेका थिए। प्रस्तावमा 'गहिरो अफसोस' व्यक्त गरिएको छ।

टी २० मा शीर्ष टिम पाकिस्तानले सन् २०१९ मा ७ टी-२० खेल खेलेको छ। जसमा ६ खेल हार्दा एउटा खेलमा मात्रै जित हासिल गरेको छ। अघिल्लो वर्ष पाकिस्तानले १९ खेल खेलेकोमा १७ जित हात पारेको थियो। त्यस्तै सन् २०१७ मा १० खेलमा ८ जित हात पारेको थियाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell