PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कमला नदीको बगरमा भेटिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय



कमला नदीको बगरमा भेटिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय
प्रतीकात्मक तस्बिर

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ। कामदारहरुले बम देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। बम कसैले नराखी बाढीमा कतैबाट बगाएर आएको हुनसक्ने एसपी चर्तुवेदीले बताए।

किशोरीलाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ

उता सिरहाकै कल्याणपुरमा एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ का मोहम्मद रहिम मन्सुरलाई पक्राउ गरेको छ। घरमा कोही नभएको मौका पारी गत शनिवार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरलाई प्रहरीले पक्राउ गरेको हो।

घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीको उद्धार गरेका थिए। उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए। पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए। 

पटकासहित दुई युवक पक्राउ

पटकासहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका–१९ बाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको पटकासहित सिरहाको गोलबजार नगरपालिका–८ निवासी २१ वर्षीय शम्भू साह र २४ वर्षीय रुबेल मण्डललाई पक्राउ गरेको हो।

भारतीय बजारतर्फबाट स ६ प १७९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई शंका लागेर जाँच गर्दा पटका बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकामाथि आवश्यक कारवाही अघि बढाएको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell