रामबती स्कूल जान्थिन्। त्यही नै हो उनले आफ्नो पूरा नाम लेख्न सिकेकी। पूरा नाम - ‘रामबती कुमारी’।
स्कूलका शिक्षकहरु भन्थे - धेरै पढेपछि त सबै कुरा थाहा हुन्छ। जस्तै कि बत्ती कसरी बल्छ? दिनमा किन घाम लाग्छ? अनि रातमा किन जून? प्लेन कसरी उड्छ?
यस्तैयस्तै जिज्ञासा मेट्न अनि धेरै कुरा सिक्ने मन थियो उनलाई पनि।
तर, उमेरले १२ वर्ष टेक्दा उनको बिहे हुनेभयो। त्यतिखेरको परिवेश अनि उनीहरुको समुदायमा कम उमेरमै बिहे हुनु सामान्य। छोरी ठूली भएदेखि या जान्नेबुझ्ने भए भागेर बिहे गर्छन् भन्ने धारणाले समाजलाई गाँजेको थियो। त्यसैले उनकै उमेरका प्राय साथीहरुको पनि विवाह भइसकेको थियो।
रामबती बेहुली बनिन्। उनलाई पनि स्कूलको ड्रेसभन्दा धेरै सुन्दर लाग्यो, विवाहको पहिरन।
बिहारको सीतामडीबाट नेपालको सर्लाही बलारा भित्रिइन् दुलहीका रुपमा। आफूभन्दा ६ वर्ष जेठा विजयकुमार ठाकुर उनका श्रीमान्।
सीमा पारी रहँदा उनी रामबती कुमारी थिइन्। सीमा वारी बिहे गरेर आएपछि ‘रामबती देवी’ भइन्। अविवाहित महिलाको नाम पछाडि कुमारी र विवाहितको देवी राख्नु ठाकुर जातिको चलन।
बिहेपछि भने उनलाई अब आफ्नो पूरा नाम लेख्न नआउने भयो। उनलाई कुमारी लेख्न आउथ्यो तर देवी लेख्न त सिकेकै थिइनन्।
पढ्ने रहर पनि माइतीमै छुट्यो। दाइजोको खातमा त्यो विषय अटाएन।
खैर, उनमा उत्साह त उनीभन्दा अगाडि विवाह गरेर छुटेका साथीहरुसँग भेट्नुमा थियो। उनलाई लागेको थियो विवाह गरेर नेपाल आएका साथीहरुसँग दिनहुँ भेट हुनेछ, भाँडाकुटी खेल्न पाइनेछ, सँगै चरवाहा (गोठालो) जान पाइन्छ। कापी नपाए पनि माटोमा ठूला ठूला अक्षरले आफ्नो नाम लेख्न पाइन्छ।
तर, बुहारीलाई त्यो छुट थिएन। नेपालको घरमा उनलाई सिकाइएको पहिलो नियम थियो- घुँघट नउतार्नु। घर बाहिर ननिस्कनु।
उनले थाहा पाइन् - बुहारी हुन, छोरी हुनजस्तो सजिलो छैन। अनि झलस्स भइन् - बिहे गरेर नेपाल आएका उनका साथीहरुको हालत पनि उनीभन्दा फरक कसरी होस्?
चाडपर्व विशेषमा माइती जाँदा उनलाई गाउँ कत्रो छ सोधिन्थ्यो। त्यहाँका मानिस कस्ता छन् सोधिन्थ्यो।
घुँघटभित्रै रहेर तीन छोरा एक छोरी जन्माइन्। त्यतिखेरसम्म पनि उनले घरको चुल्हो, सासु, ससुरा र श्रीमानले खाने थालको आकारमात्र चिनिन्। उनीहरुलाई मन पर्ने स्वाद र उनीहरुको व्यवहार मात्र बुझ्न पाइन्। अनि नजिकबाट नियालेका आफ्ना सन्तानको मुहार नै उनका लागि संसारको सबैभन्दा सुन्दर आकृति थिए।
+++
रामबतीले ३८ वर्षको उमेरमा शिरबाट घुँघट उठाइन्, पहिलो पटक। त्यो मौका जुराइ दिए छोराहरुले। उनका छोराहरुले पढे। जेठा छोरा राजेश भूगर्भविद् बने। माइला छोरा दीपक बीबीएस पढ्न थाले र कान्छा मोहन बीएससी। उनीहरुले आफू मात्र पढेनन्, संसार देखाउने आमालाई संसार देखाउन लागि परे।
उनीहरुले आमालाई घरबाट बाहिर ल्याउने प्रस्ताव राख्दा सुरुमा त हजुरआमा र बुबाले भने - तिमीहरू पढ। आमा घरमै ठीक छिन्।
'मलाई पनि चुल्हो चौको कै बानी परिसकेको थियो त्यसैले आत्तिएँ। तर, छोराहरुले हौसला दिए,' रामबती सुनाउँछिन्।
पहिलोपटक उनी काठमाडौं आइन्, तीन वर्षअघि। पहिलेपहिले प्लेनको आवाज मात्र सुन्थिन्। घरबाट निस्किएपछि आफ्नै माथको माथि भएर उड्ने प्लेन ध्यान दिएर हेर्न पाइन्, पटकपटक। सोचिन् - गाडी कोल्टिँदा गाडीभित्रका मानिस कोल्टिएजस्तै प्लेनमा हुँदो हो कि नहुँदो हो?
काठमाडौंमा व्यस्त सिकर्मी बनिसकेका रहेछन्, उनका श्रीमान विजयकुमार शर्मा। त्यसैले उनको किराना पसल सम्हाल्ने जिम्मेवारी पाइन् रामबतीले। हामीसँग उनी त्यही किराना पसलमा गफिइरहेकी छिन्। तर, भाषा भने हामी दुवैको समस्या बन्यो। हामीसँग मात्र होइन, ग्राहकसँग पनि। भोजपुरीमा अभ्यस्त थिइन् उनी। नेपाली बोल्ने ग्राहकसँग कसरी लेनदेन गर्नु? अनि उस्तै समस्या हिसाब किताबमा पनि।
तर, उनी रोक्किइनन्?
हामीसँग कुराकानी हुँदा रामबतीको नजिकै बसेर सुनिरहेका थिए उनका कान्छा छोरा मोहन। आमाले दिएको जवाफ प्रष्ट नहुँदा उनैले बुझाइरहेका थिए। उनी बोले, 'आमा अघि बढ्नुहोस् भनेर ल्याएका थियौं। जान्नु भएन, बुझ्नु भएन भनेर छाड्ने कुरा नै थिएन नि। हामीले सिकायौं। आमाको सिक्ने जोसले झन् धेरै सिकायो।'
रामबतीले पढाई, सिकाइ, बुझाइको महत्व बुझेकी थिइन्। त्यसैले आफूले भोगेको अघोषित नजरबन्द आफ्ना छोरी, बुहारी वा नातिनी पुस्ताले भोग्न नपरोस् भन्ने उनको धारणा। छोरा सरह स्कूल पठाइन् छोरीलाई पनि। बुहारी छुट्ट्याइनन्। बीएस्सी नर्सिङ गर्दै थिइन् जेठी बुहारी। रित अनुसार उनी पनि घुँघटभित्रै बस्नु पर्ने बाध्यता पन्छाइदिइन् रामबतीले। घरमा भित्राएको एक साता नबित्दै काठमाडौं पठाइन्। भनेकी थिइन्- 'कक्षा नछुटाउ।'
‘म पनि पहिलेदेखि घरमा नबसेको भए कति अघि बढ्थेँ। अब आफूले केही गर्न नसके पनि अरुलाई गर्नबाट रोक्नु हुन्न,' उनले भोजपूरी मिश्रित लवजमा सुनाइन्, ‘सासुआमा र गाउँको चलन स्वीकारेर बस्दा धेरै कुरा छुटेजस्तो लागेको थियो। तर, सिक्न कहिले पनि ढिला नहुँदो रहेछ।'
रामबतीको जीवनले 'यु टर्न' मार्यो जब उनको सिक्ने हुटहुटीसँगै छोराहरुको आमालाई सक्षम बनाउने पहल जोडियो।
सधैं आमाका जिज्ञासाहरुको जवाफ बोक्ने जेठो छोरा राजेश एकदिन आमाका लागि प्रश्न बोकेर आए।
'आमा, राजस्थानको बेयरफुट कलेजले तपाईंहरुजस्तै एक अक्षर पनि नपढेका महिलालाई विशेष कक्षा सञ्चालन गर्दै छ। तपाईं त्यहाँ जानुहुन्छ?'
प्रश्नले रामबतीलाई केहीबेर अलमलमा पार्यो।
'नाईं' भन्न मनले मानेन। 'हुन्छ' भनिहाल्न पनि आँट आएन। त्यसैले सोधिन् - 'नचिनेको ठाउँ। फेरि खर्च पनि ज्यादा होला नि?'
'होइन। नि:शुल्क हो। फरक फरक देशका धेरै महिलाहरु आउँछन्,' छोराले बोलिसक्नु अघि रामबतीले भनिन् - 'हुन्छ जान्छु।'
+++
१५ मार्च, २०१९।
उनी काठमाडौंबाट राजस्थान जाँदै थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनको खुशीको सीमा थिएन। कलेजका लागि जाँदै थिइन्। अनि पहिलोपटक प्लेन चड्दै पनि।
छोराहरुसँग बिदा लिएर प्लेनमा पुग्दा उनलाई लागेको थियो- बिहारका ती मास्टरले प्लेन चडे कि चडेनन् होला जसले उनलाई कुनै दिन भनेका थिए, ‘धेरै पढ्नेले प्लेन कसरी उड्छ थाहा पाउँछन्।‘
'अनि तपाईंले थाहा पाउनु भयो त कसरी उड्दो रहेछ?'
भनिन्, ‘अँह त्यो त थाहा पाइँन। तर, यति थाहा पाएँ - मैले देख्न बाँकी संसार ठूलो छ। काठमाडौंभन्दा पनि ठूलो।
आफ्नो पहिलो प्लेन यात्राको अनुभव सुनाउन भ्याइन् उनले। 'माथि पुग्दै जाँदा धर्ती सानो हुँदै गयो। केही देखिएन। सोचेँ हाम्रा अगुवाहरुले पनि हामीलाई त्यस्तै सानो देख्छन् र निकैमाथि पुगेपछि हामी बिलाउँछौं उनीहरुको आँखाबाट,' उनले सुनाइन्।
रामबती साना साना घटना र दृश्यहरुमाथि पनि निकै गहन बुझाइ राख्छिन्। अनि उनको कुरा एकटक सुनिरहेकाहरुलाई हेरेर थोरै लजाएको भाव व्यक्त गर्छिन्।
राजस्थान जयपूर एयरपोर्टमा ओर्लिएपछि भने उनको उमङ्ग थोरै कम भयो। भारतमै जन्मिए पनि भारतको अर्को त्यो कुना उनको लागि बिरानो थियो। त्यहाँ देखिएका हरेक मानिस पराई।
कसैले परबाट बोलाइ रहेको थियो- ‘नेपाल से रामबती देवी’। सुरुमा अत्तालिइन्। ती मानिस उनी छेउमा आउँदा उसको हातमा आफ्नो तस्विर देखिन्। हिन्दी भाषामा भने- 'तपाईंलाई बेयरफुट कलेजबाट लिन आएको।'
एयरपोर्टबाट करिब एकसय पाँच किलोमिटर टाढाको यात्रा तय गर्नु थियो उनीहरुले। त्यो यात्राको ३ घण्टा उनका लागि सकसपूर्ण रह्यो।
‘कहाँ पुगुँला? के गरुँला? अङ्ग्रेजी जान्दिनँ कसरी बोलुँला? यस्तै प्रश्नहरुले गाज्यो। त्यसभन्दा बढी डर परिवारको अपेक्षा पूरा गर्न सक्छु कि सक्दिन भन्ने थियो,’ एकछिन टोलाइन् र थपिन्, 'गाउँलेहरुले व्यङ्ग्य गरेका थिए, बुढेसकालमा तीर्थयात्रा तय नगरेर केको पढाई? उनीहरुलाई पनि त केही गरेर देखाउनु थियो।'
राजस्थान तिलोनीयास्थित बेयरफुट कलेज पुगिन् उनी। त्यहाँ हरेक वर्ष दुईपटक आयोजना हुने आइटेक तालिमका लागि पुगेकी थिइन् उनी। यो कलेजले कुनै शैक्षिक डिग्री दिँदैन तर निरक्षर महिलालाई सीप सिकाउँछ। योग्य बनाउँछ।
उनीसँगै जम्मा भएका थिए १२ देशका ६० महिला। ती सबैको सिकाइको विशेष क्षेत्र थियो सोलार इन्जिनियरिङ।
पहिलो दिन उनीहरुलाई बस्ने कोठा, कोठाका साथीहरु, पढ्ने कक्षा, काम गर्ने कक्षा, आराम गर्ने ठाउँ आदि चिनाइयो। सुरुमा त सबै प्रशिक्षार्थी एकअर्कालाई हेर्दै ट्वाल्ल परे। अरु त कम्तिमा आफ्ना देशका साथीहरुसँग बोल्थे तर रामबती नेपालबाट एक्ली। उनीसँग कोही भएनन्। तर, जब रुम पार्टनर ग्वाँटेमाला, टर्की, कोलम्बियाका महिलाहरु परे तब उनी एक्ली रहिनन्।
यता कक्षामा विषय प्रवेशसँगै चुलिएको उत्साह बढ्दै गयो। सोलार सम्बन्धी कलर कोडिङ र सर्किटको चिह्नसँगै बाह्रै देशका महिलाबीचको वार्तालापको पनि कोड बन्यो। एउटाले नबुझ्दा अर्कोले सिकाउने भए।
कहिले इशारामा इशारामै कुरा गर्न थाले। कहिले रामबतीले ‘नमस्ते’भन्दा टर्कीका महिलाले ‘सेलम’ भन्दै मुस्कान साट्न थाले।
खाना खायौं भन्न ‘यु लन्च?’, खाएँ भन्न ‘एस लन्च’, खाएको छैन भन्न ‘नो लन्च’- सुरुवाती दिनमा यस्तै थिए उनीहरुको कोड। पछि केही कक्षामा स्मार्ट फोन चलाउनका सिकाइयो। नेपालबाट टिकटिके फोन लिएर गएकी रामबतीले उतै स्मार्ट फोन किनिन्। वाट्स एप इन्स्टल गरिन्। र, नेपालमा छोरोलाई फोन डायल गरिन्।
‘हामी त छक्क पर्यौं। फेसबुक, वाट्सएप हुन्छ भन्ने थाहा समेत थिएन उहाँलाई। आफै अकाउन्ट खोलेर हामीलाई फोन गर्दा उहाँको आवाज सुन्न लायक थियो,’ दङ्ग पर्दै बोलिरहेका थिए छोरा दीपक। उनको कुरा सुनिरहेकी रामबती मुस्कुराइरहिन्।
यतिन्जेल विदेशी साथीहरुसँग कुरा गर्न गुगल ट्रान्सलेटर प्रयोग गर्नेसम्म भइसकेकी थिइन्, उनी।
६ महिना लामो राजस्थान बसाईमा उनले लालटिन, सोलार कुकर, चार्ज कन्ट्रोलर, चार्ज सर्क्युट कन्ट्रोलर, एलइडी ल्याम्प, चिम्नी चुल्हो लगायत सोलार सामाग्री बनाउन सिकिन्। त्यस्तै वर्षाको पानी संकलन र पुन: प्रयोगको तरिका, मल, चक, मैनबत्ती, प्याड उत्पादनमा पनि आफू परिपक्व भइन्। 'व्यवहारिक ज्ञान मिल्यो। हरेकपटक एउटा सामाग्री आफ्नै बलबुताले तयार गर्दा मेरा छोराहरु सम्झिएँ। गर्वले मनभरी खुशी नाच्थ्यो,' उनले सुनाइन्।
यसरी बेयरफुट कलेजले उनलाई सोलार इन्जिनियर अर्थात् ‘सोलार मामा’ बनाएर नेपाल पठायो।
+++
रामबती देवीको सिकाइ परिवारको खुशी र गाउँमा हल्लाको विषय मात्र बनेन। नेपाल फर्किएपछि उनी आफूले अर्जेको ज्ञान कसरी पूरा गाउँको फाइदाका लागि उपयोग गर्न सकिन्छ भन्नेबारे सोध खोजमा लागि परेकी छिन्।
‘उज्यालो उत्पादन गर्न सिकेर आएकी छु। काममा त ल्याउनु पर्यो नि। म चाहन्छु गरिबीका कारण बिजुली किन्न नसकेका गाउँलेलाई सोलारको प्रयोग सिकाउँ। उनीहरुको छोराछोरीले पढ्न पाउन्,’ उनी आफ्ना योजना सुनाउँछिन्, 'अझै पनि अशिक्षा, बेरोजगारी, बालविवाह, भेदभाव व्याप्त मेरो गाउँलाई उज्यालो पार्न चाहन्छु।‘
उनी गाउँका महिलासँग आफ्नो सीप बाड्न चाहन्छिन्। उनीहरुले चाहे मिलेर मल, मैनबत्ती, चक उत्पादन र व्यवसाय गर्ने योजना छ उनको।
तर, समस्या बजेट र सामाग्री नपाउनुमा छ। उनको इच्छा शक्तिको सम्बोधन गर्दै इन्डियन दूतावासले न्यून बजेटमा आवश्यक सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
आउँदो छठको अवसरमा एक संस्था स्थापनाको घोषणा गर्ने योजना बनाएकी छिन् उनले। त्यही संस्थामार्फत् तालिम आयोजना गर्नेछिन्। त्यसका लागि स्थानीय सरकारको साथ सहयोग अपेक्षा छ उनमा।
'उदाहरण बन्न चाहन्छु। म मेरा समुदायका महिलाहरुलाई घुँघट बाहिरको संसार देखाउन चाहन्छु,' उज्यालिएर आएकी रामबती गर्विलो स्वरमा भनिन्।