PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अवार्डको आडमा मोडलमाथि अत्याचार : पैसाको लेनदेनदेखि प्रहरीमा उजुरीसम्म



स्वेच्छा राउत

अवार्डको आडमा मोडलमाथि अत्याचार : पैसाको लेनदेनदेखि प्रहरीमा उजुरीसम्म

गत जुन १६ मा 'वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९' आयोजनाको घोषणा भयो। आयोजक थियो वर्ल्ड कनेक्सन युएस इंक नामक संस्था। अवार्ड आउँदो नोभेम्बर २३ तारिखमा न्युयोर्कमा हुनेसमेत घोषणा भएको थियो। 

अक्टोबर १ का दिन अवार्ड समारोहका लागि उत्कृष्ट १० को सूची सार्वजनिक भयो। तेह्रवटा विधाका लागि दश/दशवटा गीत र संगीतकर्मीको नाम सार्वजनिक भयो। जसमध्ये एक विधा थियो- उत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल। त्यसको मनोनयनमा परेकीमध्ये एक मोडल थिइन्– छिरिङ डोमा शेर्पा उर्फ जेनिफर पिनाशा। 

बौद्धकी २२ वर्षीया उनी अवार्डमा सहभागी मोडल मात्र थिइनन्। उनले आयोजक संस्थालाई कार्यक्रमका लागि स्वयमसेवक खोज्नेदेखि प्रचारप्रसारसम्म सघाएकी थिइन्। त्यसैले आयोजक टोलीका प्रायः सदस्यसँग उनी फेसबुकमार्फत जोडिएकी थिइन्। र, उनीहरुसँग सामान्य कुराकानी पनि हुन्थ्यो, म्यासेन्जरबाटै। 

उत्कृष्ट दशमा परेकाहरुबाट अनलाइन, एसएमएस र मोबाइल भोटिङका आधारमा उत्कृष्ट तीनमा परेकालाई अमेरिका लैजाने घोषणा भएको थियो। त्यसैले छिरिङ डोमा पनि अनलाइन भोट आह्वानमा व्यस्त थिइन्। 

फेसबुकमा उनलाई धेरै बधाई तथा शुभकामना सन्देशहरु आउँथे।

तर, दुई साताअघि आएको एउटा सन्देश भने असामान्य खालको थियो। म्यासेज आएको थियो अवार्ड आयोजक संस्थाका महासचिव सुमन बुढा मगरबाट। 

मगरले छिरिङलाई शीर्ष १० भित्र पार्न आफूले मेहनत गरेको दाबी गरेका थिए। र भनेका थिए,'तिमीलाई टप ३ मा पुर्‍याउन म सहयोग गर्छु।' 

फेसबुक भोटिङमा अगाडि देखिएकी छिरिङले उनको कुरालाई हाँसेरै टारिन्। तर, सुमन बुढा मगरको सन्देश अवार्ड दिलाउने प्रलोभनमा मात्र सीमित भएन। कहिले आफूलाई दाइ सम्बोधन नगर्ने त कहिले 'आइ लभ यु टु' भन्न कर लगाउनेसम्म मेसेजहरु गरिरहे। 

सुमनको फेसबुकबाट छिरिङ (जेनिफर)लाई लेखिएको एउटा मेसेज छ- 'म अक्टोबर १२ मा आउँदैछु। अनि हामी हेलिकप्टर लिएर मनाङ घुम्न जाने है?' 

उनले 'भगवान बुद्धको कसम तिमीलाई माया गर्छु', 'अरुको छेउमा भगवान कसम बहिनी भन्छु' भन्नेजस्ता वाचा गर्ने समेत गरेको देखिन्छ। 

'सुरुमा त मलाई डर लाग्यो। मेसेज इग्नोर गर्दा मैले अवार्डका लागि गरेको मेहनत खेर जाने डर। त्यसैले सामान्य हाई हेलो, थ्यांक यु भनेर कुराकानी गरेंँ। तर, उसले त मलाई टप थ्रीमा पुर्‍याउने लोभसँगै, माया गर्छु। तिम्रो लागि मर्न तयार छु, भन्न थाल्यो,' छिरिङले भनिन्। 

उनले आफूमाथि पटकपटक दवावपूर्ण सन्देशहरु आएपछि आयोजक संस्थाका उपाध्यक्ष दावा शेर्पालाई जानकारी समेत गराएकी थिइन्। सुरुमा त संस्थाका प्रतिनिधिहरुले एकजनाका कारण सम्पूर्ण संस्था बदनाम हुने भएकाले चुप लाग्न भने। र, आन्तरिक रुपमा सुमनमाथि कारवाहीको आश्वासन देखाए। त्यसैका आधारमा संस्थाले सुमन बुढा मगरलाई निलम्बन गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गर्‍यो। 

तर, यति हुँदा पनि सुमनको मेसेज लेख्ने क्रम रोकिएन। उनले छिरिङलाई 'स्वार्थी'को संज्ञा दिँदै मेसेन्जरमा ब्लक गरे। र, उल्टै छिरिङविरुद्ध प्रहरीमा उजुरी दिए। 

उजुरीपछि छिरिङले आफूमाथि भएको दुर्व्यवहारबारे फेसबुक स्टाटस लेखिन्। 

मङ्गलबार राति सुमनले निरन्तर मानसिक दवाव र यौन दुर्व्यवहार गरेको आरोपसहित स्टाटस लेखिन्। 

सुमनले मंगलवार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छिरिङ डोल्मा शेर्पाविरुद्ध उजुरी दिएका थिए। उजुरीमा उनले छिरिङले भोटिङको गोपनीयता भंग हुने गरी सामाजिक सञ्जालमा कुरा गर्ने गरेका र सामाजिक सञ्जालमार्फत् कार्यक्रमलाई प्रभाव पार्ने कार्य गर्न खोजेकाले उनीसँग सम्पर्क बन्द गरेको जनाएका छन्। 

छिरिङले 'पहिले भएका कुराकानीलाई लिइ निजले मसँग पैसा माग्ने, ब्ल्याकमेलिङ गर्ने, सताउने, अमानवीय र अपमानजनक व्यवहार देखाउने' गरेको उनको दाबी छ। उनले छिरिङसँगै उनका दाइ पासाङ शेर्पाले पनि धम्काएको र रकम मागेको आरोप लगाएका छन्। छिरिङ भने अवार्ड आयोजना संस्थाका आङगेलु शेर्पाले यस विषयलाई प्रहरीमा नलगी आन्तरिक रुपमा मिलाउने प्रस्ताव राखेपछि क्षतिपूर्तिको कुरा भएको बताउँछिन्। 

'तीन महिना यता मैले जुन मानसिक तनाव भोगेंँ त्यसको बयान दिन तयार छु। मसँग सुमन बुढा मगरविरुद्ध पर्याप्त प्रमाण स्वरुप मेसेजहरु पनि छन्,' उनले दावी गरिन्। छिरिङले स्टाटस सार्वजनिक गरेपछि सुमनले मेसेजमार्फत् शारीरिक सम्बन्धको प्रस्ताव राखेको र अन्य युवतीलाई आफ्नो 'श्रीमती' दाबी गर्दै फोटो पठाएको स्क्रिनसटहरु सार्वजनिक भइरहेका छन्।  

सुमन भने पटकपटकको फोन र संदेशपछि पनि सम्पर्कमा आउन चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell